अपांगता भएका विद्यार्थी सम्पर्कबाहिर

फोन र इन्टरनेटको पहुँच नभएका विद्यार्थीको अवस्थाबारे विद्यालय तथा पुन:स्थापना केन्द्रले जानकारी पाउन सकेका छैनन् ।
गणेश राई

काठमाडौँ — राजधानीस्थित गोकर्णेश्वर नगरपालिका–४ गोकर्णमा रहेको अपांग पुनःस्थापना केन्द्रमा अपांगता भएका ५५ विद्यार्थी बस्थे । उनीहरू जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा पढ्थे ।

अपांगता भएका विद्यार्थी सम्पर्कबाहिर

कोरोना महामारीयता अधिकांश गाउँघर फर्किए भने कतिपय आफन्तका डेरामा बस्दै आएका छन् । अहिले आफन्त नभएका सात जना मात्र केन्द्रमा छन् ।

‘उपत्यकामा रहेकाहरूलाई रासन र कलम, कापी दिँदै छौं तर धेरैजसो दुर्गम गाउँतिर छन्,’ केन्द्रका अध्यक्ष उदयबहादुर लिम्बूले भने, ‘यतै रहेकालाई विद्यालयको अनलाइन कक्षामा जोडेका छौं । बाहिरका कतिपय फोन सम्पर्क हुन सकेको छैन । फोन र इन्टरनेटको पहुँच नभएकाहरूका अवस्थाबारे अनभिज्ञ छौं ।’ अपांगता भएका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले केन्द्रमा बोलाएर उनीहरूको स्वास्थ्यलाई जोखिममा पार्न नहुने लिम्बूले बताए ।

खगेन्द्र नवजीवन माविका प्रधानाध्यापक राघव दवाडी विद्यालयमा पढ्ने ७६ जना अपांगता भएका विद्यार्थीमध्ये २५ जनामात्र अनलाइन कक्षामा जोडिन सकेको बताए । ‘अपांगता भएका विद्यार्थी बस्ने होस्टल सञ्चालनमा छैनन्,’ उनले भने, ‘दुर्गम गाउँघर फर्किएका विद्यार्थी सम्पर्कमा रहेकाहरू स्थानीय विद्यालयमा भर्ना हुन भन्यौं तर भौतिक पूर्वाधार र शिक्षण जनशक्ति नभएको भन्दै भर्ना लिन मानेनन् । अपांग गृहलाई सुचारु राख्न अनुरोध गर्‍यौं । तर उहाँहरू कोरोना भाइरसको जोखिम मोल्न चाहनु भएन ।’ सुस्तश्रवणलाई सांकेतिक भाषा शिक्षण, दृष्टिविहीनलाई ब्रेल पुस्तक, शारीरिक अपांगतालाई भौतिक संरचना महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

ललितपुरको बुङमतीस्थित अपांग सेवा संघमा ७१ जना अपांगता भएका विद्यार्थी बस्थे । अहिले ६ जना मात्र रहेको संघका अध्यक्ष दयाराम महर्जनले बताए । संघमा बस्ने ती विद्यार्थी नजिकैको आदर्श सौल माविमा पढ्थे ।

नक्सालस्थित बहिरा माविमा पढ्दै आएका विद्यार्थीमध्ये ५० प्रतिशत अनलाइन कक्षामा जोडिएका छन् । ‘गत वर्षको रेकर्डअनुसार ६१ जिल्लाका करिब चार सय विद्यार्थी पढ्छन्,’ प्रधानाध्यापक उपेन्द्र पराजुली भन्छन्, ‘तीमध्ये १ सय ८० जना जतिलाई अनलाइन कक्षामा जोड्न सफल भएका छौं । कतिपय सम्पर्कमा भए पनि इन्टरनेटको समस्याले गर्दा शिक्षण व्यवस्था हुन सकेको छैन ।’ देशभरिमा सांकेतिक भाषामा पढाउने २२ विद्यालय छन् भने १ सय ७२ वटा स्रोत कक्षा छन् ।

कीर्तिपुरस्थित ल्याबोरेटरी माविमा पढ्ने ५० दृष्टिविहीन विद्यार्थीमध्ये ४२ जना सम्पर्कमा छन् ।

प्रकाशित : मंसिर १७, २०७७ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?