भगरैयामा बाघको खोजी

कमल पन्थी

बर्दिया — नरभक्षी बाघ नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जले मधुवन नगरपालिका–३ स्थित खाता जैविक मार्गमा ५ वटा हात्ती परिचालन गरेको छ । लगातार मानिसलाई आक्रमण गरी मार्न थालेपछि बाघलाई नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली परिचालन गरिएको हो ।

गत कात्तिक ५ मा मधुवन–३ भगरैया गाउँ नजिक रहेको जंगलमा बाघले आक्रमण गर्दा घाँस काट्न गएकी २६ वर्षीया गंगा खत्रीको मृत्यु भएको थियो । त्यसको ६ दिनपछि सोही वडाको धनौरा बस्ने २८ वर्षीय दिनेश चौधरी र रमेश थारूलाई बाघले मारेको थियो । बर्दिया निकुञ्जसँग जोडिएको गेरुवा–४ राजीपुरमा कात्तिक १५ मा बस्तुभाउ चराउन गएका ६८ वर्षीय लहानु थारूलाई पनि बाघले मारेको थियो । लहानुलाई मारेको बाघलाई दुई साताअघि निकुञ्जले नियन्त्रणमा लिइसकेको छ ।

भगरैया जंगलमै गत असारमा मधुवन–३ का विशाल वली र सीमावर्ती भारतीय गाउँ आमा बरदियाका सत्तार खानलाई बाघले मारेको थियो । पछिल्लो पाँच महिनामा उक्त जंगलमा मात्रै बाघको आक्रमणबाट ५ जनाको मृत्यु भएको छ । हाल उक्त जंगलका विभिन्न स्थानमा क्यामरा पनि जडान गरिएको छ । लहानुलाई बाघले मारेको ठाउँमा ५ वटा ट्रयापिङ क्यामरासहित निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले प्राविधिक टोली खटिएको छ । बाघको पहिचानपछि यहाँ आइतबारदेखि हात्ती परिचालन गरिएको हो ।

धरापस्वरूप जंगलमा राँगा बाँधेर राखिएको छ । बाघ समात्न निकुञ्ज र संरक्षण कोषका प्राविधिक, चिकित्सक, जिल्ला वनका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । डेढ वर्षयता बर्दियाका १२ र बाँकेका २ गरी १४ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित : मंसिर १७, २०७७ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?