कक्षा १२ को नतिजा १५ पुसभित्र

सुदीप कैनी

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा महिना दिनभित्रै सार्वजनिक गर्न तयारी गरेको छ । कोरोनाका कारण रोकिएर ढिला गरी लिइएको परीक्षा मंगलबार सकिएको छ ।

कक्षा १२ को नतिजा १५ पुसभित्र

उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र नतिजा तयारीका लागि एक महिनाको समय लाग्ने अनुमान गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । उत्तरपुस्तिका परीक्षणको काम सुरु भइसकेको छ । शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण गरेर मंसिर २२ सम्म बोर्डको सम्बन्धित कार्यालयमा पठाइसक्नुपर्नेछ ।

बोर्डको प्रदेश र शाखा कार्यालयहरूमा ती उत्तरपुस्तिकाको सम्परीक्षण गरेर केन्द्रमा पठाइनेछ । केन्द्रमा अंक प्राप्त भएपछि कक्षा ११ को प्राप्तांक, आन्तरिक र प्रयोगात्मक परीक्षाको अंक जोडेर नतिजा सार्वजनिकको तयारी गरिने पौडेलले बताए । ‘कुनै बाधा अवरोध नभए एक महिनाभित्र नतिजा प्रकाशन गर्न सक्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘१५ पुससम्म नतिजा प्रकाशित हुने आशा गरौं ।’

कोरोना महामारीका कारण वैशाखमा हुनुपर्ने परीक्षा स्थगित भएको थियो । बोर्डले मन्त्रिपरिषद्को स्वीकृतिमा कार्यविधि जारी गरेर ४० पूर्णांकको संक्षिप्त परीक्षा सञ्चालन गरेको हो । परीक्षा मर्यादित रूपमा सकिएको बोर्डले दाबी गरेको छ । विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । उत्तरपुस्तिका पनि विद्यालयकै विषयशिक्षकले परीक्षण गरेर बोर्डको प्रदेश कार्यालय र शाखा कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

करिब १७ हजार विद्यार्थीले भने आफूलाई घरपायक पर्ने जिल्लाको केन्द्रबाट परीक्षा दिएका थिए । उनीहरूको उत्तरपुस्तिका भने बोर्डको प्रदेश कार्यालयमा परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । ‘होम सेन्टरमा परीक्षा दिने विद्यार्थीको उत्तरपुस्तिका बोर्डले सम्परीक्षण गर्छ,’ अध्यक्ष पौडेलले भने, ‘घरपायक केन्द्र रोजेर परीक्षा दिएका परीक्षार्थीको कपी पनि त्यहीँ परीक्षण गरिन्छ ।’ अन्य विद्यालयबाट परीक्षा दिएका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण नगरी बोर्डमा पठाउनुपर्नेछ भने आफ्ना विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गरेर अंकसहित बुझाउनुपर्ने व्यवस्था गरिएको हो ।

कोरोना कहरबीच स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै मंसिर ९ बाट ४ हजार १ सय ५ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । ४ लाख ३२ हजार ५ सय परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । प्रदेश कार्यालयले विद्यार्थीको प्राप्तांक पठाएपछि केन्द्रीय सर्वरमा नम्बर इन्ट्रीको काम थालिने बोर्डले जनाएको छ । परीक्षार्थीको ४० प्रतिशत पूर्णांक कक्षा ११ को आधारमा मूल्यांकन गरिँदै छ । २० प्रतिशत अंक विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा दिइनेछ । आन्तरिक मूल्यांकन र प्रयोगात्मक परीक्षाको अंक विद्यालयहरूले बोर्डमा पठाइसकेका छन् । सैद्धान्तिकतर्फको संक्षिप्त परीक्षाको अंक, कक्षा ११ को प्राप्तांक र आन्तरिक मूल्यांकनको अंक एकमुष्ट जोडेर विगतमा जस्तै ग्रेडिङ पद्धतिमा कक्षा १२ को यस वर्षको नतिजा प्रकाशन हुनेछ । विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिनेछ ।

कक्षा १२ को परीक्षा सञ्चालनले नौ महिनादेखि बन्द रहेको शैक्षिक गतिविधिमा चहलपहल बढाएको शिक्षा मन्त्रालय र बोर्डका अधिकारीहरूले बताएका छन् । कोरोनाले प्रभावित बनेका विश्वविद्यालय, कक्षा ११ को परीक्षालगायत अन्य परीक्षा र पठनपाठन पनि सञ्चालन गर्न सकिने बोर्डका अध्यक्ष पौडेलले बताए । ‘शिक्षा क्षेत्र ठप्प बनेको थियो, परीक्षाले गति दिएको छ,’ उनले भने । चैतमा हुनुपर्ने यस वर्षको एसईई परीक्षा पनि कोरोना कहर कायममै रहे पनि यस्तै तरिकाबाट सञ्चालन गर्न सकिने बहस सुरु भएको छ ।

केही हिमाली जिल्लाबाहेक अधिकांश विद्यालयमा अनलाइनबाट प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन गरिएको हो । यसबाट प्रश्नपत्र छपाइ गर्नुपर्ने, ढुवानी गरेर परीक्षा केन्द्रसम्म लैजाने र प्रश्नपत्रको गोपनीयता कायम राख्ने झन्झटबाट मुक्ति मिलेको बोर्डका अधिकारीहरू बताउँछन् । यद्यपि कक्षा १२ को परीक्षामा विज्ञान संकायतर्फका केही विषयमा प्रश्नपत्र परीक्षाअगावै बाहिरिएको चर्चा चलेको थियो । बोर्डले प्रश्नपत्र आउट नभएको दाबी गर्दै आएको छ ।

परीक्षा हलमा मोबाइललगायत डिजिटल सामग्री लैजाने प्रतिबन्ध लगाइएको थियो । परीक्षा अवधिमै सामाजिक सञ्जालमा परीक्षा हलभित्र विद्यार्थीले मोबाइल हेर्दै उत्तर लेखेको भिडियो सार्वजनिक भएको थियो । यस विषयमा भने बोर्डले अनुसन्धान भइरहेको जनाएको छ । ‘परीक्षा हलभित्रै यस्तो गतिविधि भए/नभएको कुनै यकिन छैन, प्राप्त भिडियोका आधारमा खोजी हुँदै छ, कुनै पनि परीक्षा केन्द्रमा चोरीलगायत अमर्यादित गतिविधि गरिएको पुष्टि भए परीक्षा रद्द गर्छौं,’ अध्यक्ष पौडेलले भने ।

प्रकाशित : मंसिर १७, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?