जोखिमकै बीच विद्यालय खुल्दै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोखिमकै बीच विद्यालय खुल्दै

विकट भौगोलिक क्षेत्र भएकाले स्वास्थ्य सुरक्षा सामग्री नै पुग्दैनन् । यस्ता ठाउँमा जनजीवन सामान्यतर्फ फर्काउने भन्दै धमाधम विद्यालय खोल्दा बालबालिका संक्रमणको उच्च जोखिममा परेका छन् ।
सुदूरपश्चिम ब्युरो

धनगढी — कोरोना महामारीका कारण गत चैतदेखि बन्द सुदूरपश्चिमका विद्यालय धमाधम खुल्न थालेका छन् । संक्रमणको जोखिमकै बीच विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुन थालेको हो । विद्यालय सञ्चालन कार्यढाँचा बनाएर बिहान र दिउँसो गरी दुई सत्रमा कक्षा सञ्चालन भइरहेको छ ।

बालबालिकाहरू संवेदनशील उमेर समूहमै पर्ने भएकाले पनि संक्रमणको जोखिम भने कायमै छ । भौगोलिक विकटताका कारण स्वास्थ्य सामग्री उपलब्ध नहुनु, अशिक्षा तथा हेलचेक्रयाइँले पनि यहाँका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना चुनौतीपूर्ण देखिन्छ । प्रदेश स्वास्थ्य निर्देशनालयका एक अधिकारीले पनि यस्तो अवस्थामा विद्यालय सञ्चालन गरिनु चुनौतीपूर्ण हुने बताए । ‘विद्यालय भनेको भीडभाड हुने स्थान हो । त्यहाँ दुई/तीन सय विद्यार्थी पनि हुन्छन्,’ ती अधिकारीले भने, ‘ठूला कक्षाका विद्यार्थीले सावधानी अपनाए पनि साना नानीबाबु एकसाथ खेल्ने गर्छन् । यसले एक जनामा संक्रमण भए विद्यालयभरि र घरघर पुग्ने जोखिम पनि हुन्छ ।’ उनले विद्यालयमा कडा सावधानी अपनाउन सके मात्रै संक्रमणबाट जोगिन सघाउ पुग्ने बताए ।

बैतडीको दशरथचन्द नगरपालिकामा गत बिहीबार (मंसिर ११) देखि खोलिएका विद्यालय दुई दिनमै बन्द गरिए । नगर प्रमुखसहित १९ जनामा एकैदिन कोरोना पुष्टि भएपछि शुक्रबारदेखि विद्यालय बन्द गरिएका हुन् । शनिबारदेखि नगरपालिका क्षेत्रभर १० दिनसम्म लकडाउन आह्वान गरिएको छ । सिंगो प्रहरी चौकीसहित समुदायमै रहेका व्यक्तिमा कोरोना संक्रमण भएपछि डिलासैनी गाउँपालिकामा पनि लकडाउन गरिएको छ ।

कञ्चनपुरमा यसै साताबाट विद्यालयमा पठनपाठन सुरु गरिने भएको छ । स्थानीय तहहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पठनपाठन थाल्ने बताएका छन् । तर यसबारे आफूहरूसँग सल्लाह नै नगरिएको अभिभावकहरूको गुनासो छ । स्थानीय तहहरूले सामुदायिक विद्यालयका प्रधानाध्यापक र निजी विद्यालयका सञ्चालकहरूसँग छलफल गरे पनि अभिभावकलाई भने समेटेका छैनन् । ‘सरकारले तोकेको मापदण्डभित्र रहेर विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेका छौं,’ भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल चन्दले भने, ‘त्यहीअनुसार विद्यालयहरूले तयारी सुरु गरेका छन् ।’ स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा नगरेको पाइएमा कारबाही गरिने उनले बताए ।

गत साता शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा ९ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखसहितको बैठकमा मंसिर १९ भित्रै सबै विद्यालय खोल्ने निर्णय भएको थियो । तर कार्यढाँचाअनुसार विद्यालयहरूले अभिभावकसँग भने छलफल गरेको पाइँदैन । अहिले पनि अभिभावकहरू विद्यालय सञ्चालन हुने–नहुनेमा अन्योलमा छन् । ‘हामीसँग कुनै सल्लाह गरिएको छैन, यो विषयमा कुनै जानकारी पनि छैन,’ अभिभावक संघ कञ्चनपुरका अध्यक्ष वीरबहादुर चन्दले भने, ‘अभिभावकहरूले आफ्ना बालबालिका विद्यालय नपठाए कसरी पठनपाठन हुन्छ ?’ विद्यालयले सुरुमा अभिभावकसँग छलफल गर्ने र त्यसपछि सम्बन्धित स्थानीय तहमा विद्यालय सञ्चालनको कार्यढाँचा पेस गरेपछि त्यसैअनुसार पठनपाठन थाल्ने निर्णय भएको थियो । निजी विद्यालयमा विद्यार्थी भर्ना तथा शुल्क लिनकै लागि मात्रै सञ्चालन गर्ने तयारी गरिएको हो कि भन्ने आशंका उब्जिएको भीमदत्तका एक अभिभावकले बताए ।

कैलालीको धनगढी उपमहानगरमा गत आइतबारदेखि नै विद्यालयमा पढाइ भइरहेको छ । जसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको उपमहानगरको दाबी छ । ‘विद्यालय सञ्चालन भएर कतिपयले प्रतिवेदनसमेत दिएका छन्,’ उपमहानगरका शिक्षा शाखा प्रमुख महादेव जोशीले भने, ‘स्वास्थ्य सतर्कतालाई उच्च ढंगले ख्याल गर्न भनेका छौं ।’ गोदावरी नगरपालिकामा पनि विद्यालय खुलेका छन् । ‘सर्वपक्षीय बैठक तथा समझदारी गराएर विद्यालय सञ्चालन गराएका हौं,’ उपप्रमुख रत्ना कठायतले भनिन्, ‘लामो समयपछि विद्यालय खुलेकाले विद्यार्थीहरूमा उत्साह देखिएको छ ।’

जिल्लाका अन्य स्थानीय तहमा पनि कतै पूर्ण र कतै आंशिक रूपमा भए पनि कक्षाकोठामै पढाउन थालिएको छ । ‘पहिलाजस्तै पूरै समय सञ्चालन नभए पनि कक्षा सुरु भएका छन्,’ घोडाघोडी नगरपालिकाको शिक्षा शाखा प्रमुख उमेश रेग्मीले भने, ‘कार्यढाँचाले तोकेबमोजिम विद्यालयलाई सर्कुलर गरेका छौं ।’ पिरियडको समय छोट्याउने, दुई सत्रमा चलाउने, कम विद्यार्थी भए नियमित गर्ने, आलोपालो कक्षा सञ्चालन, एउटै कक्षामा धेरै विद्यार्थी भए सेक्सन छुट्याएर पढाउनेलगायत विकल्प शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचा २०७७ मा उल्लेख छ ।

छैन भौतिक दूरी पालना

अछामका निजी तथा सामुदायिक विद्यालयहरू पनि गत सातादेखि खुल्न थालेका छन् । करिब १३ सय विद्यार्थी रहेको शोडषा माविमा दुई सत्रमा कक्षा सञ्चालन गरिएको छ । विद्यार्थी संख्या धेरै भएकाले एकैसाथ पढाउन नसकिएको प्रधानाध्यापक देवेन्द्र दुब्बेले बताए ।

‘स्कुलमा आउँदा सबै विद्यार्थीलाई अनिवार्य मास्क लगाएर आउन भनेका छौं,’ उनले भने, ‘९ कक्षादेखि १२ कक्षासम्म बिहान पढाउँछौं । १ कक्षादेखि ८ कक्षासम्म दिउँसो पढाउँछौं । तर विद्यार्थी धेरै भएकाले भौतिक दूरी कायम गर्न भने सकेका छैनौं ।’ स्वास्थ्य मापदण्डअनुसार भौतिक दूरी कायम गर्दा एउटा कक्षाको पढ्ने पालो सातामा एक दिन मात्र आउने उनले बताए । जिल्लामा कोरोना संक्रमणको जोखिम अझै रहेकाले विद्यार्थी र शिक्षक दुवैमा संक्रमण हुने खतरा रहेकामा उनले चिन्ता जनाए । मनकामना मावि घोडासैनीका शिक्षक नैनसिंह साउद लकडाउनका बेला धेरै बालबालिकाले पढाएको कुरासमेत बिर्सिएको बताउँछन् । ‘रेडियोको पहुँच नै नभएको गाउँमा अनलाइन कक्षा र टेलिभिजन कक्षा त सपना जस्तै हुन् । अहिले सकेसम्म स्वास्थ्य मापदण्ड अपनाएर पढाउन सुरु गरिएको छ । तर यसले धेरै जोखिम निम्त्याउने देखिन्छ,’ उनले भने ।

दार्चुलाका ९ वटै स्थानीय तहमा विद्यालय खुलेका छन् । सरकारले कोभिड–१९ को प्रभाव नभएको ठाउँमा विद्यालय खोल्न सम्बन्धित स्थानीय तहलाई जिम्मा दिएपछि जिल्लाभरिका सबै विद्यालयमा पठनपाठन सुरु भएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले बताए । जिल्लाका ३३७ सामुदायिक र १९ वटा संस्थागत विद्यालयमा पढाउन थालिएको हो । दुर्गम क्षेत्रका अधिकांश विद्यार्थीहरू वैकल्पिक शिक्षाको पहुँच बाहिर रहेकाले भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिएको दुहु गाउँपालिकाका शिक्षा शाखा प्रमुख हेमराज जोशीले बताए । सुदूरपश्चिमका अन्य जिल्लामा पनि विद्यालय खुलिसकेका छन् ।

भवानी भट्ट (कञ्चनपुर), अर्जुन शाह (धनगढी), मेनुका ढुंगाना (अछाम) र मनोज बडू (दार्चुला)

प्रकाशित : मंसिर १७, २०७७ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्

पोखरा रंगशालामा छैन खेल गतिविधिको रौनक

दीपक परियार

पोखरा — गेटबाट छिर्नेबित्तिकै दायाँतिर बास्केटबल खेलिरहेका युवा, बायाँपट्टि भलिबलको शट प्रहार गर्दै गरेका खेलाडी अचेल पोखरा रंगशालामा देखिँदैनन् । न त प्रतियोगिता हेर्दै गरेका दर्शकको ‘हुटिङ’ नै सुनिन्छ । १३औं दक्षिण एसियाली खेलकुद (साग) सँगै रंगशालाले पाएको भव्य फुटबल मैदान सुनसान छ ।

कोरोना कहर नभएको भए यतिखेर पोखरा रंगशालामा निकै चहलपहल हुने बेला हो । सहारा क्लबले गर्ने आहा–रारा गोल्डकपको तयारी सुरु भइसकेको हुन्थ्यो । एन्फाले गर्ने मनकामना पोखरा कप यतिबेलै चल्थ्यो । अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिता यहीँ मौसममा हुन्थ्यो । सभामुख कप भलिबल, प्याब्सन, एनप्याब्सन, हिसानका स्पोर्ट्स मिट, राष्ट्रपति रनिङ सिल्ड, उपराष्ट्रपति चिल्ड्रेन गेम्स, जिल्लास्तरीय रनिङ सिल्ड, विभिन्न अन्तरविद्यालय खेल प्रतियोगिता कोरोना कहरकै कारण प्रभावित भएका छन् ।

तेक्वान्दोका प्रशिक्षक बलराम लामाले ४–४ महिनामा हुने कराते, तेक्वान्दोका बेल्ट टेस्ट पनि प्रभावित भएको बताए । तेक्वान्दोका भर्चुअल प्रतियोगिता आयोजना गर्न नसकिएको उनले बताए । कात्तिक २७ को मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षण सुरु गर्न अनुमति दिने निर्णय गर्‍यो । त्यसयता पोखरा रंगशालामा पनि केही खेलका प्रशिक्षण सुरु भएका छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीका अनुसार लन टेनिस, आर्चरी, बास्केटबल, भलिबल, भारोत्तोलन, जुडो, कराते, तेक्वान्दो र बक्सिङका प्रशिक्षण रंगशालामा सुरु भएका छन् । कोरोनाकै कारण विभिन्न खेलकुद संघले गर्ने वार्षिक क्रियाकलाप रोकिएको उनले बताए । ‘यो अवधिमा खेलाडीलाई घरमै बसेर ट्रेनिङ गर्न भनियो,’ उनले भने, ‘अब अरू खेलका प्रशिक्षण पनि रंगशालामै चलाउँछौं ।’

फागुन २० देखि २८ सम्म पोखरामा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितासमेत हुने नहुने निधो छैन । कार्यालय प्रमुख योगीले भौतिक पूर्वाधारको अभावमा प्रतियोगिता रोकिने अवस्था नरहेको बताए । रंगशालामा बनाउने तयारी गरिएको स्विमिङ पुल र सुटिङ ग्राउन्ड भने बनाइएको छैन । योगीका अनुसार हिटिङ प्रणालीसहितको स्विमिङ पुल बनाउन राष्ट्रिय खेलकुद परिषद्ले टेण्डर आह्वान गर्ने तयारी गरे पनि रोकिएको थियो । साढे २४ करोड रुपैयाँ लगत इस्टिमेट गरिएको स्विमिङ पुल बनाउन राखेपले गत आर्थिक वर्षमा साढे दुई करोड रुपैयाँ छुट्याएको थियो । नेपाल भलिबल संघका उपाध्यक्ष डीबी नेपालीले राखेपले तयारी गरे हाल पोखरामा रहेका सुविधासम्पन्न स्विमिङ पुल प्रयोग गर्न सकिने बताए । पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा जस्तै यसपल्ट पनि दोहोरी गीत प्रतियोगितालाई प्रदर्शनीका रूपमा समावेश गर्न राखेपमा प्रस्ताव पठाएको उनले जनाए । पुस १५ देखि प्रदेशस्तरीय एकदिवसीय प्रधानमन्त्री क्रिकेट कपअन्तर्गत पुरुषतर्फको खेल पोखरा रंगशालाकै क्रिकेट मैदानमा हुँदै छ । उक्त प्रतियोगिताका लागि क्रिकेट मैदानको आउटफिल्ड स्तरोन्नतिको काम भइसकेको कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । हाल पिच मर्मतको काम भइरहेको उनले सुनाए ।

फुटबल मैदान ८५ प्रतिशत

सम्झौताअनुरुप काम भएको भए पोखरा रंगशालामा फुटबल मैदान ०७६ असारभित्रै सकिनुपर्थ्यो । ०७५ पुसमा सम्झौता भएर फागुनमा शिलान्यास गरिए पनि समयमै सकिएन । सागमा अधकल्चो मैदानमै महिला फुटबल सञ्चालन भएको थियो ।

हालसम्म चारपल्ट म्याद थप हुँदा समेत फुटबल रंगशालाको काम हालसम्म ८५ प्रतिशत मात्रै सकिएको छ । नेपालकै ठूलो अन्तर्राष्ट्रिय रंगशालामा सम्झौताअनुरुप १६ हजार ५ सय सिट जडान भइसकेका छन् । पछिल्लोपल्ट म्याद थपिएपछि यहीं मंसिरभित्र काम सम्पन्न गरेर फुटबल रंगशाला हस्तान्तरण गर्नुपर्ने थियो । तर, अझै दुई–तीन महिना लाग्नसक्ने राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर प्रनिश ताम्राकार बताउँछन् । उनका अनुसार प्रि–इन्जिनियरिङ बिल्डिङको फ्रेम संरचना बनेको छ । इन्टेरियर डेकोरेसनको काम बाँकी छ । त्यसका लागि भारतबाट प्राविधिक आउनुपर्छ । ‘कोरोनाकै कारण ती प्राविधिक कहिले आउने हो भन्ने टुंगो छैन,’ उनले भने । थप ३ हजार ५ सय सिट थपेर प्यारापिट २० हजार दर्शक क्षमताको बनाउने तयारी रहेको पनि उनले सुनाए । फुटबल रंगशाला निर्माणको जिम्मा पाएको भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा (जीएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चरले राखेपमा सिट थप्न प्रस्ताव पठाइसकेको छ । ३ हजार ५ सय सिट थप्न झन्डै २० करोड रुपैयाँ लाग्ने कम्पनीको अनुमान छ ।

सम्झौताअनुसार स्टेडियम निर्माणको लागत भने १ अर्ब २८ करोड रुपैयाँ हो । ‘ग्रान्डस्ट्यान्ड’ प्रविधिमा बनेको स्टेडियममा फिफा मापदण्डअनुसार १ सय २ मिटर लम्बाइ र ६४ मिटर चौडाइको फुटबल मैदान छ । एथलेटिक्सका लागि सिन्थेटिक ट्र्याक बनाइएको छ । ४०० मिटर लम्बाइको आठ लेनको सिन्थेटिक ट्र्याक बनिसकेको छ । स्टिल मोडुलर प्रविधिको स्टेडियम नेपालमै पहिलो भएको दाबी कम्पनीको छ । सिन्थेटिक ट्र्याक जर्मनी र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट आएको हो । अन्तर्राष्ट्रिय मापदण्डको स्टेडियममा ट्र्याक एन्ड फिल्ड, शौचालय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रूम, कन्फ्रेन्स कक्षलगायत रहनेछन् । स्टेडियममा आधुनिक फ्लडलाइटसहित स्कोर बोर्ड, डिस्प्ले बोर्डसमेत हुनेछन् ।

प्रकाशित : मंसिर १७, २०७७ ०९:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×