कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अरूको जग्गा सांसदको नाममा  !

निर्णयमा गल्ती भएको भन्दै जिल्ला अदालतद्वारा जग्गा रोक्का राख्न पत्राचार
ओमप्रकाश ठाकुर

सर्लाही — अंशबन्डाको मुद्दामा जिल्ला अदालत सर्लाहीले आफ्नै निर्णय सच्याउन पहल थालेको छ । निर्णय गलत भएको निवेदन परेपछि अदालतले झुक्किएर निर्णय गरिएको भन्दै सच्याउन तयारी थालेको हो । विपक्षीले भने सर्लाहीका प्रदेश सांसद सञ्जय यादवले अदालतलाई प्रभावमा पारेर अरूको अंश लाग्ने जग्गा आफ्नो नाममा ल्याएको आरोप लगाएका छन् । 

अरूको जग्गा सांसदको नाममा  !

अदालतले गत असोज १३ गते चलन पुर्जी जारी गर्दै बोधार्थमा जिल्ला मालपोत कार्यालयलाई कविलासी नगरपालिका–१० का राजकली देवी यादव, राजनारायण राय यादव र सञ्जयकुमार यादवका नाममा संयुक्त दाखिला खारेज गर्न आदेश दिएको थियो ।

पीडित पक्षले निर्णय गलत भएको निवेदन दिएपछि जिल्ला अदालतले मंसिर १२ गते मालपोत कार्यालयलाई दाखिला खारेज दर्ताको चलन पुर्जीअनुसारको जग्गा यथास्थितिमा राखी सोको जानकारी अदालतमा पठाउन आदेश गरेको छ ।

अदालतले मालपोतलाई लेखेको पत्र

साविकको सलेमपुर गाविस–५ हालको कविलासी नगरपालिका–१० का मूल पुरुष रामगोपाल राय र उनकी श्रीमती फूलकुमारीको नाममा जिउनीका लागि राखिएको ४० बिघा जग्गा उनका छोराद्वय माझी राय र रामअश्रेय रायबीच बाँडिएन । अन्य जग्गा भने २०२० भदौ ९ गते नै अंशबन्डा गरियो । जिउनीका लागि राखिएको ४३ वटा कित्ताको ४० बिघा जग्गा उनीहरूले संगोलमै भोगचलन गर्दै आए तर २०५५ सालमा रामआश्रेयका छोरा गजेन्द्र रायले हजुरबुबा रामगोपाल र हजुरआमा फूलकुमारीका नाममा रहेको जिउनीको जग्गामध्ये चार भागको एक भाग माग गर्दै अंश मुद्दा दिए ।

२०५६ फागुन २२ गते अदालतले मूल पुरुष रामगोपाल र फूलकुमारीको नाममा रहेको जग्गामा माझी र रामआश्रेयको नाममा दुई भाग पारी माझीका दुई छोरा महेन्द्र राय र उपेन्द्र राय तथा रामआश्रेयका दुई छोरा गजेन्द्र र नवलकिशोर रायलाई पनि दुई–दुई भाग गरी हक पाउने ठहर गर्दै चारमध्ये एक भाग वादी गजेन्द्रको नाममा फैसला गरेको थियो । जसलाई पुनरावेदन अदालत जनकपुरले २०६३ भदौ १९ मा सदर गरेको छ ।

गजेन्द्रले एक भाग पाए पनि बाँकीको तीन भाग नवलकिशोरका श्रीमती र दुई छोरा राजनारायण र सञ्जयकुमारको नाममा अदालतले गत असोज १३ गते चलन पुर्जी जारी गरिदियो । सर्लाही अदालतका स्रेस्तेदार शिवहरि पौडेलले अदालतको त्यो निर्णय झुक्किएर भएको भन्दै तीन जनाको नाममा मालपोतबाट दाखिला खारेज भएको जग्गा रोक्काको निर्णय गरेको जानकारी दिए ।

जग्गाधनी पूर्जा

अंश नपाएका महेन्द्रका छोरा राजकिशोर तथा उपेन्द्रका छोराद्वय अशोक यादव र अजय यादवले अदालतमा जालसाजी गरेर सञ्जय र राजकिशोरले सम्पूर्ण जग्गा आफ्ना नाममा गराएको भन्दै निवेदन दिए ।

प्रदेश सांसद रहेको बलमा सञ्जय यादवले अदालतलाई नै प्रभावमा पारेर निर्णय गर्न लगाएको राजकिशोरको आरोप छ । प्रदेश सांसद सञ्जयले जिल्ला तथा पुनरावेदन अदालतले निर्णय गरी भोगअधिकार दिएपछि जग्गा पास भएको बताए । ‘मेरो छवि धमिल्याउने प्रयास हुँदै छ, मैले जे गरेको छु अदालतको निर्णयअनुसार नै गरेको छु,’ उनले भने ।

प्रकाशित : मंसिर १७, २०७७ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?