समस्याको मुख्य जड केपी कमरेड नै हो : नेपाल

औपचारिकसँगै अनौपचरिक छलफल पनि गरौं : गौतम
बैठकको समापनमा ओली–‘बैठकको औचित्य छैन’
बबिता शर्मा

काठमाडौँ — नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको समस्याको मुख्य जड प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले पेस गरेको ३८ पुष्ठ लामो राजनीतिक प्रस्तावमाथि मंगलबारको सचिवालय बैठकमा धारणा राख्दै नेता नेपालले ओलीले व्यक्तिवाद त्याग्नुपर्ने बताएका छन् ।

समस्याको मुख्य जड केपी कमरेड नै हो : नेपाल

‘दुई प्रस्तावको दुई सार छ । एउटा (प्रचण्डको प्रस्ताव) ले विचार, राजनीति, विधि पद्धति, पार्टी निर्णय नमानेर समस्या आयो भनेको छ । अर्को (ओलीको प्रस्ताव) ले नेताहरुको चाहना इच्छा पूरा हुन नपाएको कारणले गर्दा समस्या आयो भनेको छ । त्यसकारण कमरेड केपीको बुझाई पुरै गलत छ,’ बैठकमा नेता नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘केपी कमरेडमा व्यक्तिवादको समस्या, तपाईंले पहिला यो त्याग्नुस् । तपाईंमा गुटवाद छ त्यो पनि त्याग्नुस् । समस्याको जरो केपी कमरेड तपाईं नै हो ।’

नेता नेपालले पार्टी विभाजनको त्रास फैलाएको भन्दै विभाजन गर्ने को हो भन्दै प्रश्न गरेका थिए । ‘विभाजनको त्रास किन फैलाएको ? अब पूर्वमाओवादी र पूर्वएमाले भनेर फुट्न सक्दै सक्दैन । पार्टी फुट्न पनि सक्दैन । को हो पार्टी फुटाउने ?’ नेपालको भनाइ थियो, ‘हामी सबै कमिटीको सदस्य मात्र हौं, अध्यक्ष र महासचिव पनि । यसकारण सहमतिमा टुंग्याउने, त्यसमा पनि दुई जना वा तीन जनाको सहमतिमा हुने भन्ने हैन । सहमति भए राम्रो, नभए पनि विधि र पद्धतिमा जानुपर्छ । कमिटीले निर्णय गर्ने हो ।’

ओलीको प्रस्तावमाथि बोल्दै वरिष्ठ नेता झलनाथ खनालले सहमतिमा पार्टी चल्ने भन्ने दुनियाँमा नहुने भन्दै विधि पद्धतिमा पार्टी चल्नु पर्ने बताएका थिए । ‘सहमतिको आधारमा मात्रै पार्टी चल्ने भन्ने दुनियाँमा कहीं पनि हुन्न । विधि र पद्धतिमा चल्नु पर्छ । सबै कुरा छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ’ खनालको भनाइ थियो ।

उपाध्यक्ष वामदेव गौतमले औपचारिक छलफलसँगै अनौपचारिक छलफल गर्नुपर्ने प्रस्ताव बैठकमा राखेका थिए । ‘केही समय अनौपचारिक छलफल पनि गर्नुपर्ला । प्रस्तावमाथि पनि छलफल गर्नुपर्छ । विचार राख्न नपाउने, प्रस्तावमा छलफल गर्न नपाउने भन्ने जस्तो कुरा कसैले पनि नगरौं । छलफल भइनै सकेको छ । यसलाई सकारात्मक निष्कर्षमा पुर्‍याउँ । औपचारिक बैठकको साथसाथै अनौपचारिक छलफल पनि गरौं’ गौतमले बैठकमा भनेका थिए ।

प्रवक्ता श्रेष्ठले अनौपचारिक छलफलका साथै विधि पद्धतिबाट विचलित हुन नहुने धारणा राखेका थिए । श्रेष्ठले अनौपचारिक छलफलको नाममा बैठकलाई रोक्न नमिल्ने बताएका थिए ।

सचिवालय सदस्य ईश्वर पोखेरलले पनि अनौपचारिक छलफल अगाडि बढाउनुपर्ने धारणा राखेका थिए । स्रोतका अनुसार बैठकको अन्तिममा प्रधानमन्त्री ओलीले बैठकको औचित्य नभएको बताएर उठेका थिए । ‘बैठकको काम छैन । पाँच/दस दिन अनौपचारिक छलफल गरौं ।’ त्यसपछि अन्य सदस्यले बैठक रोक्न नहुने धारणा राखेका थिए ।

सचिवालयको अर्को बैठक बुधबार बालुवाटारमा नै बस्ने तय भएको प्रवक्ता श्रेष्ठले बताए । आजको बैठक सुरु हुनु अघि महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिनको केक काटिएको थियो । त्यसपछि केहीबेर एजेन्डालाई लिएर बैठकमा तनाव भएको थियो ।

यसअघि पार्टी मुख्यालय धुम्बाराही बस्ने तय भएको बैठक 'सुरक्षा थ्रेट' देखाउँदै बालुवाटारमा सारिएको थियो ।

प्रकाशित : मंसिर १६, २०७७ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?