ओलीमा ‘आई एम द स्टेट’ भन्‍ने भाव देखियो : दाहाल

बबिता शर्मा

काठमाडौँ — नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा भयंकर ठूलो व्यक्तिवाद र अहंकार देखिएको आरोप लगाएका छन् । ओलीले शनिबारको सचिवालयमा पेस गरेका ३८ पेज लामो प्रस्तावमाथि मंगलबारको बैठकमा बोल्दै दाहालले ओलीले गुटबन्दी गरेको पनि बताएका छन् ।

ओलीमा ‘आई एम द स्टेट’ भन्‍ने भाव देखियो : दाहाल

यसअगाडि पनि ओलीमाथि शक्तिकेन्द्रित गरेको तथा व्यक्तिवाद बढिरहेको आरोप पार्टीभित्रैबाट लाग्दै आएको थियो ।

‘तपाईं (ओली) ले अगाडि सारेको पत्रमा व्यक्तिवाद छ, अंहकार छ । तपाईंमा ‘आई एम द स्टेट’ भन्ने ठूलो भ्रम छ,’ दाहालको भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले बताए ।

ओलीले आफूमाथि लगाएका आरोपको पनि दाहालले खण्डन गरेका छन् । सचिवालयका ती सदस्यका अनुसार ओलीले गुटबन्दी गरेको आरोप लगाउँदै दाहालले भनेका थिए, ‘तपाईंमा जति गुटवाद कसैमा छैन । दिनदिनै बालुवाटारमा गुटबन्दी गर्नुहुन्छ । देशभरी मदन भण्डारी फाउन्डेशनमार्फत गुटबन्दी गर्ने काम तपाईंले नै गर्नुभएको छ । अरुलाई आरोप लगाउनुको कुनै तुक छैन ।’

बैठकमा दाहालले प्रधानमन्त्री ओलीमा कुण्ठा रहेको पनि बताएका थिए । ‘तपाईंमा कुण्ठा छ । तपाईं कुण्ठाग्रस्त हुनुहुन्छ । तपाईंका दृष्टिकोण सर्वहारा श्रमजीवी वर्गीय मार्क्सवादी दृष्टिकोण हैन, गुटवाद दुष्टिकोणसँग मेल खान्छ’ दाहालले ओलीको प्रस्तावमाथि बोल्दै भनेका थिए ।

बैठकमा दाहालले ‘तपाईंले कि म रहन्न कि प्रचण्ड रहन्नन् भनेर के भन्न खोज्नुभएको हो, यसले पार्टी एकतालाई बलियो बनाउँछ ?’ भन्दै प्रश्नसमेत गरेको सचिवालयका ती नेताले बताए ।

बैठकमा दाहालले ओलीले उठाएका प्रश्नलाई लिएर सचिवालयकै अर्को बैठक वा स्थायी कमिटीमा व्यवस्थित रुपमा लिखित पुरक प्रस्ताव प्रस्तुत गर्ने पनि जानकारी दिएका छन् ।

सम्बन्धित समाचार


प्रकाशित : मंसिर १६, २०७७ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?