३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बैठकको कार्यसूचीलाई लिएर नेकपा सचिवालयमा तनाव

बैठकमा दाहालप्रति ओलीको आक्रोश, 'जे मन लाग्यो त्यही बोल्न पाइन्छ ?'
बबिता शर्मा

काठमाडौँ — बैठकको कार्यसूचीलाई लिएर नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चर्काचर्की परेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको सुरुमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आजका एजेन्डा के हुन् ? भन्ने प्रश्न गरेका थिए । 

बैठकको कार्यसूचीलाई लिएर नेकपा सचिवालयमा तनाव

सचिवालयका एक सदस्यका अनुसार ओलीले आफूतिर लक्षित गरी प्रश्न गरेको बुझाईमा रहेका कार्यकारी अध्यक्ष दाहालले पार्टी गम्भीर मोडमा रहेको, त्यसका लागि दुई प्रस्ताव अगाडि आएको र तिनै विषय बैठकका कार्यसूची हुने बताएका थिए । ती सदस्यकाअनुसार दाहालको भनाई थियो, 'पार्टी गम्भीर मोडमा छ । समाधानका लागि हामी दुवैले प्रस्ताव पेस गरेका छौं । त्यसमै छलफल गर्ने त हो नि, कार्यसूची त्यही हो ।’

दाहालको यस्तो भनाईपछि ओलीले आरोपपत्रमा छलफल हुन नसक्ने अडान राखेका थिए । सचिवालयका ती सदस्यकाअनुसार ओलीले आक्रोशितरुपमा भनाई राखेका थिए, 'लाञ्छनापत्रमाथि छलफल हुनै सक्दैन । त्यसले पार्टीको साख गिराएको छ । बेइज्जत गरेको छ । त्यसमा मेरो उछितो काडिएको छ । त्यसमाथि छलफल हुनै सक्दैन । त्यो कसरी एजेण्डा हुन सक्छ?’ ओलीले दाहालको प्रस्तावलाई अस्वीकार गर्नुपर्ने आफ्नो लिखित प्रस्तावमै राखेका छन् ।

ती सदस्यका अनुसार यसबाहेक ओलीले बैठकमा भनेका थिए, 'पार्टी एकता गर्ने हो भने निराधार लाञ्छनापत्र फिर्ता लिएर माफी माग्नु पर्छ । बुकलेट छापेकोमा पनि माफी माग्नु पर्छ । बहुमत अल्पमत गरेर जान सकिन्नँ । त्यो महाधिवेशन पछाडि मात्रै लागू हुन सक्छ ।’

त्यसपछि फेरि बोलेका दाहालले ओलीले बैठक र अन्य नेताहरुलाई उत्तेजित पार्ने कोसिस गरेको तर आफूहरु शान्त भएर बैठकमा छलफल गर्ने बताएका थिए । सचिवालयका अर्का एक नेताका अनुसार दाहालको भनाई थियो, ‘कमरेड केपीले उत्तेजित पार्ने कुरा बोल्नु भयो । हामी उत्तेजित हुन्छौं भन्ने ठान्नु भएको होला, हामी उत्तेजित हुँदैनौं, हामी गम्भीर छौं । पार्टी एकताको रक्षा गर्ने र अहिलेको छलफललाई सकारात्मक दिशातिर लैजाने र सही निष्कर्ष निकाल्ने कुरामा गम्भीर छौं । अब छलफल गरौं ।’

ती सदस्यका अनुसार दाहाल बोल्दाबोल्दै ओली आक्रोशित हुँदै बीचमा बोलेका थिए, ‘जे मन लाग्यो त्यही बोल्न पाइन्छ ?’ त्यसपछि अरु नेताहरू पनि ओली र दाहालबीचको भनाभनमा प्रवेश गरेका थिए । केहीबेर बैठकको वातवरण नै तनावपूर्ण बनेको थियो ।

ओलीले दाहाललाई बोल्न रोकेपछि सचिवालयका अन्य सदस्यले प्रतिवाद गरेका थिए । सुरुमा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवाद गरेको सचिवालयका ती सदस्यले बताए । 'तपाईंले बोलको हामी सबैले सुन्यौं । अर्को अध्यक्षले बोलेको सुन्न पर्दैन ? सबैलाई बोल्ने अधिकार छ । बोल्नै नदिने ? यो हुँदैन ।’

ती सदस्यका अनुसार त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिवाद गरेका थिए । ‘के हो यो ? बोल्न नदिने कुरा हुुन्छ ? सबैले कुरा राख्न पाउनु पर्छ,’ नेपालले भनेका थिए । त्यसपछि अर्का वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमले पनि सबैले बोल्न पाउनुपर्छ भन्दै प्रतिवाद गरेका थिए ।

त्यसपछि फेरि अध्यक्ष दाहालले बोल्न सुरु गरेको ती सदस्यले बताए । उनकाअनुसार दाहालले भनेका थिए, ‘बोल्न नदिनेमात्रै कुरा होइन, उहाँले यो प्रस्ताव यहाँ छलफल हुनै सक्दैन भन्नु भएको छ । साथीहरुको धारणा के हो राख्नु पर्‍यो ।’

त्यसपछि नेता नेपालले भनेका थिए, ‘किन नसक्नु ? सकिन्छ । यसैमा छलफल गरौं ।’ गौतमले दाहालको प्रस्तावमाथि छलफल सुरु भइसकेको बताएका थिए ।

‘कमरेड केपीले त्यसको छलफलमा भाग लिइसक्नु भएको छ । छलफल गर्न पाईदैन भन्ने कहाँ को कुरा हो ? छलफल गरौं,’ गौतमले भनेका थिए ।

ती सदस्यका अनुसार ईश्वर पोखरेलले एजेण्डाकै विषयमा बैठकमा भनेका थिए, ‘प्रस्तावमाथि छलफल हुनै पाउँदैन भन्ने भएन कम्युनिष्ट पार्टीमा । तर, यसरी प्रस्ताव प्रस्तुत नगरेको भए हुन्थ्यो । अब आरोप-प्रत्यारोप नगरिकन दुवै अध्यक्षहरु प्रस्तुत हुनुपर्छ ।’ अर्का सदस्य रामबहादुर थापाले प्रस्तावमाथि छलफल भइनैसकेको धारणा राखेका थिए ।

तर, महासचिव विष्णु पौडेलले भने दाहालको प्रस्ताव छलफल गर्ने कि नगर्ने भन्ने विवादमा बीचमा रहेर बोलेका थिए । ती सदस्यका अनुसार पौडेलले भनेका थिए, ‘छलफल गर्नी कि नगर्नी भन्नेबारे म केही भन्दिनँ ।’ त्यसपछि बल्ल बैठकमा औपचारिक रूपमा छलफल सुरु भएको थियो ।

प्रकाशित : मंसिर १६, २०७७ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?