कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पार्टी मुख्यालयमा ‘सुरक्षा थ्रेट’ भन्दै बालुवाटारमै बस्यो नेकपा सचिवालय बैठक

काठमाडौँ — सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भए पनि  ‘सुरक्षा थ्रेट’ देखाएर बैठक अन्तिम समयमा बालुवाटार सारिएको थियो । 

पार्टी मुख्यालयमा ‘सुरक्षा थ्रेट’ भन्दै बालुवाटारमै बस्यो नेकपा सचिवालय बैठक

यद्यपि सचिवालयका एक सदस्यले सुरुमै महासचिव विष्णु पौडेलले धुम्बाराहीको बैठक बालुवाटार बस्न अध्यक्ष पुष्पकमल दाहालसँग प्रस्ताव गरेको तर, दाहालले अस्वीकार गरेपछि ‘सुरक्षा थ्रेट’ देखाएर बैठक सारिएको बताए ।

उनका अनुसार अध्यक्ष दाहालले मंगलबार बिहान महासचिवमार्फत बैठक पार्टी कार्यालयमै बस्नुपर्ने अडान राखेका थिए । तर, केही समयपछि महासचिव पौडेलले गृह मन्त्रालयको सुझावअनुसार बैठक सार्नुपरेको सूचना अध्यक्ष दाहालसहित सचिवालयका अन्य सदस्यहरु दिएका थिए ।

यसअघि शनिबार बसेको सचिवालयले मंगलबारको बैठक धुम्बाराहीमा गर्ने निर्णय गरेको थियो । अन्तिम समयमा आएर धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटार सार्दा सचिवालय अन्य सदस्यले असन्तुष्टि जनाएका छन् ।

बैठकका कार्यसूचीमा कार्तिक २८ मा कार्यकारी अध्यक्ष दाहालले पेस गरेको प्रस्ताव र मंसिर १३ मा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको जवाफी प्रस्तावमाथि छलफल हुने भएको छ ।

प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमा उठाएका विषयबारे आजको बैठकमा दाहालले लिखित रुपमा नै जवाफ दिने सम्भावना रहेको सचिवालयका ती नेताले जानकारी दिए । तर, स्थायी कमिटीमा जाँदा आजको बैठकमा उठेका विषयहरुलाई समेत समेटेर दाहालले पूरक प्रतिवेदन नै पेस गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले दाहालको प्रस्ताव सचिवालयमा छलफल गर्न योग्य नभएको भन्दै त्यसको खारेजीको माग गरेका छन् । तर, अध्यक्ष दाहालसहित सचिवालयका बहुमत सदस्यले दुवै प्रस्तावमाथि सचिवालयमा सामान्य छलफल गरेर मंसिर १८ मा बस्ने स्थायी कमिटीमा लैजाने तयारी गरेका छन् । स्थायी कमिटीमा बहुमतले निर्णय गरेर त्यसको अनुमोदनका लागि केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी छ ।

ओली समूहले दाहालको प्रस्ताव फिर्ता लिएर साझा प्रस्ताव बनाएर मात्रै स्थायी कमिटीमा जानुपर्ने अडानमा छ । यस्तोमा आजको सचिवालय बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित : मंसिर १६, २०७७ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?