जुलुस र प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको अनुरोध- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुलुस र प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको अनुरोध

इकान्तिपुर डेस्क

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

पछिल्लो समय काठमाडौंमा विभिन्न माग राखी राजनैतिक तथा अन्य भीडभाडजन्य गतिविधि बढिरहेको भन्दै प्रशासनले त्यस्ता गतिविधि नगर्न सूचना जारी गरेको छ । भीडभाडजन्य गतिविभि सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन स्थानीय प्रशासन ऐन–२०२८, र संक्रामक रोग ऐन २०२० विपरीत हुने पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रशासनको अनुरोधविपरीत सभा, सम्मेलन, जुलुस गरी भीडभाड बढाएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय काठमाडौंलगायत मुलुकका विभिन्न जिल्लामा विभिन्न माग राखेर केही समूहले प्रदर्शन गरिरहेका छन् ।


प्रकाशित : मंसिर १६, २०७७ १२:००
प्रतिक्रिया
पठाउनुहोस्

जसले सेवा गर्दागर्दै ज्यान गुमाए 

फातिमा बानु

काठमाडौँ — कोरोना भाइरस संक्रमणका कारण दुई साताअघि वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनीलचन्द्र झा र बाल शल्यचिकित्सक डा. नारायणबहादुर थापाको कोरोना संक्रमणले मृत्यु भयो । ६२ वर्षीय डा. झा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक थिए ।

उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरभित्रको कार्डियोलोजी विभागीय प्रमुखका रूपमा कार्यरत थिए । कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका उनको पछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।

स्वास्थ्यमा जटिलता देखिएपछि रेमडेसिभिर र प्लाज्मा थेरापी समेत दिइएको थियो । पार्किन्सस, न्युरोलोजिकल लगायत अन्य स्वास्थ्य जटिलताका कारण उनलाई कोरोनाले गलाएको थियो । भारतको अल इन्डिया इन्स्टिच्युटबाट इन्टरनल मेडिसिनमा एमडी गरेका उनले नेपाल फर्केर करिब २५ वर्ष चिकित्सा अभ्यास गरेका थिए । नेपालमा मुटुरोगको उपचार सेवाको जग बसाउने विशेषज्ञहरूको सूचीमा डा. झाको पनि नाम जोडिन्छ । २०६५ सालअघि अहिलेको मनमोहन त्रिवि शिक्षण अस्पतालभित्रको मुटुरोग विभागमा खुम्चिएको थियो । उनकै पहलमा त्यो सानो विभाग अहिले मुटुरोग उपचार केन्द्रमा विस्तार भएको हो । चिकित्सा पेसाभन्दा अध्यापनमा बढी सक्रिय उनकै पालामा आईओएमबाट थुप्रै चिकित्सक उत्पादन भए ।

मुटुरोग उपचारमा नयाँ प्रविधिसँग अभ्यस्त नभए पनि नेपालमा मुटुरोग उपचार थालनी गर्ने आधार उनले बनाएको उनीसँगै चिकित्सा सेवा गरेका वरिष्ठ मुटु शल्यचिकित्सक डा. भगवान कोइरालाले बताए । ‘नेपालमा आधुनिक कार्डियोलोजीको स्थापना नहुँदा मुटुरोग पत्ता लगाउन गाह्रो थियो, विज्ञता भए पनि उपकरण थिएन,’ उनले भने, ‘त्यस्तो अवस्थामा पनि उहाँहरू बिरामी मर्कामा नपरून् भनेर पहल गर्नुहुन्थ्यो, त्यही आँटले पछि गंगालाल र मनमोहन जस्ता मुटुरोग उपचार केन्द्र खडा भएका छन् ।’

सन् १९९५ पश्चात् विदेशबाट नयाँ जनशक्ति उत्पादन भएर आएपछि उनी जस्ता अनुभवी र डा. कोइराला जस्ता नयाँ विज्ञताले मुटुरोग उपचार नेपालमै सम्भव छ भन्ने विश्वास भयो र विस्तारै उपचारका लागि विदेशिने अभ्यास घट्दै गयो । ‘नयाँ पुस्ताका चिकित्सकलाई मुटुरोग उपचारमा हात हाल्नका लागि आधार बसाउन डा. झाको योगदान बिर्सन हुँदैन,’ डा. कोइरालाले भने, ‘यो रोगसम्बन्धी नेपालमा पठनपाठन हुने, रोग पत्ता लगाउने र बिरामी भर्ना गरेर शल्यक्रिया गर्ने जस्ता अभ्यास उहाँकै पालामा सुरु भयो । जग नै नबसेको ठाउँमा यति गर्नु ठूलो योगदान हो, आँट हो ।’

कोरोना संक्रमणका कारण भेन्टिलेटरको उपचार समेत लिएका डा. थापाले ७६ वर्षको उमेर ज्यान गुमाए । नेपालको बाल शल्यचिकित्साका ‘पायोनियर’ मानिएका उनी पछिल्लो समय बसुन्धारास्थित इसान महिला तथा बाल अस्पतालका अध्यक्षका रूपमा कार्यरत थिए । कात्तिक १५ गते स्वास्थ्यमा समस्या आएपछि उनी मेडिसिटी अस्पताल भर्ना भए । लामो समयदेखि मुटुरोगको औषधि सेवन गरिरहेका कारण पनि उनलाई कोरोनासँग लड्न मुस्किल भयो । २०५० सालअघि अहिलेको कान्ति बाल अस्पताल जनरल अस्पताल थियो । त्यसलाई बाल विशेष अस्पतालका रूपमा स्थापित गरिएपछि डा. थापा पहिलो निर्देशक भए । भारतको केरलाबाट एमबीबीएस र बेलायतबाट शल्यचिकित्सामा एमएस गरेका उनले नेपालको बालचिकित्सा सेवामा जीवन बिताए ।

उनीसँगै बाल शल्यचिकित्सामा अभ्यास गरेका डा. आरपी चौधरीको भनाइमा डा. थापा व्यावसायिक चिकित्सकभन्दा पनि बालस्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउने अभियन्ता थिए । ‘समयलाई धेरै महत्व दिने भएकाले आफू पनि समयमा बाँधिएर काम गर्थे र अरूलाई पनि गराउँथे,’ उनले भने, ‘कान्ति बाल अस्पतालबाट बलपूर्वक राजीनामा दिन लगाएपछि पनि उनले आफ्नो अभियान छाडेनन् ।’

सरकारी सेवाको अवसरबाट वञ्चित गराइएपछि निजी अस्पताल (तत्कालीन इसान बाल नर्सिङ होम) स्थापना गरे । डा. चौधरीका अनुसार त्यतिखेर बालबालिकाका लागि कान्तिबाहेक कुनै विकल्प नहुने, एउटै शल्यक्रियाका लागि वर्षौं कुर्नुपर्ने र पालो पर्खिंदा ज्यान गुमाउने स्थिति थियो । ‘धेरै बालबालिकाका उपचारका लागि विदेश लगिन्थे । यसले उहाँ धेरै पिरोलिएको मैले अनुभव गर्थें,’ उनले भने, ‘त्यसैले जोखिम मोलेर इसान स्थापित गरियो, धेरै गर्न नसके पनि कान्तिको विकल्प खोज्न बच्चालाई विदेश लैजानु परेको छैन ।’

चिकित्सा पेसाबाहेक सामाजिक अभियानमा पनि उनी उत्तिकै सक्रिय थिए । जलेर उपचाविहीन भएका व्यक्तिहरूलाई सघाउन उनी नेपाल बर्न सोसाइटीमार्फत सक्रिय भएर लागेका थिए । डा. चौधरी जस्ता समकक्षीका लागि उनी अगुवा, अभिभावक र गुरु थिए ।

डा. थापाले इसान बाल अस्पतालमा महिला थपेर महिला तथा बाल अस्पतालको रूपमा खडा गरे । ‘उमेरले सात दशक पूरा गरिरहँदा पनि उहाँ नयाँ ढंगले काम गर्ने रहर गरिरहनुहुन्थ्यो, हामीलाई पनि त्यही सिकाउनुहुन्थ्यो,’ उनले भने, ‘सेवाका लागि उहाँले सरकारी र निजी स्तरबाट आफूले सकेको पहल गर्नुभयो, निजी जीवनभन्दा चिकित्सा पेसामा समर्पित हुनुहुन्थ्यो ।’ बाल स्वास्थ्य क्षेत्रमा अन्य मुलुकभन्दा धेरै पछि परेको नेपाललाई छिटै नयाँ रूपले विकास गर्नुपर्छ भनेर डा. थापा लागिरहेको उनले बताए ।

प्रकाशित : मंसिर १६, २०७७ ११:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×