३९६ पालिकामा १५ शय्याको अस्पताल !

राजेश मिश्र

काठमाडौँ — सरकारले चालु आर्थिक वर्षमा एकैसाथ ३ सय ९६ स्थानीय तहमा १५ शय्याको अस्पताल बनाउँदै छ । तीमध्ये करिब २ सय ५० पालिकामा सोमबार अस्पतालको शिलान्यास गरिँदै छ ।

३९६ पालिकामा १५ शय्याको अस्पताल !

सबै स्थानीय तहमा ५ देखि १५ शय्यासम्मका आधारभूत अस्पताल बनाउने सरकारको निर्णयअनुसार यसलाई नीति तथा कार्यक्रममा समावेश गरिएको थियो । अहिले ७ सय ५३ पालिकामध्ये १ सय ४ वटामा मात्रै विभिन्न तहका अस्पताल छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पताल नरहेका ६ सय ४९ पालिकामा आगामी दुई वर्षभित्र कम्तीमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जानकारी दिए । ‘चालु वर्षमा ३ सय ९६ पालिकामा र अन्यमा आगामी वर्ष अस्पताल निर्माणको काम सुरु हुनेछ,’ उनले भने । नीति तथा कार्यक्रममा ५ देखि १५ शय्याको अस्पताल निर्माण गरिने भने पनि सबैतिर १५ शय्याकै अस्पताल बनाउने तयारी गरिएको डा. गौतमले जानकारी दिए ।

तत्कालै ५ शय्याको अस्थायी अस्पताल सञ्चालनका लागि पालिकामा १०/१० लाख बजेट पठाइसकिएको र त्यो कार्यान्वयनको चरणमा रहेको उनले बताए । ‘अब बन्ने आधारभूत अस्पताल स्थायी प्रकृतिका हुनेछन् । ती कम्तीमा १५ शय्याकै हुनेछन्,’ उनले भने, ‘आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी टेन्डर प्रक्रिया गर्न पालिकाहरूलाई भनिएको छ ।’

पालिकालाई यस वर्ष आंशिक र आगामी वर्ष बाँकी रकम पठाउने सरकारको तयारी छ । ‘बहुवर्षीय योजना हो, यसमा नेपाल सरकारको एक खर्बभन्दा बढी खर्च हुने अनुमान छ,’ डा. गौतमले भने । पालिकामा रहेका पुराना स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्रलगायत स्थान र पूर्वाधारलाई छानेर अस्पताल बनाउने तयारी गरिएको छ । ‘भौतिक पूर्वाधार निर्माणको क्रम चलिरहन्छ, त्योसँगै चिकित्सक र नर्स पठाउने काम पनि थाल्ने तयारीमा छौं,’ डा. गौतमले भने, ‘भवन निर्माणले केही समय लिए पनि अहिले भएकै पूर्वाधारबाट पनि सक्दो छिटो अस्पताल सञ्चालन गर्ने प्रयास रहनेछ ।’

अस्पताल सञ्चालनका लागि पालिकाहरूसँग समन्वय गरेर काम गरिने उनले बताए । पालिकाले जग्गा व्यवस्थापन गरिसकेका स्थानहरूमा सोमबार र अन्यमा एक साताभित्र अस्पतालको शिलान्यास गरिने डा. गौतमले बताए ।

प्रकाशित : मंसिर १५, २०७७ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?