नेपाल–भारत उडान खुला

काठमाडौँ — आठ महिनादेखि बन्द नेपाल–भारत उडान खुलाउने निर्णय सरकारले गरेको छ । नेपाली ध्वजावाहक वायुसेवाले एउटा र भारतीय वायुसेवाले एउटा गरी दिनमा दुईवटासम्म उडान गर्ने निर्णय बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताए ।

नेपाल–भारत उडान खुला

नेपालले कोरोना संक्रमण रोकथामका लागि गत चैतदेखि नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । सरकारले गत भदौ १६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला गरे पनि भारत र चीनले अझै पनि निःसर्त नियमित अन्तर्राष्ट्रिय उडान खुला गरिसकेका छैनन् । भारतले दुई देशका नागरिकलाई मात्रै सेवा दिलाउने सर्तमा एयर–बबल अवधारणामा उडान खुलाउन नेपाललाई एक महिनाअघि प्रस्ताव गरेको थियो ।

यसै प्रस्तावका आधारमा नेपालले दिनमा दुइटासम्म नेपाल–भारत उडान गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ । ‘मन्त्रिपरिषद्को निर्णय मकहाँ प्रमाणित भएर आइसकेको छैन,’ सचिव कोइरालाले कान्तिपुरसँग भने, ‘पहिलोचोटि एउटा उडान हुनसक्छ ।’ एयर–बबल भनेको दुवै देशका वायुसेवाले आफ्ना नागरिकलाई मात्रै सर्तसहित सेवा दिने अवधारणा हो ।

मन्त्रालयका एक अर्का अधिकारीका अनुसार मन्त्रिपरिषद्को निर्णय आइतबार पर्यटन मन्त्रालयमा आउने भनिएको छ । ‘बैठकको निर्णय अन्तिममा प्रधानमन्त्रीज्यूबाट हेरफेर हुन सक्छ । कस्तो आउँछ त्यसैअनुसार मन्त्रालयले उडान सञ्चालनका लागि तयारी गराउने छ,’ ती अधिकारीले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्र लाल कर्णका अनुसार अन्तर्राष्ट्रियतर्फ दिनमा १०–१२ वटा उडान भइरहेका छन् । यो आउने र जाने गरी दिनमा २५ वटा अन्तर्राष्ट्रिय उडान हो । सामान्य अवस्थामा यो संख्या औसत ९० सम्म पुग्थ्यो ।

निमित्त महाप्रबन्धक कर्णका अनुसार अहिले जति अन्तर्राष्ट्रिय उडान भइरहेका छन्, ती उडानमा ७० प्रतिशत हाराहारीसम्म यात्रु हुने गरेका छन् ।

प्रकाशित : मंसिर १४, २०७७ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?