व्यावसायिक शिक्षालाई जोड दिएमात्र समृद्धि ल्याउन सकिन्छ : मन्त्री पोखरेल

कृष्ण थापा

नुवाकोट — शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले व्यावसायिक शिक्षालाई जोड दिएमात्र समृद्धि ल्याउने सकिने बताएका छन् । शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग र सीपलाई उत्पादनसँग जोडेरमात्र समृद्धितर्फ अगाडि बढ्न सकिने उनको भनाइ छ ।

व्यावसायिक शिक्षालाई जोड दिएमात्र समृद्धि ल्याउन सकिन्छ : मन्त्री पोखरेल

शनिबार पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय औपचारिक कार्यक्रममा सम्बोधन गर्दै प्राविधिक शिक्षा तथा व्यावसयिक तालिम परिषद् (सीटीइभीटी) का अध्यक्ष रहेका मन्त्री पोखरेलले राजनीतिक आन्दोलनमा सहभागी इमान्दार नेता स्व पोष्टबहादुर बोगटीको नाममा शिक्षालय स्थापना गर्न पाउनु गर्वको विषय रहेको बताए ।

कार्यक्रममा संघीय सांसद एवं नेकपा केन्द्रीय सदस्य हितबहादुर तामाङले शिक्षालय स्थापनाका लागि सबै जनप्रतिनिधिको उत्तिकै पहलकदमी रहनुपर्ने बताए । उनले शिक्षालय स्थापनाका लागि विदुर नगरपालिकाको महत्वपूर्ण सहयोग गरेको बताए । नेकपा नुवाकोटका सचिव एवं संघीय सांसद नारायणप्रसाद खतिवडाले शिक्षालयको स्थापनाले जिल्लावासीले घरकै रुखोपिठो खाएर प्राविधिक शिक्षा लिन पाउने बताए । उनले नुवाकोटसहित नजिकका जिल्ला धादिङ र रसुवाका स्थानीय युवाले प्राविधिक शिक्षालयबाट लाभ लिन सक्ने बताए ।

कार्यक्रममा नेकपा नुवाकोटका प्रचार विभाग प्रमुख तथा प्रदेश सांसद बद्री मैनालीले शिक्षालयको विकासका लागि सबै सांसदहरूले विकासको बजेट समेत कटौती गरी योगदान गर्न आग्रह गरेका थिए ।

विदुर नगरपालिका १ ईन्द्रायणीयघाटस्थित शिक्षालय बनाउन लागिएको छ । शिक्षा कृषि बालीविज्ञान, पशु विज्ञान सहित होटल तथा पर्यटन व्यवस्थापनसहित तीन विषयमा अहिले अध्ययन अध्यापन गराउने शिक्षालयको लक्ष्य छ । त्यसका लागि ४०/४० जनाका दरले १ सय २० जनाको कोटा सुनिश्चित गरिएको छ । तोकिएको कोटाका लागि सीटीइभीटीबाट छात्रवृत्ति रहने छ भने एक जनाका लागि नगरभित्र छात्रवृत्ति रहने गरी ४ जनाको सिट सुरक्षित गरिएको छ ।

नुवाकोट विदुर नगरपालिका ७ तुप्चेमा जन्मिएका पूर्वमन्त्री एवं तत्कालीन नेकपा (माओवादी) नेता पोष्टबहादुर बोगटीको नामबाट उक्त शिक्षालय स्थापना भएको छ । अनुमति प्राप्त भए पनि भौतिक पूर्वाधारको लागि संरचनाको अभाव छ । शिक्षालयको लागि शैक्षिक सामाग्री र फर्निचरको व्यवस्था सहिद प्रतिष्ठान बान्द्रेमार्फत उपलब्ध गराएको छ ।


प्रकाशित : मंसिर १३, २०७७ २२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?