कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चिनियाँ रक्षामन्त्री भोलि आउने

काठमाडौँ — चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर आइतबार काठमाडौं आउने भएका छन् ।

चिनियाँ रक्षामन्त्री भोलि आउने

परराष्ट्र मन्त्रालयले शनिबार बिहान जारी गरेको विज्ञप्तिअनुसार रक्षामन्त्री फेङ्हेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्नेछन् । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री फेङ्हेको भ्रमण हुन लागेको र यसले आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा आउन लागेका रक्षामन्त्री फेङ्हेले चिनियाँ दूतावासद्वारा आयोजना हुने द्विदेशीय सहयोग–समन्वयको बृहत् कार्यक्रममा सहभागिता जनाउने भएका छन् । फेङ्हे आइतबार अपराह्न काठमाडौंबाट ढाकाका लागि प्रस्थान गर्नेछन् ।

दक्षिण छिमेक भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगला काठमाडौंबाट फर्केको दुई दिनपछि उत्तरी छिमेक चीनका राष्ट्रपति सी जिनपिङका विश्वास पात्रसमेत रहेका रक्षा मन्त्री वेई नेपाल आउन लागेका हुन् ।

सैनिक प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेल चिनियाँ रक्षा मन्त्री वेईको हुन लागेको आगामी भ्रमणले नेपाली सेनाले दुई देशबीचको पारस्परिक सम्बन्धलाई थप बढावा दिने बताए । उनले उक्त भ्रमणले कोभिड–१९ को कारणले स्थगित भएका सैन्य सहयोग, सहायता र सहकार्यहरुलाई निरन्तरता दिने कामलाई अघि बढाउन मद्दत गर्ने पनि जनाए । ‘कोरोना भाइरस संक्रमणपछिको अवस्थामा विगतमा भएका सम्झौता, सहकार्य र सहायताका विषयहरुलाई कसरी उपयोग गर्ने भन्ने हुन्छ,’ उनले भने । उनले वेईको यो भ्रमणलाई चिनियाँ नेतृत्व कसरी सम्बन्ध विस्तार गर्ने भन्ने विषयको अवसरका रुपमा नेपाली सेनाले लिएको पनि प्रस्ट पारे ।

सन् २०१९ को अक्टोबरमा चीनका राष्ट्रपति सीले नेपालको भ्रमण गरेपछि चीनका उच्च तहका पदाधिकारीहरुले नेपालको भ्रमण गरेका छैनन् । कोभिड–१९ को कारणले रोकिएको भ्रमणलाई अर्को छिमेक भारते पनि लगातार तीन जना उच्च तहका पदाधिकारीहरु पठाउँदै वार्ता र संवाद गरेपछि चीनले पनि आफ्नो उच्च तहकै पदाधिकारीलाई नेपाल भ्रमणमा पठाउन लागेको हो ।

भारतबाट केही समययता मात्र बाह्य खुफिया एजेन्डी ‘रअ’ का प्रमुख समान्य गोयल, सेनाध्यक्ष मनोज मुकुन्द रनवणे र विदेश सचिव श्रृंगलाले नेपालको भ्रमण गरिसकेका छन् ।

स्टेट काउन्सिलरसमेत रहेका रक्षा मन्त्री वेईको सत्तारुढ दल नेकपाको विवाद चर्चिरहेको बेलामा भएकाले पनि अर्थपूर्ण रुपमा हेरिएको छ । पूर्व एमाले र पूर्व एमाओवादी केन्द्र मिलेर बनेको नयाँ शक्तिमा विवाद आएपछि काठमाडौंमा रहेकी चिनियाँ राजदुत होउ यान्छीले पटक–पटक नेकपाका शीर्ष नेताहरुलाई भेटेर विवाद मिलाउनको लागि ‘सहजीकरण’ गरिरहेकी छन् ।

भारत र नेपालको आन्तरिक राजनीतिभन्दा पनि पछिल्लो समय अमेरिकी सेनाको इन्डो–प्यासिफिक रणनीतिअनुसार नेपाली सेनासँग सहकार्य गरिरहेको कारण त्यसलाई कम गर्नका लागि चिनियाँ रक्षा मन्त्रीको भ्रमण हुन सक्ने एक चीननिकट विज्ञले जानकारी दिए ।

दुवै मुलुकबाट भएको र हुने उच्चस्तरीय भ्रमणबाट नेपालले दुवै मुलुकसँग सहकार्य गरेर अगाडि बढ्ने परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार भएको संसदीय सुनुवाइ समितिमा बताइसकेका छन् ।

प्रकाशित : मंसिर १३, २०७७ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?