२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

विज्ञकाे चेतावनी : जाडोयाममा कोरोनाको दोस्रो लहर आउने

अतुल मिश्र

काठमाडौँ — चिसोयाममा कोरोनाको दोस्रो लहर आउन सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन् । चिसोमा आरएनए भाइरस वृद्घि हुन सक्ने भएकाले नियमित रूपमा सही तरिकाले मास्कको प्रयोग, सामाजिक दूरी र हातको सरसफाइमा ध्यान दिन उनीहरूको सुझाव छ । नेपालमा कोरोनाको पहिलो लहर नसकिँदै दोस्रो लहरमा संक्रमण बढ्न सक्ने उनीहरूको विश्लेषण छ ।

विज्ञकाे चेतावनी : जाडोयाममा कोरोनाको दोस्रो लहर आउने

‘नेपाल र उत्तरी भारतमा दोस्रो लहर जाडोयाममा आउन सक्ने उच्च सम्भावना छ । युरोपमा आगामी वर्ष तेस्रो लहर आउने जोखिम औंल्याइँदै छ,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘अहिले मुलुकमा देखिएको पहिलो लहर घटेर तल पुगेको छैन तर डिसेम्बरदेखि फेब्रुअरीसम्म दोस्रो लहर आउने सम्भावना उच्च छ ।’

नेपालमा सुरुवाती अवस्थामा क्वारेन्टाइनमा रहेका र विदेशबाट आएकाहरूमा आयातित संक्रमण थियो । हाल कोरोनाको पहिलो लहर आएर संक्रमण विस्तार भइरहेको विज्ञ बताउँछन् । डा. पाण्डेका अनुसार हाल नेपालमा संक्रमण घट्दो क्रममा देखिए पनि मृत्यु बढ्दो क्रममा छ । पीसीआर परीक्षणसमेत पहिलेको दाँजोमा कम छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसै साता चेतावनी जारी गर्दै दक्षिण र पश्चिम एसियाली मुलुकमा कोरोनाको दोस्रो तरंग आउने भएकाले सावधान रहन भनेको छ । डब्लूएचओका पूर्वी भूमध्यसागरीय क्षेत्र निर्देशक अहमद अल मन्धारीले दक्षिण पश्चिम एसियाली मुलुकलाई दोस्रो लहरको सामना गर्न तयार हुन भनेका छन् । विज्ञका अनुसार रोकथामको उचित उपाय नअपनाउँदा कोरोना संक्रमण डरलाग्दो गरी तीव्र रूपमा फैलिन्छ । संक्रमणको संख्या एक सातामै आठ गुणासम्म बढ्न सक्छ । आगामी सात दिनमा ४० गुणाको दरले फैलिन सक्ने, तेस्रो साता तीन सय र चौथो साता हजार गुणाले फैलिने विज्ञहरूले अनुमान गरेका छन् ।

‘जाडोयाममा संक्रमणको थप जोखिम भएकाले यसबाट बच्न अतिरिक्त स्वास्थ्य सावधानी अपनाउनुको विकल्प छैन,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सलटेन्ट डा. अनुप बाँस्तोलाले भने, ‘कोभिडविरुद्घको खोप आउन समय लाग्ने भएकाले स्वास्थ्य सावधानी अपनाएर जोखिम समूहमा रहेकालाई सुरक्षित राख्नुपर्छ ।’ हाल मधुमेह भएका र बूढापाकामा बढी जटिलता रहेको बताउँदै उनले थपे, ‘हामी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिरहेका छैनौं । घरबाहिर ननिस्केका ९० वर्षीय हजुरबुबासमेत संक्रमित भएर जटिल अवस्थामा अस्पताल पुगिरहेका छन् ।’

विज्ञहरूले कोरोनाविरुद्धको खोप नआउन्जेल जाडोयाममा मौसमी रुघाखोकी, निमोनिया आदिको खोप लगाउनु फाइदाजनक हुन सक्ने औंल्याएका छन् । ‘रुघाखोकीबाट जोगिन जे–जे गर्ने हो त्यही गरेर कोभिडबाट बच्नुपर्छ,’ डा. पाण्डे भन्छन्, ‘संक्रमण घट्दै गयो, अब त खोप आइसक्यो भनेर ढुक्क बस्ने अवस्था छैन ।’

देशभर २ लाख २९ हजार ३४३ जना संक्रमित भएका छन् भने १ हजार ४ सय ३५ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

कसरी सावधानी अपनाउने ?

मास्क लगाउने

कोरोना संक्रमणबाट जोगिन मास्कको उचित उपयोग अत्यन्त प्रभावकारी देखिएको छ । मास्क नलगाई कुराकानी गर्दा मुखबाट निस्किने थुकको छिटा करिब ६ फिटसम्म जान सक्छ । मास्क लगाएको अवस्थामा भने दुई–तीन इन्चभन्दा टाढा जाने नदेखिएकाले संक्रमणको जोखिम मास्कले करिब ९० प्रतिशतसम्म घटाउँछ ।

दूरी कायम राख्ने

अर्को व्यक्तिसँगको न्यूनतम एक मिटरको दूरी कायम राखे संक्रमित हुनबाट जोगिन सकिन्छ । स्वस्थ देखिने व्यक्तिसँग समेत दूरी कायम राख्नुपर्छ ।

हात सफा राख्ने

हाम्रो शरीरमा धेरैजसो रोग प्रवेश गर्ने माध्यम नै फोहोर हात हो । कोरोना भाइरस मुख्य रूपमा मुख र नाकको माध्यमले शरीरमा प्रवेश गर्छ । हातले बारम्बार मुख छुने, नाक कोट्याउने बानी गर्नु हुँदैन । समय–समयमा साबुनपानीले हात धुने वा सेनिटाइज गर्ने बानीले संक्रमण हुनबाट जोगाउँछ ।

खुला ठाउँमा बस्ने

संक्रमणबाट जोगिन घर, कार्यस्थल तथा बाहिर कतै बस्दा हावाको ओहोरदोहोर हुने अवस्था सुनिश्चित गर्नुपर्छ । बन्द कोठामा एक जना संक्रमितबाट धेरैमा संक्रमण हुने जोखिम रहन्छ । सुत्ने, बस्ने, काम गर्ने कोठामा निरन्तर स्वच्छ हावाको ओहोरदोहोर हुने व्यवस्था मिलाउनुपर्छ ।

प्रकाशित : मंसिर १३, २०७७ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?