भारतीय अधिकारीको भ्रमणमा ‘चिनियाँ छाया’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय अधिकारीको भ्रमणमा ‘चिनियाँ छाया’

भारतीय मिडियाले काठमाडौंले सम्बन्ध सुधार्न खोजेकैले श्रृंगलाको भ्रमण सम्भव भएको भनेर प्रचार गरे पनि यथार्थमा नेपालमा चिनियाँ चासो र प्रभाव बढ्ने भयले दिल्ली काठमाडौंसँग जोडिन चाहेको देखिन्छ ।
देवेन्द्र भट्टराई

काठमाडौँ — आवरणमा चिसिएको सम्बन्ध सुधार्नकै लागि दिल्लीले उच्चस्तरीय ‘डेलिगेसन’ काठमाडौंमा निरन्तरजसो पठाएको देखिए पनि विज्ञहरूले चीनको चिन्ताले यस्ता भ्रमणहरू बाक्लिएर गएको प्रतिक्रिया दिएका छन् । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणलाई कतिपय भारतीय मिडियाले दिल्लीसँग काठमाडौंले सम्बन्ध सुधार्न खोजेकैले भ्रमण सम्भव भएको भनेर प्रचार गरे पनि यथार्थमा नेपालमा चिनियाँ चासो र प्रभाव बढ्ने भयले दिल्ली काठमाडौंसँग जोडिन चाहेको देखिन्छ ।

‘विशेषतः भारतले प्रत्यक्ष चाहेको संशोधनको सुझाव पन्छाएर ५ वर्षअघि नेपालले संविधान जारी गर्दा र गत जेठमा नेपालको नयाँ राजनीतिक नक्सामा संसद्को सर्वसम्मत सार्वजनिक भएपछि प्रभाव र प्रभुत्वको अर्थमा भारत केही गलेको थियो,’ नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का कार्यकारी निर्देशक प्राध्यापक मृगेन्द्रबहादुर कार्कीले कान्तिपुरसँग भने, ‘त्यसमाथि उत्तरी छिमेकीको प्रभाव र पहुँचको बढ्दो डिग्रीसामु चलनचल्तीको भाषामा ट्रस्टलाई रिस्टोर गर्न दिल्ली काठमाडौं धाउन थालेको देखिन्छ ।’

संयोगवश, भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शुक्रबार नेपाल–भारत सम्बन्धलाई लिएर दिएको प्रवचनमा नेपालसँगको सम्बन्धमा ‘चार खम्बा’ भनेर विकास सहयोग, दह्रो सम्पर्क सञ्जाल, विस्तारित संरचना र आर्थिक परियोजनाहरूको चर्चा गरेपछि छिमेकसँगको प्रभाव र पहुँच विस्तारमा भारतले पनि चीनकै सिको गरेको हो कि झैं देखिएको उनले बताए । ‘गत वर्ष अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा पनि बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) तथा हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जालमार्फत यस्तै ‘सहकार्य खम्बा’ बारे बहस सुरु भएको थियो,’ उनले भने, ‘सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माणलगायतका योजना र बीआरआईमा जोडिएका ९ वटा परियोजना पनि यस्तै सम्पर्क सञ्जाल र आर्थिक परियोजनाका वरपर रहेका छन् ।’

भारतीय विदेश सचिवले गरेका भेटवार्ताहरूमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा परराष्ट्र सचिव भरतराज पौड्यालसमेतले नेपालको नयाँ राजनीतिक नक्सा र भारतसँगको संवादहीन स्थितिबारे प्रत्यक्ष–परोक्ष जानकारी गराएका थिए । यसरी बारम्बार आएका विषयलाई ध्यानाकर्षणमा लिन लिखित विज्ञप्तिमार्फत सम्बोधन गर्दै भारतले ‘नेपाल–भारत सीमा सम्बन्धमा छलफल भएको’ भनेर सांकेतिक वाक्य मात्रै प्रयोग गरेको देखिन्छ ।

‘काठमाडौंसँग दिल्लीले सम्बन्ध सुधार्न खोजेको स्पष्ट छनक देखिन्छ तर प्रचार गरिएजस्तै त्यति सहज स्थिति छैन,’ भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले भने, ‘द्विदेशीय सम्बन्ध सुधारमा दोहोरो प्राथमिकता र निरन्तरता जरुरी देखिन्छ । सम्बन्धमा चिसोपना कायमै रहेका बेला भएको अहिलेको भ्रमण यसका निम्ति सुरुवाती चरण मात्रै हो ।’

कूटनीतिक मामिलाका जानकार दिनेश भट्टराईले काठमाडौंले दिल्लीलाई वार्ता र संवादका लागि बोलाएको झन्डै एक वर्ष भइसकेको उल्लेख गर्दै भने, ‘तर हामीले बोलाएकै आधारमा भारत संवाद र वार्ताका लागि आएको भन्न मिल्दैन ।’ कोरोना महामारी नियन्त्रणपछि मात्रै वार्ता गर्ने भनेर पन्छिरहेको भारत एकाएक कुराकानीमा किन आयो भन्ने सवाल विचारणीय रहेको उनले बताए । ‘यो दिल्लीको आवश्यकता हो । नेपाललाई सधैं इग्नोर गरेर सम्भव नहुने भारतले बुझेरै सकारात्मक छलफलको स्थिति अहिले आएको हो,’ उनले भने ।

त्यसमाथि भारत स्वयं प्रभाव र पहुँचका आधारमा दक्षिण एसियामै कमजोर हुँदै गएपछि र त्यसमाथि दक्षिण एसियासहित सिंगो यो क्षेत्रमै चिनियाँ प्रभाव बढ्दो देखिएपछि भारतले सम्बन्ध सुधारमा नयाँ रणनीति अंगीकार गरेको स्पष्ट देखिने भट्टराईले बताए । ‘एउटा कुरा के स्पष्ट भइसक्यो भने अब नेपालसहितका दक्षिण एसियाली मुलुक, अफ्रिका वा युरोपमा समेत चिनियाँ प्रभाव–पहुँचलाई रोक्न सकिने स्थिति छैन । बरु आफ्नै नीति तथा सहकार्यको उपायले यो प्रभावलाई कम गर्न सकिएला,’ उनले भने ।

नियमित तालिकामा अथवा आकस्मिक रूपमा सम्बन्ध सुधारकै लागि राजनीतिक सन्देश लिएर भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल र भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे बितेको एक महिनामा काठमाडौं भ्रमणमा आइसकेका छन् । भारतीय सेना प्रमुख नरवणे नेपाल भ्रमणमा आउनुभन्दा एक साताअघि रक्षामन्त्रीबाट हटाइएका ईश्वर पोखरेलको सन्दर्भलाई उल्लेख गर्दै दिल्लीका पत्रपत्रिकाले ‘भारतीय सेना प्रमुखविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएकाले पोखरेललाई भारतसँगको सम्बन्ध सहजीकरणका लागि पदबाट हटाइएको’ भन्ने टिप्पणीलाई विदेश सचिव श्रृंगलाको नेपाल भ्रमणका बेला प्रचारमा ल्याएका थिए ।

‘अर्कातिर, विदेश सचिव श्रृंगलाले जे–जसरी हामीले युवाको आकांक्षालाई पूरा गर्न आवश्यक छ भनेर निकै जोड दिँदै धारणा राख्नुभएको छ, यसले भारत सरकारले नेपाल मामिलामा सम्बोधन गर्न चाहेको प्रभाव–पहुँचको नयाँ नीति झल्कन्छ,’ सिनासका कार्यकारी निर्देशक कार्कीले भने, ‘किनभने नाकाबन्दीका बेला होस् वा अरू राजनीतिक चरण, भारतविरोधी मानसिकता लिएर जे–जसरी हाम्रो युवा पुस्ता हुर्किरहेको छ, यसलाई सम्बोधन नगरी नेपालसँगको सहकार्य र सुमधुर अवस्था कल्पन सकिन्न भन्ने पनि भारतले बुझेको देखिन्छ ।

संवादहीनता तोड्दै फर्किए श्रृंगला

भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले भारत–नेपाल सम्बन्ध दुई देशका जनताको हितमा रहेको बताएका छन् । नेपालको दुईदिने भ्रमणमा रहेका श्रृंगलाले शुक्रबार बिहान ‘द एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स’ ले आयोजना गरेको कार्यक्रममा बोल्दै भावी पुस्ताप्रति जवाफदेही हुनुपर्ने बताए ।

‘घनिष्ठ मित्र र छिमेकीका रूपमा हामी सँगै काम गर्न आवश्यक छ, हामीले हाम्रा युवाको आकांक्षालाई पूरा गर्न आवश्यक छ, तसर्थ भारत–नेपाल सम्बन्ध दुई देशका जनताको हितमा छ,’ उनले भने । उनले भारतमा प्रधानमन्त्री मोदी सन् २०१४ मा सरकारमा आएपछि १७ वर्षपछि माथिल्लो स्तरमा भ्रमण भएको र छिमेक सम्बन्धलाई अगाडि बढाएर लगेको बताए ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा शक्तिमा आएदेखि नै छिमेक सम्बन्धलाई पहिलो प्राथमिकता दिएको प्रस्ट पारे । उनले भने, ‘उहाँ (मोदी) ले दुवै पटक शपथ लिँदा आफ्ना छिमेका सदस्यहरूलाई पनि बोलाउनुभएको थियो ।’ श्रृंगलाले नेपालको जलविद्युत् दक्षिण एसियामै क्लिन इनर्जीका लागि गेम चेन्जर हुने बताए । उनले भारत र नेपालबीचको सम्बन्धका चारवटा खम्बा (विकास सहायता, अझ मजबुत कनेक्टिभिटी, बृहत् पूर्वाधार र आर्थिक परियोजनाहरू) रहेको उल्लेख गर्दै ती क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताए ।

श्रृंगलाको भ्रमणबाट झन्डै एक वर्षदेखि सीमा विवादका कारण हुन नसकेको कूटनीतिक संवादहीनता तोडिएको छ । भ्रमण क्रममा उनले दुई मुलुकले कूटनीतिक संवादको बाटो खोल्दै नेपाल–भारतबीच रहेको सीमा समस्यालाई कूटनीतिक संवादमार्फत समाधान गर्ने प्रस्ट पारेका छन् । उनले आफ्ना समकक्षी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस र मधेसका नेताहरूसँगको भेटवार्तामा भारतले पनि वार्तामार्फत समस्याको समाधान खोजेको सन्देश दिए ।

प्रकाशित : मंसिर १३, २०७७ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्

नेचर गाइड भए बेरोजगार

कोरोना संक्रमणका कारण सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित बन्यो । पर्यटकीय स्थल आसपास बस्ने स्थानीय यसबाट प्रत्यक्ष प्रभावित बने । नेचर गाइड पनि मर्कामा परे ।
भवानी भट्ट

कञ्चनपुर — बाइस वर्षीय दीपेन्द्रप्रसाद भट्ट स्नातक तहमा अध्ययनरत छन् । पढाइसँगै उनले नेचर गाइडको पनि काम गर्छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै भीमदत्त नगरपालिका–१४ नयाँ कटान घर भएका उनले गाइडकै काम गरेर पढाइ र घरको खर्च चलाउने गरेका थिए । सानोतिनो खर्चका लागि कुनै समस्या थिएन । झन्डै एक वर्षयता भने भट्टलाई घर खर्च चलाउनै समस्या भएको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित बन्यो । पर्यटकीय स्थल आसपास बस्ने स्थानीय यसबाट प्रत्यक्ष प्रभावित बने । त्यसकै उदाहरण हुन् भट्ट । ‘बिहान कलेज जान्थें, दिनमा पर्यटक घुमाउन निकुञ्ज पस्थें,’ भट्टले भने, ‘महिनामा १०/१५ हजार आम्दानी हुन्थ्यो, तर अहिले सबै रोकिएको छ ।’

भट्ट ७ वर्षदेखि शुक्लाफाँटा निकुञ्जमा स्वदेशी र विदेशी पर्यटक घुमाइरहेका छन् । उनले नेचर गाइडको काम सुरु गर्दा शुक्लाफाँटामा पर्यटक निकै कम आउँथे । पछिल्लो केही वर्षयता निकुञ्जमा पर्यटक आउने क्रम बढेसँगै उनको आम्दानी पनि वृद्धि हुँदै गएको थियो । यस वर्ष त झन् भ्रमण वर्षकै रूपमा घोषणा भएकाले पर्यटकको चाप अझै बढ्ने उनको अपेक्षा थियो । त्यहीअनुसार आम्दानी पनि हुने अनुमान गरेका थिए ।

‘अहिले त पर्यटकका लागि मुख्य सिजन हो, विगतका वर्ष जस्तै भए पनि हामीलाई भ्याइनभ्याइ हुन्थ्यो,’ भट्टले भने, ‘अहिले पर्यटक नआएर बेरोजगार बनेका छौं ।’ उनका अनुसार पछिल्लो पटक निकुञ्जमा जंगल सफारीलगायत गतिविधिहरू खुला गरेपछि आन्तरिक पर्यटक फाटफुट रूपमा आउन थालेका छन् । तर तिनले मात्रै गुजारा चलाउन सकिने अवस्था नरहेको उनी बताउँछन् । भीमदत्त नगरपालिका–१४ वनकट्टीका वीरेन्द्र खाती पनि नेचर गाइड हुन् । शुक्लाफाँटासँगै बर्दिया, चितवनलगायत क्षेत्रमा उनले पर्यटकहरू घुमाउने गरेका छन् । लकडाउन सुरु भएदेखि उनी पनि घरमै थन्किएका छन् । पछिल्लो पटक उनले वैकल्पिक व्यवसाय पनि सुरु गरेका छन् । ‘गाइडको काम एक वर्षदेखि ठप्प छ,’ खातीले भने, ‘अब घर परिवारको खर्च चलाउन पनि वैकल्पिक उपाय खोज्नुपर्ने भएको छ ।’ खातीले गाउँमै रहेको आफ्नो जमिनमा पोखरी निर्माण गरेर माछापालन सुरु गरेका छन् । उनी आफैं माछापालन व्यवसायमा जुटेका छन् । ‘पर्यटन क्षेत्र पुरानै अवस्थामा आउन त निकै समय लाग्न सक्छ,’ शुक्लाफाँटा नेचर गाइड एसोसिएसनका अध्यक्षसमेत रहेका खातीले भने, ‘गाइडसँगै वैकल्पिक व्यवसाय पनि सुरु गर्नुपर्ने बाध्यता भयो ।’ उनका अनुसार यस क्षेत्रमा सक्रिय रूपमा लागेका अन्य गाइडहरूले पनि वैकल्पिक पेसा अपनाउन थालेका छन् । कतिपय त भारततिरै लागिसकेका छन् ।

शुक्लाफाँटामा गाइडहरूले व्यावसायिक रूपमा काम गर्न थालेको सन् २००३ देखि हो । राष्ट्रिय प्रकृति संरक्षण कोषले नेचर गाइडको तालिम सञ्चालन गरेपछि यस क्षेत्रका युवाहरू पनि संरक्षणसँगै व्यवसायमा सक्रिय बनेका हुन् । हालसम्म २५० बढीले गाइडसम्बन्धी तालिम लिए पनि अहिले २०/२५ जना मात्रै सक्रिय रहेका छन् ।

‘आरक्षबाट निकुञ्ज बनेपछि गाइडहरू पनि आकर्षित हुन थालेका थिए,’ एक दशकदेखि नेचर गाइडको काम गरिरहेका कुमकरण ठाकुरले भने, ‘कोरोनाले फेरि पुरानै अवस्थामा फर्कायो ।’

ठाकुरका अनुसार पछिल्लो समय निकुञ्जमा चरा अवलोकनका लागि बाह्य पर्यटक निकै आकर्षित हुन थालेका थिए । दिनभरि जंगल डुलेर चरा हेर्न लालायित थिए । जसका कारण गाइडहरूले पनि काम पाइरहेका थिए ।

तर अहिले चरा अवलोकनका लागि आउने पर्यटकको संख्या शून्य छ । फाटफुट रूपमा आउने आन्तरिक पर्यटकहरूले समेत न्यून ज्याला दिने गरेको उनले बताए । शुक्लाफाँटामा पर्यटकलाई घुमाएबापत गाइडहरूले आधा दिनको १ हजार र दिनभरिको २ हजार शुल्क तोकेका छन् । कोरोनाको जोखिम कम भएपछि पर्यटन प्रवर्द्धनका लागि विभिन्न गतिविधिहरू गर्ने शुक्लाफाँटा नेचर गाइड एसोसिएसनको योजना छ ।

कोरोना संक्रमणका कारण बेरोजगार बनेका नेचर गाइडहरू । तस्बिर : भवानी/कान्तिपुर

प्रकाशित : मंसिर १३, २०७७ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×