मास्क निर्यात उद्योगी उत्साहित

नुमा थाम्सुहाङ

काठमाडौँ — आयातित वस्तुकै सूची लामो हुँदै आएको नेपालले कोरोना महामारीपछि फेस मास्क निर्यात पनि गरिरहेको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको पहिलो चार महिनामा ३ करोड २६ हजार रुपैयाँ बराबरको मास्क निर्यात भएको छ ।

मास्क निर्यात उद्योगी उत्साहित

भन्सार विभागका अनुसार २ करोड ९५ लाख १७ हजार रुपैयाँ बराबरको ५ लाख ७९ हजार ३ सय ६० थान र ५ लाख ९ हजार रुपैयाँ बराबरको १ सय ६० केजी फेस मास्क निर्यात भएको हो । नेपालमा उत्पादित फेस मास्क निर्यात हुने देशहरूमा भुटान, फ्रान्स, जर्मनी, जापान, बेलायत, यूएई र अमेरिका छन् । मास्क निर्यात हुन थालेपछि सम्बद्ध उद्योगी उत्साहित छन् । गुणस्तरीय उत्पादनका लागि उनीहरूले आवश्यक मेसिन झिकाउने क्रम पनि बढेको छ ।

भदौमा १ करोड ८५ लाख ४ हजारको २ लाख ६७ हजार ३ सय थान, असोजमा ४ लाख १५ हजारको ११ हजार २ सय थान र कात्तिकमा १ करोड ५ लाख ९७ हजार रुपैयाँको ३ लाख ८ सय थान मास्क निर्यात भएको विभागको तथ्यांक छ । साउनमा भने थानको फेस मास्क निर्यात भएन । उक्त महिना ५ लाख ९ हजार रुपैयाँ बराबरको १ सय ६० केजी फेस मास्क मात्र निर्यात भएको छ ।

विभागले चालु आर्थिक वर्षदेखि मात्र मास्कको तथ्यांक राख्न थालेको हो । कोभिड–१९ को महामारीपछि मास्कको व्यापार देखिएकाले तथ्यांक राख्न थालिएको विभागका सूचना अधिकारी शिशिर घिमिरेले जानकारी दिए । ‘यसमा महसुललगायतका सुविधा दिनुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘कोभिड–१९ पछि यसको तथ्यांक चाहिन्छ भनेर यो वर्षदेखि छुट्टै एचएस कोड राखेका छौं ।’

नेपालमै उपलब्ध हुने खालका मास्कहरू निर्यात भइरहेको उनले बताए । ‘सरकारले बीचमा अघोषित रूपमा मास्क निर्यातमा रोक लगाएको थियो । अहिले खुला भइसकेको छ,’ उनले भने ।

केएन–९५ र डिस्पोजेबल मास्क निर्यात भइरहेको केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेश घिमिरेले जानकारी दिए । नेपालका १/२ वटा कम्पनीबाहेक अन्यले निर्यात नगरेको उनले बताए । विराटनगरको न्यु तिरुपति बालाजी मास्क उद्योगका सञ्चालक सरोज खड्काले दैनिक १ लाख ५० हजार थान सर्जिकल मास्क उत्पादन गरिरहेको जनाए ।

कोभिड–१९ को बीचमा उनले मास्क उद्योग सञ्चालनमा ल्याएका हुन् । ‘नेपालबाट बाहिर पठाइने मास्क अन्तर्राष्ट्रिय गुणस्तरको तीन तह भएको हुन्छ, बीचमा मेलबोन हुन्छ,’ उनले भने । नेपालमा उत्पादन हुने मास्कको गुणस्तरबारे थाहा पाउन जाँच गर्ने ल्याब आवश्यक पर्ने खड्काको भनाइ छ ।

यी चार महिनामा २ सय ८ थान फेस मास्क बनाउने मेसिनसमेत आयात भएको छ । चीनबाट १ सय ८६ र भारतबाट २२ थान मेसिन आयात भएको भन्सार विभागको तथ्यांकमा छ । १७ करोड १२ लाख ९७ हजार रुपैयाँ बराबरको मेसिन भित्रिएको हो ।

यसबाट विभागले ५५ लाख ७६ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । ‘सिलाउने साधारण खालको मेसिनमा सहुलियत छैन,’ विभागका सूचना अधिकारी घिमिरेले भने, ‘विशेष प्रकारको मेसिनमा ४ प्रतिशत सहुलियत छ ।’ उद्योग विभागका अनुसार कोभिड–१९ पछि दुई उद्योग जगदम्बा मास्क प्रालि र हेल्थ एन्ड हाइजिन प्रालिले मास्क उत्पादनका लागि स्वीकृति लिएका छन् ।

३२ करोड ५६ लाखको आयात

नेपालबाट मास्क निर्यातको परिमाणभन्दा आयात अझै पनि निकै उच्च छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा ३२ करोड ५६ लाख १५ हजार रुपैयाँ बराबरको ५ करोड ६६ लाख १४ हजार ७ सय ३९ थान र २७ हजार १ सय ७१ केजी फेस मास्क आयात भएको छ ।

साउनमा ७ करोड ७२ लाख ७० हजार, भदौमा ७७ लाख ६६ हजार, असोजमा ११ करोड ५ लाख ५८ हजार र कात्तिकमा ६ करोड ९८ लाख ४२ हजार रुपैयाँको मास्क भित्रिएको हो । तथ्यांकअनुसार साउनमा ७ करोड ५७ लाख ११ हजार रुपैयाँ बराबरको २७ हजार १ सय ७१ केजी फेस मास्क आयात भएको छ । यसबाट विभागले ५ करोड ८२ लाख ९४ हजार रुपैयाँ भन्सार महसुल असुली गरेको छ ।

चीन, भारत, जापान, इटाली, बंगलादेश, अफगानिस्तान, थाइल्यान्ड, हङकङ, जर्मनी, फ्रान्स, इन्डोनेसिया र मलेसियालगायत देशहरूबाट नेपालमा मास्क आयात हुने गरेको छ ।

प्रकाशित : मंसिर १३, २०७७ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?