कश्मीरमा भारतीय सेनाका नेपाली मारिए- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कश्मीरमा भारतीय सेनाका नेपाली मारिए

दुर्गालाल केसी

दाङ — भारतको जम्मु–कश्मीरमा भएको गोली हानाहानमा शुक्रबार भारतीय सेनामा कार्यरत दाङको तुलसीपुरका एक युवकको मृत्यु भएको छ ।

रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा गोली लागेर सेनाका नायक प्रेमबहादुर खत्री र राइफलम्यान सुखवीर सिंहको मृत्यु भएको हो । पाकिस्तानतर्फबाट चलेको गोली लागेर गम्भीर घाइते दुवैको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

भारतको सीमा सुरक्षामा खटिँदा मारिएका ३० वर्षीय खत्री तुलसीपुर–९ बेलुवाका हुन् । कश्मीरबाट शनिबार बिहान लखनउ आइपुग्ने छोराको शव लिन पिता लालबहादुर शुक्रबारै त्यसर्फ गएको बेलुवा प्रहरी चौकीका इन्चार्ज असई प्रदीप खड्काले बताए । प्रेमका भाइ लोकराज चार वर्षदेखि अमेरिकामा छन् । उनी भने भारतीय सेनाका भुपु सुबेदार पिताकै पथ पछ्याएर १३ वर्षअघि भर्ती भएका थिए । घरमा आमाबुबा, श्रीमती, ७ वर्षीय छोरी र ५ वर्षीय छोरा छन् ।

गत चैतअघि दुई महिने बिदामा आएर घर बसेर गएका उनी नियमित फोन सम्पर्कमा रहेको र बिहीबार राति मात्रै भिडियो कलमा कुराकानी भएको छिमेकी तुलसी केसीले बताए । ‘परिवारका सबै जनासँग घरव्यवहारको कुरा भएको थियो,’ उनले भने, ‘यस्तो होला भन्ने केही थाहा थिएन ।’ घटनाका बारेमा ‘लाइन अफ कन्ट्रोल’ मा शान्ति कायम गर्ने समझदारी उल्लंघन गर्दै पाकिस्तानतर्फबाट गोलाबारी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित : मंसिर १३, २०७७ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्

रुकुम पश्‍चिममा जन्ती बोकेको जिप दुर्घटना, चार जनाको मृत्यु

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका–७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । 

आठबीसकोट २० घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजेतर्फ जाँदै गरेको रा१ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजे दुर्घटना हुँदा चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा आठबीसकोट–८ का अन्दाजी ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको डिएसपी केसीले बताए ।

रोकेर यात्रु ओरालिरहेको गाडी एक्कासी पछि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अघिल्लो सिटमा बसेकालाई ओरालेर पछाडीका यात्रु झार्ने क्रममा जिप पछि सरेको बताइएको छ । पछाडि बसेकाहरु झर्नै नपाई दुर्घटनामा परेका हुन् । पछि सरेर जिप एक सय मिटर तल पुगेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिप चालक भने फरार छन् ।

प्रकाशित : मंसिर १२, २०७७ २२:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×