रुकुम पश्‍चिममा जन्ती बोकेको जिप दुर्घटना, चार जनाको मृत्यु- समाचार - कान्तिपुर समाचार

रुकुम पश्‍चिममा जन्ती बोकेको जिप दुर्घटना, चार जनाको मृत्यु

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका–७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । 

आठबीसकोट २० घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजेतर्फ जाँदै गरेको रा१ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजे दुर्घटना हुँदा चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा आठबीसकोट–८ का अन्दाजी ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको डिएसपी केसीले बताए ।

रोकेर यात्रु ओरालिरहेको गाडी एक्कासी पछि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अघिल्लो सिटमा बसेकालाई ओरालेर पछाडीका यात्रु झार्ने क्रममा जिप पछि सरेको बताइएको छ । पछाडि बसेकाहरु झर्नै नपाई दुर्घटनामा परेका हुन् । पछि सरेर जिप एक सय मिटर तल पुगेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिप चालक भने फरार छन् ।

प्रकाशित : मंसिर १२, २०७७ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्

पत्रकार पेन्सनका लागि महासंघलाई १० लाख

कान्तिपुर संवाददाता

हेटौंडा — हेटौंडा उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघ मकवानपुरले सञ्चालन गर्न लागेको ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रमका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।

मेयर हरिबहादुर महतले महासंघको मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईंलाई शुक्रबार १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । वर्षौंसम्म पत्रकारिता गरेर अवकाश लिएका पत्रकारका लागि पेन्सनको व्यवस्था गर्न महासंघले कार्यविधि बनाएर कार्यसमितिको बैठकमा छलफल चलाएको छ । कार्यविधिलाई साधारणसभाबाट पारित गर्ने तयारी छ ।

उमेर छउन्जेल काम गर्ने, बुढेसकालमा दैनिक छाक टार्न र परिवार चलाउन समस्या हुने भएकाले ज्येष्ठ पत्रकारलाई पेन्सनको कार्यक्रम ल्याउन लागिएको अध्यक्ष हुमागाईले बताए ।

प्रकाशित : मंसिर १२, २०७७ २१:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×