५० शय्याको अस्पताल एम्बुलेन्सविहीन

१ लाख ५० हजार तिर्न नसक्दा अस्पतालको एम्बुलेन्स २ वर्षदेखि नेपालगन्जमा थन्कियो 
बिरामीलाई अस्पताल पुर्‍याउन डोको र स्ट्रेचरकै भर 
भीमबहादुर सिंह

जाजरकोट — कात्तिक पहिलो साता भेरी नगरपालिका–३ का कर्णबहादुर घर्ती मोटरसाइकल दुघर्टना परे । दुर्घटनामा घाइते भएका उनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज रिफर गरियो । तर गम्भीर घाइते भएका उनले एम्बुलेन्स पाउन सकेनन् । पछि आफन्तले निजी गाडी १५ हजार रुपैयाँमा भाडामा लिएर उनलाई नेपालगन्ज पुर्‍याए ।

५० शय्याको अस्पताल एम्बुलेन्सविहीन

दुई महिनाअघि कुशे गाउँपालिका ८, चौरीखेतका प्रेमबहादुर सिंह स्थानीयको कुटपिटबाट गम्भीर बने । उनलाई पनि जाजरकोट अस्पतालले नेपालगन्ज रिफर गर्‍यो । उनले पनि सिंहकै जस्तो नियति भोग्नुपर्‍यो । ‘धन्न मेरो ज्यान गएन,’ उपचारपछि दुई साताअघि घर फर्किएका उनले भने, ‘एम्बुलेन्स नहुँदा मजस्तो दु:ख भोग्नेहरु कति छन् कति ।’

अस्पतालमा एम्बुलेन्स नहुँदा अन्यत्र रिफर भएका बिरामी महँगोमा निजी गाडी रिजर्भ गर्न बाध्य छन् । एक महिनाको अवधिमा अस्पतालले १५ जनालाई रिफर गरेको छ । एम्बुलेन्स नहुँदा गम्भीर अवस्थाका विरामीलाई जिल्ला बाहिर पठाउन मुस्किल भएको स्वास्थ्य सेवा कार्यालय, उपचार शाखाकी नर्सिङ इन्चार्ज नेप्लिजा पुनमगरले बताइन् । ‘तत्काल एम्बुलेन्स चाहियो भनेर बिरामीका अभिभावक कराउँछन्,’ उनले भनिन्, ‘एक महिना अघिसम्म रेडक्रसको एम्बुलेन्सको भर थियो, त्यो पनि बिग्रिएपछि बिरामी थप सास्ती भोग्न बाध्य छन् ।’ उनका अनुसार जाजरकोट अस्पतालको एम्बुलेन्स बिग्रिएर दुई वर्षदेखि नेपालगन्जको कल्लु ग्यारेजमा थन्किएको छ । ६ वर्षअघि बिग्रिएको अर्को एम्बुलेन्स पनि अस्पताल छेउको जंगलमा बेवारिसे बनेको छ । दुवै एम्बुलेन्स मर्मत नहुँदा ५० शय्याको अस्पताल एम्बुलेन्सविहीन बनेको हो ।

एम्बुलेन्स नहुँदा बिरामीलाई स्ट्रेचरमा बोकेर जाजरकोट अस्पताल लगिँदै । तस्बिर : भीमबहादुर सिंह/कान्तिपुर

अस्पतालले १ वर्षअघि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । रकम अभावमा मर्मत हुन नसकी २ वर्षदेखि एम्बुलेन्स ग्यारेजमा थन्किएको चालक राकेशकुमार शाहले वताए । उनका अनुसार एम्बुलेन्सको दुईवटा टायर, इन्जिनलगायत सामग्री बदल्नुपर्ने छ । एम्बुलेन्स सञ्चालनमा नआए पनि उनले भने तलब भत्ता भने पाउँदै आएका छन् । नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स पनि बिग्रिएपछि जाजरकोट सदरमुकाम एम्बुलेन्सविहीन बनेको उनले बताए ।

एम्बुलेन्स नहुँदा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगी समस्यामा परेको स्थानीय कर्णबहादुर खत्रीले बताए । उनका अनुसार अस्पताल ल्याउनुपर्ने बिरामीलाई स्टेचर र डोकोको सहारामा बोकेर ल्याउनुपर्ने बाध्यता छ । १ लाख ५० हजार रुपैयाँको अभावमा अस्पतालको एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा ल्याउन नसकेको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा.सुनिल पुनले वताए । ‘एम्बुलेन्स पुरानो हुँदा मर्मत गरे पनि दुर्गममा चलाउन कठिन हुने देखिएको छ,’ उनले भने, ‘यो वर्ष प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले नयाँ एम्बुलेन्स दिने निर्णय गरेको छ, अब एक महिनाभित्रै नयाँ एम्बुलेन्स आउछ होला ।’ उनका अनुसार मन्त्रालयले अक्सिजन सेटसहितको फोर ह्विल एम्बुलेन्स पठाउन लागेको हो ।

भेन्टिलेटर प्रयोगविहीन

जाजरकोट अस्पतालमा जडान गरिएको भेन्टिलेटर पनि लामो समयदेखि प्रयोगविहीन छ । कोरोनाविरुद्धको प्रतिकार्यका लागि ३ महिनाअघि २५ लाख रुपैयाँमा खरिद गरिएको भेन्टिलेटर अहिलेसम्म पनि प्रयोगमा नआएको हो ।

जाजरकोट अस्पतालको एक कोठामा प्रयोगविहीन भइ थन्किएको भेन्टिलेटर । तस्बिर : भीमबहादुर सिंह/कान्तिपुर

अस्पतालले उक्त भेन्टिलेटर एउटा कोठामा थन्काएर राखेको छ । जडान गर्ने र सञ्चालनमा ल्याउने जनशक्ति नहुँदा भेन्टिलेटर सञ्चालनमा नआएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा.पुनले बताए । उनका अनुसार भेन्टिलेटर बेड सञ्चालन गर्न आवश्यक पूर्वाधार पनि छैन । जाजरकोटमा ६ हजार ५ सय ९ जनाको पीसीआर र आरडीटी परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य सेवा कार्यालयले कोरोना प्रतिकार्यका लागि गत आर्थिक वर्षमा झण्डै १ करोड रुपैयाँ खर्च गरेको उनले जानकारी दिए ।

प्रकाशित : मंसिर १२, २०७७ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?