कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेपाल-भारत सीमासम्बन्धी सचिवस्तरमा छलफल सुरु  : भारतीय दूतावास

मन्त्रीस्तरीय संयुक्त आयोग बैठकको निमन्त्रणा

काठमाडौँ — नेपाल तथा भारतका परराष्ट्र सचिवबीच द्विदेशीय सीमासम्बन्धी विषयमा छलफल सुरु भएको बताउँदै काठमाडौंस्थित भारतीय दूतावासले ‘बाँकी खण्डमा सीमासम्बन्धी कार्यहरु सम्पन्न गर्नेबारे आफ्ना विचारहरु साटासाट गरेको’ जनाएको छ ।

नेपाल-भारत सीमासम्बन्धी सचिवस्तरमा छलफल सुरु  : भारतीय दूतावास

परराष्ट्र सचिव भरतराज पौड्यालको निम्तोमा नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगंलाले आफ्ना औपचारिक र शिष्टाचार भेटवार्ताहरु बिहीबारै टुंग्याएका छन् । भ्रमणबारे दूतावासले जारी गरेको विज्ञप्तिमा दुवै देशका परराष्ट्र सचिवले ‘उच्चस्तरीय द्विपक्षीय सम्बन्धमा नयाँ गतिलाई कायम राख्न र दुवै देशहरुबीच परम्परागत रुपमा रहीआएको घनिष्ठ, मैत्रीपूर्ण र बहुपक्षीय साझेदारीलाई अझ मजबुत बनाउन सहमति जुटेको’ जनाइएको छ ।

विदेश सचिव श्रृंगलाले सिंहदरबारमा भएको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय विदेशमन्त्री डा. एस जयशंकरले संयुक्त आयोगको अर्को बैठकमा सहभागी हुन पठाएको निमन्त्रणा दिएकोबारे पनि विज्ञप्तिमा उल्लेख छ । गत वर्ष भदौ ४ मा परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बसेयता द्विदेशीय सीमा विवादलगायतका कारण ‘संवादहीनता’को स्थिति रहँदै आएको थियो । नयाँ राजनीतिक नक्सा र सिमांकनको आ–आफ्नै अडानका कारण एक वर्षयता दुवै मुलुकबीच कुटनीतिक तथा राजनीतिक ‘संवादहीनता’ स्थिति रहीआएको थियो ।

‘परराष्ट्र मन्त्री ज्ञवाली तथा सचिव पौड्यालसँगको भेटवार्तामा विदेश सचिव श्रृंगलाले द्विपक्षीय सम्पर्कलाई गति प्रदान गर्न, जनता–जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, सारभूत एवम् रणनैतिक द्विपक्षीय पहल र आपसी हितका विषयहरुको ठोस प्रगतिका लागि दुवै पक्षबीच सहमति आवश्यक रहेको कुरामा जोड दिनुभयो,’ विज्ञप्तिमा उल्लेख छ । सचिव श्रृंगलाको भ्रमण तथा भेटवार्ताबारे बिहीबार अबेर परराष्ट्र मन्त्रालयले सिंहदरबारबाट जारी गरेको विज्ञप्तिमा भने द्विदेशीय सीमा समस्यामा भएको छलफलबारे कुनै सूचना उल्लेख गरिएको छैन ।

राजनीतिक उच्चस्तरीय भ्रमण जरुरी : देउवा

विदेश सचिव श्रृंगलाले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बिहीबार साँझ भेटवार्ता गरेका छन् । बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा.दिनेश भट्टराईसमेतको उपस्थिति थियो ।

‘दुइ देशबीच थाती रहेका सबै प्रकारका समस्याको सम्बोधन गर्न र सम्बन्धमा सहजीकरण निम्त्याउन द्विदेशीय उच्चस्तरीय भ्रमणको जरुरी देखिएको छ,’ सभापति देउवाले विदेश सचिव श्रृंगलासमक्ष भने, ‘उच्चस्तरमा यस्ता भ्रमण र एजेन्डामा सहमति जुटेपछि कार्यान्वयन सहज भएर जान्छ, विगतमा भएका अभ्यासले यस्तै देखाएको छ ।’

भेटवार्तामा सहभागी डा.दिनेश भट्टराईका अनुसार, सभापति देउवाले भारतसँगका कतिपय ठूला परियोजना सञ्चालनमा सहमति जुटेपनि कार्यान्वयनमा कठिनाइ हुने गरेको सन्दर्भसमेत उठाएका थिए । पञ्चेश्वर परियोजनामा भइरहेको ढिलाइ तथा कोसी उच्च बाँधको योजनाबारेमा देउवाले सरोकार राखेका थिए ।

प्रकाशित : मंसिर १२, २०७७ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?