१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बलात्कार लुकाउन एक तोला सुनको ‘तमसुक’

स्थानीय अगुवाकै संलग्नतामा बनाइएको तमसुकको म्यादभित्र सुन नदिई पीडकले उल्टै धम्की दिन थालेपछि बाहिरियो घटना
तृप्ति शाही

काठमाडौँ — सिगास गाउँपालिकामा एक किशोरीलाई बलात्कारपछि गर्भपतन गराएको घटना एक तोला सुन दिने ‘तमसुक’ बनाएर मिलाएको खुलेको छ । घटनाको सात महिनापछि पीडित किशोरी न्याय माग्दै जिल्ला प्रहरी कार्यालय पुगेकी छन् । बिहीबार ती किशोरी आफ्नी दिदी र नन्दसँग प्रहरी कार्यालय गएकी हुन् ।

सिगासकी १८ वर्षीया ती किशोरीले गत जेठ २३ मा गाउँकै २२ वर्षीय युवकबाट आफू बलात्कृत भएको बताएकी छन् । ११ कक्षा पढिरहेकी उनी बिहान ४ बजे घरबाट करिब एक घण्टा टाढाको कुवामा पानी भर्न गएका बेला छिमेकी दीपक धामीबाट बलात्कृत भएको ती किशोरीको आरोप छ । ‘कुवाबाट ४० लिटरको जर्किनमा पानी भरेर फर्किन लागेकी थिएँ, घर नजिकै बाटो ढुकेर बसेको रहेछ, एक्कासि शरीरमा हाम फाल्यो,’ बिहीबार जिल्ला प्रहरी कार्यालयमा ती किशोरीले भनिन्, ‘सुनसान ठाउँमा एक्लै भएकाले मेरै सलले मुख छोपेर १५ मिनेट पर जंगलमा लगेर बलात्कार गर्‍यो ।’

घटनापछि अर्धबेहोस अवस्थामै मूल बाटामा निस्किएर जसोतसो घर पुगेको उनले बताइन् । ती युवकले हल्ला गरे वा कसैलाई भने मारिदिने धम्की दिएकाले कसैलाई भन्न नसकेको उनको भनाइ छ ।

जबर्जस्ती करणीबाट गर्भवती भएकी किशोरीले औषधि खाएर गर्भपतन गराएपछि परिवार र गाउँलेले थाहा पाएका थिए । गाउँमा सबैलाई थाहा भएपछि स्थानीय अगुवाले युवकबाट एक तोला सुन भराउने तमसुक बनाएर घटना सामसुम पारेका थिए । महिनावारी रोकिएको परिवार र गाउँमा थाहा भएपछि ती युवकले नै गर्भपतन गराउने औषधि ल्याएर दिएको उनले बताइन् । ‘बलात्कार गर्ने केटाले दिएको औषधि असार ८ गते खाएपछि धेरै रगत बग्दा घरमा परिवार र छिमेकी सबैले थाहा पाए,’ ती किशोरीले भनिन्, ‘अनि केटासँगै उसलाई सहयोग गर्ने गाउँकै शिक्षक, गाउँपालिकामा कार्यरत कर्मचारी र गाउँकै नेताले मिल्नुपर्छ भनेर एक तोला सुन दिने कागज बनाए ।’

तमसुकमा उल्लेख गरिएको म्यादसम्म सुन नदिएपछि घटना बाहिरिएको हो । ‘अरूलाई भने मारिदिन्छु भनेकाले प्रहरीलाई भन्न सकिनँ तर अहिलेसम्म न सुन दियो न केही, उल्टै डर र धम्की दिन्छ,’ ती किशोरीले भनिन् ।

गत असार १४ गते गाउँलेसँगै वडा कार्यालयबाट केही व्यक्ति आएर तमसुक बनाएको किशोरीले बताइन् । उनीहरूले बलात्कारमा संलग्न युवक र किशोरीको औंठाछापसहितको तमसुक बनाएका छन् । कात्तिक ३० गतेभित्र एक तोला सुन दिने भनेर बनाएको तमसुकमा झगडा भएको भनेर लेखिएको छ । ‘बलात्कार भनेर खुलाए गाह्रो हुन्छ भनेर झगडा भनिएको हो, आजसम्म सुन पनि दिएन, उल्टै मलाई धम्की दिने र बाआमालाई पनि गालीगलौज गर्छन्,’ ती किशोरीले भनिन् । उक्त तमसुकमा दीपकले कात्तिक ३० भित्र एक तोला सुन दिन नसके मनोज र अम्मरले दिने उल्लेख छ । छोरीलाई किन यस्तो गरेको भन्दा ६५ वर्षीय बुबालाई पनि ती युवकले कुटपिट गरेको उनको आरोप छ । ‘बाहिर कुरा ल्यायो भने मलाई र मेरो परिवारलाई मार्छु भन्यो अनि कसैलाई नभनेर सुनमा मिलेका हौं,’ उनले भनिन् । सुन नदिएको, उल्टै धम्की मात्र दिएकाले उजुरी गर्न जिल्ला सदरमुकाम आएको उनले बताइन् ।

घटना मिलाउने र तमसुक बनाउने काममा गाउँकै अम्मरसिंह धामी, मनोजसिंह धामी, नरेन्द्रसिंह धामी र राजेन्द्रसिंह धामीको संलग्नता रहेको किशोरीसँगै आएकी उनकी दिदीले बताइन् । तमसुकमा साक्षीमा किशोरीका दाइको नाम पनि उल्लेख छ । ‘दाइलाई पनि कुटपिट गरेर तमसुकमा मिलापत्र गराउनेमा नाम लेखाए,’ उनकी ३५ वर्षीया दिदीले भनिन्, ‘जे हुनु भइहाल्यो । सुन दिन्छौं, पढाउँछौं, भविष्य हेरौंला भनेर मिलाए ।’ घटनामा संलग्न युवकलाई केही दिनअघि उनीहरूले नै भारततिर भगाएको उनले जानकारी दिइन् । राजेन्द्र गाउँपालिकामा रोजगार संयोजक पदमा कार्यरत छन् । नरेन्द्र र मनोज शिक्षक हुन् भने अम्मर स्थानीय नेता हुन् ।

‘घरमा बोल्न सक्ने कोही छैनन्, बुबाको मानसिक अवस्था राम्रो छैन, दाइलाई पनि केही थाहा हुँदैन, सानो भाइ १५ वर्षको छ,’ पीडित किशोरीकी दिदीले भनिन्, ‘परिवार कमजोर भएर यस्तो भयो । बहिनी घरकी न घाटकी भई । अब के गरौं, कसो गरौं भएको छ ।’

न्याय माग्न दिदी र एक नन्द नाता पर्नेसहित तीन महिला बुधबार अबेर सदरमुकाम पुगेका थिए । इलाका प्रहरी कार्यालय पाटनमा आएका उनीहरूलाई जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले आफैं केस हेर्ने भनेर जिल्ला बोलाएका हुन् । सदरमुकामको एक होटलमा बसेका उनीहरूलाई खानबस्नसमेत समस्या भएको छ । ल्याएको खर्च बाटामै सकिएको र प्रहरीले सबै सहयोग गर्छौं भनेकाले केही आशा पलाएको ती किशोरीकी दिदीले बताइन् ।

डीएसपी अधिकारीले बिहीबारै मुद्दा दर्ता भइसकेको बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना भएको देखिएको र मुद्दाको प्रक्रिया अघि बढेकाले संलग्न सबैलाई कानुनी दायरामा ल्याउने बताए । पीडित किशोरीलाई सुरक्षा र स्वास्थ्यका हिसाबले जिल्ला अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राख्ने तयारी भएको पनि डीएसपी अधिकारीले जनाए ।

यसअघि गत भदौमा पनि सिगासकै १७ वर्षीया किशोरीको बिहे भएको ६ महिनामै छोरा जन्मिएपछि बलात्कार घटना बाहिर आएको थियो । उक्त घटनाका आरोपित स्थानीय एक शिक्षक, एक गाउँपालिका कर्मचारीसहित पाँच जना पुर्पक्षका लागि कारागारमा छन् ।

प्रकाशित : मंसिर १२, २०७७ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?