नेपाल र भारतबीचको सीमालगायत समस्या वार्ताबाटै समाधान गर्न सक्छौं : प्रधानमन्त्री ओली

जगदीश्वर पाण्डे

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतले कूटनीतिक वार्ताकै माध्यमबाट सीमालगायतका सम्पूर्ण समस्याको समाधान गरेर जान सक्ने बताएका छन् । 

नेपाल र भारतबीचको सीमालगायत समस्या वार्ताबाटै समाधान गर्न सक्छौं : प्रधानमन्त्री ओली

नेपालको दुई दिने भ्रमणमा आएका भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलालाई बालुवाटारमा स्वागत गर्दै प्रधानमन्त्री ओलीले वार्ताकै माध्यमबाट विभिन्न विषयहरुमा देखिएको समस्या समाधान गर्न सकिने विश्वास दुई मुलुक बीचमा रहेको प्रस्ट पारेका हुन् । ‘उहाँ (प्रधानमन्त्री ओली)ले नेपाल र भारतका बीचमा समाधान गर्न सकिने विषयहरु रहेको बताउनु भयो । हामी बस्यौं भने वार्ताकै माध्यमद्वारा यी विषयहरुलाई समाधान गरेर जान सक्छौं । यो विश्वास हाम्रो बीचमा रहेको छ,’ प्रधानमन्त्री ओलीलाई उदृत गर्दै परराष्ट्र सल्लाहकार राजन भट्टराईले कान्तिपुरसँग भने ।

प्रधानमन्त्री ओलीलाई उदृत गर्दै भट्टराईले थपे,‘मैले (ओली) प्रधानमन्त्री मोदीजीसँग पनि यही कुरा भनेको छु । इतिहासले छोडेका कतिपय समस्याहरु छन् । ती छोडेका सीमालगायतका समस्याहरुलाई पनि हामी वार्ता गरेर टुंग्याएर अगाडि जान सक्छौं भन्ने हाम्रो विश्वास र मान्यता हो ।’

प्रधानमन्त्री ओलीलाई भेट्न विदेश सचिव श्रृंगला बिहीबार बेलुकी साढे ५ बजे बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीलाई सुरुवातमा सचिव श्रृंगलाले भारतीय प्रधानमन्त्री मोदीले पठाएको सन्देश सुनाएका थिए । मोदीले ओलीको स्वास्थ्यलाभको कामना गरेका थिए । ‘साथै, मोदीजीले नेपाल–भारत सम्बन्धलाई अब नयाँ हिसाबले अगाडि बढाएर लानु पर्छ भन्ने सन्देश पठाउनु भएको रहेछ । त्यो सन्देश पनि सचिवजीले दिनु भयो,’ भट्टराईले भने ।

भेटमा बसेका भट्टराईका अनुसार विदेश सचिव श्रृंगलाले त्यसपछि बिहीबारै भएको विदेश सचिवस्तरमा नेपाल–भारत सम्बन्धका बारे समग्र पक्षलाई आफूहरुले छलफल गरेको प्रधानमन्त्री ओलीलाई बताएका थिए । ‘हाम्रो सम्बन्धको दायरा ज्यादै फराकिलो छ । यो फराकिलो सम्बन्धको दायरालाई अगाडि बनाएर लानु पर्छ र अझै नयाँ हिसाबमा सम्बन्धलाई उचाईमा पुर्‍याउनु पर्छ भन्ने नै कुरा भारतको हो । समस्याहरुलाई वार्ताद्वारा समाधान गरेर जानु पर्छ नै भन्ने कुरा गर्नु भयो,’ श्रृंगलालाई उदृत गर्दै भट्टराईले भने ।

त्यसपछि प्रधानमन्त्री ओलीले सचिव श्रृंगलालाई नेपाल भारतसँगको सम्बन्धलाई अगाडि बढाउन चाहेको बताएका थिए । ‘नेपाल–भारत सम्बन्ध बहुआयमिक छ । यो तहको, यति फराकिलो र बहुविषयक भएको सम्बन्धहरु अन्य मुलुकको बीचमा रहेको छैन । यो सम्बन्धको बीचमा कतिपय समस्याहरु पनि होलान् । त्यो समस्याहरुलाई वार्ताकै माध्यमद्वारा हामी अगाडि बढाएर लिएर जान चाहन्छौं,’ ओलीलाई उदृत गर्दै भट्टराईले भने,‘हामीले गत वर्षदेखि नै वार्ता गर्ने भन्दै आएका हौं । त्यो वार्तालाई निरन्तरता दिने कुरा छ । सीमा लगायत थुप्रै समस्याहरु पनि छन् । नजिकको छिमेकीको हिसाबले विषय धेरै भइसकेपछि हामीसँग समस्याहरु पनि हुने नै गर्छ । र, तीनलाई वार्ताद्वारा समाधान गर्ने नै हाम्रो चाहना हो । हामी त्यही गर्न चाहन्छौं । र, त्यसको लागि सुरुदेखि नै त्यही प्रयास हो र अहिले पनि त्यही कुरा राख्न चाहन्छौं ।’

प्रकाशित : मंसिर ११, २०७७ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?