कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

देशमा लगानीको अवसर झन् बढेर गएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लगानीको अवसर झन् बढेर गएको बताएका छन् ।

देशमा लगानीको अवसर झन् बढेर गएको छ : प्रधानमन्त्री ओली

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली देशमा लगानीका अवसर सिद्धिएको नभई झन् बढेर गएको बताएका हुन् । उनले देशभित्रै लगानी बढाउन उद्योगी तथा व्यसायीहरुलाई सुझाव समेत दिएका छन् ।

सरकार राष्ट्रिय पुँजी, राष्ट्रिय उद्योग र राष्ट्रिय पुँजीपतिहरुलाई सबल बनाउने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । राष्ट्रिय पुँजी, उद्यमी र पुँजीपतिहरुलाई विकास गर्न नसक्दा वैदेशिक लगानी खोज्नुपर्ने बाध्यता भएको उनले बताए । देशमा पुँजी निर्माण गरी बह्य देशमा लगानी नगर्न उनले आग्रह गरे ।

अहिले पनि देशभित्र उपभोग हुने अधिकांश वस्तु आयात गर्नुपर्ने भएकाले त्यसलाई प्रतिस्थापन गर्न पनि उत्पादन बढाउने क्षेत्रमा लगानी गर्न उनले व्यवसायीहरुलाई आग्रह गरे । नेपालका सबै उद्योग व्यवसाय, सेवा क्षेत्र, कृषि, पर्यटन सबैलाई साथ सहयोग लिएर सहकार्य गर्न सरकार तयार भएको पनि प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

कोभिडका कारण नागरिक, निजी क्षेत्र र सरकार सबैलाई कठिनाइ परेकोले मिलेर सामना गर्नुको विकल्प नरहेको ओलीले बताए ।

सरकार मनको गरिब नभइ आफ्नो क्षमता र गक्ष अनुसार उद्यमी व्यवसायीहरुलाई सघाएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले गक्षभन्दा एक कदम अगाडी बढेर सरकारले सहयोग गरेपनि बचत नभएका कारण त्यो थोरै हुने बताए । सबैपक्ष मिलेर एकसाथ नहिँडे अर्थतन्त्रलाई जोगाउन कठिन हुने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रश्रय दिएको भन्ने आरोप भ्रमपूर्ण भएको समेत बताए । केही समूहले सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रश्रय दिएको र उद्योगी व्यवसायीलाई विभाजित गर्‍यो भन्ने आरोप लगाएको भन्दै त्यस्ता अभिव्यक्ति भ्रमपूर्ण रहेको बताएका हुन् । त्यस्ता अभिव्यक्ति सुनेर द्विधामा नपर्न समेत निजी क्षेत्रलाई प्रधानमन्त्री ओलीले आग्रह गरे ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले भने कोरोनाका कारण अर्थतन्त्र र व्यवसायी दुःखमा भएको बताएका छन् । बजेटमा ल्याइएको सहुलियत कर्जाको कार्यविधि ढिलो आउँदा समेत उद्योग व्यवसायलाई निरन्तरता दिन कठिनाइ भएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । उद्योग व्यवसायलाई निरन्तरता दिन पुँजीको अभाव भएकाले घोषणा भएका राहत प्याकेज छिटो उपलब्ध गराउन सरकारको ध्यान जानुपर्ने गोल्छाले बताए ।

प्रकाशित : मंसिर ११, २०७७ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?