बर्दिवास घटना : मृतकका परिवारलाई साढे २ लाख र रोजगारी दिने नगरपालिकाको घोषणा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दिवास घटना : मृतकका परिवारलाई साढे २ लाख र रोजगारी दिने नगरपालिकाको घोषणा

सुनिता बराल

महोत्तरी — महोत्तरीको बर्दिबासमा बलात्कारपछि हत्या भएकी बालिका र प्रहरीको गोली लागि मृत्यु भएका सञ्जय न्यौपानेको परिवारलाई बर्दिबास नगरपालिकाले जनही २ लाख ५० हजार र रोजगारी दिने घोषणा गरेको छ ।

गत आइतबार बेपत्ता भएर सोमबार मध्यरातमा मृत फेला परेकी बर्दिबास–१४ की गुलबसा खातुन र मंगलबारको प्रदर्शनमा प्रहरीको गोली लागि उपचारको क्रममा मृत्यु भएका बर्दिबास–१ सञ्जय भनिने बुद्धिराज न्यैपानेको परिवालाई प्रति परिवार दुई लाख ५० हजार राहत र सञ्जयको परिवारको एक दक्ष व्यक्तिलाई नगरपालिकाले रोजगारी दिने निर्णय गरेको बर्दिवासका नगरप्रमुख विदुरकुमार कार्कीले बताए ।

बिहीबार पत्रकार सम्मेलन गर्दै नगरप्रमुख कार्कीले बर्दिबासमा बालिका हत्या र त्यसपछिका सबै घटनाको न्यायिक छानबिन, दुवै मृतक परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको नि:शुल्क उपचार र प्रहरीको गोली लागि ज्यान गुमाएका न्यौपानेलाई शहिद घोषणा गर्न नेपाल सरकारसमक्ष माग बताए ।

बर्दिबासको यो दुःखद घटनामा आवेग र आक्रोशमा नभइ विवेक र धैर्यतापूर्वक न्यायका लागि खबरदारी गर्न नगरबासी र सम्बद्ध पक्षसँग नगरप्रमुख कार्कीले अपिल समेत गरे ।

बर्दिबास–१४ की गत आइतबार बेपत्ता भएकी गुलबसा खातुनको शव सोमबार मध्यरातको समयमा उनकै घर नजिकको झाडीमा बोरामा खाँदिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

यस घटनामा बर्दिबास–१४ मा समेत घर भएका जिल्लाकै गौशाला नगरपालिका–५ का २६ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित : मंसिर ११, २०७७ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल–भारत परराष्ट्र सचिव स्तरीय वार्ता सकियो

विदेश सचिवस्तरीय वार्ता उपलब्धिमूलक : भारत
जगदीश्वर पाण्डे

काठमाडौँ — दुई मुलुकबीच कूटनीतिक संवादको लागि बाटो खुला गर्दै बिहीबार भएको नेपाल–भारत द्वीपक्षीय परराष्ट्र सचिव स्तरीय वार्ता याक एन्ड यति होटलमा सकिएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार परराष्ट्र सचिव स्तरीय वार्ता सकिएको हो । उनका अनुसार दुई पक्षीय विदेश सचिव स्तरीय वार्ताको बारेमा परराष्ट्र मन्त्रालयले केही बेरमा विज्ञप्ती जारी गर्ने छ ।

दुई पक्षीय विदेश सचिव स्तरीय वार्ता सकिएपछि भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला सिंहदरबार पुगेका छन् । त्यहाँ उनले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट्ने कार्यक्रम रहेको छ । उनले त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भारतले भन्यो: विदेश सचिवस्तरीय वार्ता उपलब्धिमूलक

भारतले नेपाल–भारत विदेश सचिवस्तरीय वार्तालाई उपलब्धिमूलक भेटघाट भएको बताएको छ । दरबारमार्गस्थित याक एन्ड यति होटलमा दुई पक्षीय विदेश सचिव स्तरीय वार्तापछि भारतीय राजदूतावासको ट्वीटर ह्यान्डल ‘इन्डियाइननेपाल’ बाट प्रतिक्रिया दिदै भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला र नेपालका परराष्ट्र सचिव भरतराज पौडेलले द्धीपक्षीय सहयोगको समीक्षा गरेको जनाएको छ । साथै, उनीहरु बीचमा आपसी हितका मुद्दाहरुमा छलफल गरेको जनाएको छ ।

प्रकाशित : मंसिर ११, २०७७ १५:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×