१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दुई देशको सम्बन्ध थप कसरी बढाउने भनेर कुरा गर्छौं : विदेश सचिव श्रृंगला

जगदीश्वर पाण्डे

काठमाडौँ — भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले आफ्नो दुईदिने नेपाल भ्रमणमा दुई देशबीचको सम्बन्ध थप कसरी अघि बढाउने भन्नेबारे कुरा गर्ने बताएका छन् । त्रिभुवन विमानस्थलमा बिहीबार उनले सञ्चारमाध्यमसँग भने, ‘हाम्रो सम्बन्धलाई कसरी अघि बढाउने भन्नेबारे कुरा गर्छौं ।’ 

दुई देशको सम्बन्ध थप कसरी बढाउने भनेर कुरा गर्छौं : विदेश सचिव श्रृंगला

गत वर्ष कात्तिकमा भारतले नयाँ नक्सा जारी गरेकोमा यही वर्षको सुरुमा नेपालले पनि आफ्नो नयाँ नक्सा जारी गरेपछि दुई मुलुकबीच विवाद बढेको थियो ।

विदेश सचिव श्रृंगलाले नेपालमा आउँदा अत्यन्तै खुसी लागेको भन्दै आफू पहिले पनि काठमाडौं आएको बताए । ‘तर विदेश सचिवका रूपमा मेरो यो पहिलो भ्रमण हो,’ उनले भने । श्रृंगलाले भारत र नेपाल निकटतम मित्र रहेको उल्लेख गर्दै दुईपक्षीय छलफलहरू गर्ने बताए ।

उनले सबैभन्दा पहिला परराष्ट्र सचिव भरतराज पौडेल, त्यसपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग र अन्य उच्च भेटघाट गर्नेछन् । श्रृंगलाले शुक्रबार भर्चुअल माध्यमबाट भारत–नेपाल मैत्री विषयमा धारणा राख्नेछन् । शुक्रबार दिउँसो उनी गोरखा जानेछन् । जहाँ उनले भारत सरकारको सहयोगमा बनाइएका भूकम्पपीडितका घरको अवलोकन गर्नेछन् । त्यहाँ ५० हजार घर बनाइदिने प्रधानमन्त्री नरेन्द्र मोदीको वाचाअनुसार हालसम्म ४० हजार घर बनिसकेका छन् ।

श्रृंगलाले भारतको सहयोगमा बनाइएका तीनवटा विद्यालय र मनाङमा एउटा बौद्ध गुम्बाको उद्घाटन पनि गर्नेछन् ।

प्रकाशित : मंसिर ११, २०७७ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?