भारतीय विदेश सचिव श्रृंगला काठमाडौं आइपुगे- समाचार - कान्तिपुर समाचार

भारतीय विदेश सचिव श्रृंगला काठमाडौं आइपुगे

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । उनी केहीबेर चार्टड विमानबाट काठमाडौं ओर्लिएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए ।

भारतीय विदेश सचिव श्रृंगला परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आएका हुन् । उनको भ्रमणमा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस्यालाई प्राथमिकतामा राखेर कुराकानी गरिने भएको छ । विदेश सचिव बनेपछि श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो ।

विदेश सचिवको भ्रमण अवसरमा बिहीबारै सचिवस्तरीय संयन्त्रको बैठकसमेत हुने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रामाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे कुराकानी हुने भएको छ ।

परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार बिहीबार दिउँसो याक एन्ड यती होटलमा सुरु हुने भनिएको द्विदेशीय सचिवस्तरीय संयन्त्र बैठकपछि विदेश सचिव श्रृंगलाले प्रधानमन्त्री ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि शिष्टाचार भेटवार्ता गर्दै छन् ।

प्रकाशित : मंसिर ११, २०७७ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश २ मा बढ्दो अपराध

क्रूर प्रकारका अधिकांश घटना आपसी विवाद र आवेगमा भएका छन् । अधिकांशका अभियुक्तलाई प्रहरीले पक्राउ पनि गरेको छ ।
अजित तिवारी

जनकपुर — घरबाट करिब ५० मिटर पर फेला परेको शव लहान–१७ गोविन्दपुरका ३७ वर्षीय मोहमद सचिदको भन्ने पहिचान भयो । तर बीभत्स अवस्थामा फेला परेको शव टाउकोविहीन थियो । गत वैशाख ३० मा त्यस्तो शव फेला परेपछि सिरहा प्रहरीले गस्ती बढायो । धेरैतिर खोजी गर्दा पनि टाउको झट्टै भेटिएन ।

सचिदको हत्यामा प्रयोग भएको खुकुरी केही दिनपछि बलान खोलाको किनारमा भेटियो । उनको टाउको र कलेजो फेला परेन । आङ सिरिङ पार्ने यो हत्याको सात महिना बित्दा पनि हत्यारा समाउन त कहाँ हो कहाँ सिरहा प्रहरीले ‘हत्याको कारण’ समेत सुइँको पाउन सकेका छैनन् । सिरहा प्रहरीका प्रवक्ता डीएसपी शरद थापा क्षत्री भन्छन्, ‘त्यो हत्याको अनुसन्धान रोकिएको छैन ।’

असोज १० मा सप्तरीको तिरहुत–२ मा स्थानीय ५० वर्षीया दायमनदेवी यादवको हत्या भयो । शव फेला पर्दा एउटा आँखा फोरिएको थियो, दाहिने कान काटिएको थियो । प्रहरीका अनुसार हत्याराले नै उनको कान काटेर लगेका थिए । उक्त हत्याका आरोपितहरू भने पक्राउ परिसकेका छन् । रौतहटको माधवनारायण–२ खैस्रैयास्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी राम साह भदौ ३ को रात सुत्ने तरखरमा थिए । अचानक आइपुगेका अज्ञात व्यक्तिले उनको कञ्चटमा गोली हाने । पुजारी हत्याको यो प्रकरण निकै चर्चामा आयो । सुटर खोज्न र हत्याको कारण पहिल्याउन प्रहरीका तीनवटा टिम खटिए । दुई सातापछि हत्यामा संग्लन रौतहट देवाही गोनाही–१ करुनियाका ३६ वर्षीय रामनरेश पटेल र २८ वर्षीय बालकुमार पटेल पक्राउ परे । हत्याको कारण आपसी झगडा थियो ।

प्रदेश २ मा स–साना विवाद, आपसी रिसराग, मदिरा र लागूऔषधका कारण भएका घटनाले गम्भीर प्रकृतिका अपराधको ग्राफ ह्वात्तै बढाएको छ । गत साउनदेखि कात्तिकसम्मका चार महिनामा २५ जनाको हत्याको घटना भएको छ । जबर्जस्ती करणीका १ सय ४३ वटा घटना भएको छ ।

त्यससँगै जबर्जस्ती करणी उद्योगका मुद्दा पनि ४५ वटा छ । गत आर्थिक वर्ष २०७६/७७ मा प्रदेश २ मा २ सय ८५ वटा बलात्कार र ९६ वटा जबर्जस्ती करणी उद्योगका घटनाका जाहेरी प्रहरीमा पुगेका थिए । प्रदेश २ का डीआईजी धीरजप्रताप सिंह केही घटनाको अनुसन्धानमा समय लागे पनि अधिकांश आपराधिक घटनामा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको बताउँछन् ।

चालु आर्थिक वर्षको सुरुमा चार महिनामा एक जनामाथि एसिड आक्रमण र बाल यौन दुराचारका १४ घटना भएका छन् । कानुनले बन्देज गरे पनि २ वटा बालविवाह र २९ वटा बहुविवाह भएको छ । बोक्सीको आरोपमा दुई कुटपिट, ३ वटा अवैध गर्भपतनको घटना भएको छ ।

प्रकाशित : मंसिर ११, २०७७ १०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×