१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

उद्घाटनको दुई वर्षपछि बिजुली बस

दुई वर्षअघि लुम्बिनीका लागि भन्दै ल्याइएका बस रातारात काठमाडौं पुर्‍याइँदा पर्यटन व्यवसायी निराश थिए । मंगलबार तीनवटा बस आइपुगेका छन्, अरु दुई बस र १४ भ्यान ल्याइँदै छ ।
मनोज पौडेल

लुम्बिनी — बुद्ध जन्मस्थलमा प्रदूषण कम गर्न र यहाँ भ्रमणका लागि आएका पाहुना ओसार्न दुई वर्षअघि विद्युतीय बस सञ्चालनको तयारी थियो । यस्ता बस सञ्चालनपछि लुम्बिनी क्षेत्रमा प्रदूषण नियन्त्रण हुने लुम्बिनी विकास कोषले जनाएको थियो ।

उद्घाटनको दुई वर्षपछि बिजुली बस

त्यसबेला बस त भित्रियो तर तिनलाई काठमाडौं पुर्‍याइयो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको दुई वर्षपछि बिजुली बस लुम्बिनीमा भित्रिएका छन् । विश्व सम्पदा स्थल लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न एसियाली विकास बैंकको क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत अनुदानमा बस भित्रिएका हुन् ।

कोलकाताबाट लरीमा तीनवटा ठूला बस मंगलबार यहाँ आइपुगेका थिए । बुधबार लरीबाट अनलोड गरेर बसलाई विद्युतीय चार्जिङ स्टेसनको पार्किङ स्थलमा राखिएको छ । दुई ठूला बस र १४ वटा भ्यान पनि एक/दुई दिनमा आइपुग्ने लुम्बिनी विकास कोषले जनाएको छ । अहिले ती बस र भ्यानको वीरगन्जस्थित भन्सार कार्यालयमा क्लियरिङको काम भइरहेको छ ।

‘लुम्बिनीका लागि भनेर ल्याइएका बस अपहरण शैलीमा काठमाडौं पुर्‍याएको बस फेरि यहाँ आउला जस्तो लागेको थिएन,’ लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले भने, ‘बस ल्याइयो, खुसी लागेको छ ।’ लुम्बिनीलाई प्रदूषणरहित बनाउन बिजुली बस सञ्चालनको योजना बनाइएको हो । लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘यहाँ प्रदूषण कम गर्ने योजनामा काम गर्न नसक्दा पर्यटकमाझ राम्रो सन्देश जान सकेको थिएन ।’ त्यही भएर पर्यटकलाई लुम्बिनीका बारेमा सकारात्मक सन्देशसँगै सुविधा दिन विद्युतीय बस भित्र्याइएको उनले बताए । दुई वर्षअघि लुम्बिनीमा सञ्चालन गर्नका लागि आएका बिजुली बस प्रधानमन्त्री कार्यालयको निर्देशनमा भैरहवा भन्सार कार्यालयबाट जबर्जस्ती काठमाडौं लगिएको थियो । ती बस काठमाडौं लगेर प्रधानमन्त्री ओलीले २०७५ कात्तिक ६ मा उद्घाटन गरेका थिए । उनी ललितपुरको पुल्चोकबाट त्यही बसमा चढेर सिंहदरबार पुगेका थिए ।

साझा यातायातले सञ्चालन गर्ने तयारी गरेर ती बस लगिएको थियो । बस काठमाडौं लगिएपछि यहाँ विरोध भएको थियो । त्यसरी लगिएका बसमा संघीय पर्यटन मन्त्रालयले विभिन्न १७ वटा कैफियत देखाएपछि ठेक्का बदर गर्ने निर्णय गरेको थियो । त्यसपछि बसको ठेक्का पाएको वीवाईडी कम्पनीले अर्को बस दिने सहमति गरेको थियो । अहिले चीनबाट आयात गरेर यहाँ बस पठाएको हो ।

ठूलो एउटा बसको मूल्य साढे २ करोड छ । ठूलो बसमा १९ सिट छ । उभिँदा ३५ जनासम्म अटाउँछन् । सानो भ्यान ५ सिटे हो । पूर्ण वातानुकूलित बस अपांगता भएकाहरूका लागि पनि सुविधाजनक छ । बसबाट एउटा लिफ्ट निस्केर अपांगता भएकालाई रिक्सामा भित्र लगेर राख्ने सुविधा छ । स्वचालित ढोका छन् । आपत्कालीन ठूलठूला झ्याल छन् । बस ल्याइनु यो क्षेत्रका लागि सुखद् रहेको लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए । विद्युतीय बस लुम्बिनीमा आएपछि यहाँका पर्यटन व्यवसायी खुसी छन् ।

अहिले १३ करोड रुपैयाँ लगानीमा बस तथा जिप (भ्यान) यहाँ आउँदै छन् । लुम्बिनीलाई केन्द्र बनाएर बस चलाउन कार्यविधि बनाइने कोषका सदस्य राजेश ज्ञवालीले बताए । ‘ग्रेटर बुद्ध सर्किट बुद्धस्थल देवदह, रामग्राम, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी र तिलौराकोटलाई समेटेर बस, भ्यान सञ्चालन हुनेछ,’ उनले भने । त्यस्तै लुम्बिनीबाट पोखरा, सौराहा र काठमाडौंसम्म पनि बस सञ्चालनको योजना बनाइएको उनले बताए ।

विद्युतीय सवारी ल्याउने योजनापछि नै यहाँ बस र भ्यानका लागि चार्जिङ स्टेसन पनि बनाइएको छ । पूर्वाधार तयार भइसकेका स्टेसनमा कनेक्सन जोड्न मात्र बाँकी रहेको जापानको इसाका इलेक्ट्रिक कम्पनीका नेपाली साझेदार चिरञ्जीवी थापाले बताए । १३ करोड लागतमा पावर स्टेसन बनेको हो ।

पावर हाउसबाट १ सय ५४ किलोवाट विद्युत् उत्पादन हुन्छ । यहाँ ३३ वटा गाडी चार्जर स्ट्यान्ड राखिएको छ । यिनमा तीनवटा क्विक चार्जर छन् । ८० किलोवाट क्षमताको ब्याट्री हुने एउटा बस र ४० किलोवाट क्षमताका २ वटा मिनीबस एकैपटक क्विक चार्ज गर्न सकिने जानकारी थापाले दिए ।

‘क्विक चार्जबाट फुल चार्ज हुन आधी घण्टा समय लाग्छ । बाँकी ३० वटा सामान्य चार्जर छन्,’ उनले भने, ‘यसबाट एक घण्टामा फुल चार्ज हुन्छ । ३० वटा भ्यान र कारका लागि हो । स्टेसनबाट एकैपटकमा १३ सवारीसाधन चार्ज गर्न सकिन्छ ।’ त्यही ७५ इलेक्ट्रिक रिक्सा (टुकटुक) चार्ज हुने प्वाइन्ट पनि राखिने छ । तीन वर्षभित्र लुम्बिनीमा पेट्रोलियम पदार्थले चल्ने सवारीसाधन विस्थापित गर्ने योजनाअनुसार चार्जिङ स्टेसन बनाइएको हो ।

प्रकाशित : मंसिर ११, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?