१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रदेश २ मा बढ्दो अपराध

क्रूर प्रकारका अधिकांश घटना आपसी विवाद र आवेगमा भएका छन् । अधिकांशका अभियुक्तलाई प्रहरीले पक्राउ पनि गरेको छ ।
अजित तिवारी

जनकपुर — घरबाट करिब ५० मिटर पर फेला परेको शव लहान–१७ गोविन्दपुरका ३७ वर्षीय मोहमद सचिदको भन्ने पहिचान भयो । तर बीभत्स अवस्थामा फेला परेको शव टाउकोविहीन थियो । गत वैशाख ३० मा त्यस्तो शव फेला परेपछि सिरहा प्रहरीले गस्ती बढायो । धेरैतिर खोजी गर्दा पनि टाउको झट्टै भेटिएन ।

प्रदेश २ मा बढ्दो अपराध

सचिदको हत्यामा प्रयोग भएको खुकुरी केही दिनपछि बलान खोलाको किनारमा भेटियो । उनको टाउको र कलेजो फेला परेन । आङ सिरिङ पार्ने यो हत्याको सात महिना बित्दा पनि हत्यारा समाउन त कहाँ हो कहाँ सिरहा प्रहरीले ‘हत्याको कारण’ समेत सुइँको पाउन सकेका छैनन् । सिरहा प्रहरीका प्रवक्ता डीएसपी शरद थापा क्षत्री भन्छन्, ‘त्यो हत्याको अनुसन्धान रोकिएको छैन ।’

असोज १० मा सप्तरीको तिरहुत–२ मा स्थानीय ५० वर्षीया दायमनदेवी यादवको हत्या भयो । शव फेला पर्दा एउटा आँखा फोरिएको थियो, दाहिने कान काटिएको थियो । प्रहरीका अनुसार हत्याराले नै उनको कान काटेर लगेका थिए । उक्त हत्याका आरोपितहरू भने पक्राउ परिसकेका छन् । रौतहटको माधवनारायण–२ खैस्रैयास्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी राम साह भदौ ३ को रात सुत्ने तरखरमा थिए । अचानक आइपुगेका अज्ञात व्यक्तिले उनको कञ्चटमा गोली हाने । पुजारी हत्याको यो प्रकरण निकै चर्चामा आयो । सुटर खोज्न र हत्याको कारण पहिल्याउन प्रहरीका तीनवटा टिम खटिए । दुई सातापछि हत्यामा संग्लन रौतहट देवाही गोनाही–१ करुनियाका ३६ वर्षीय रामनरेश पटेल र २८ वर्षीय बालकुमार पटेल पक्राउ परे । हत्याको कारण आपसी झगडा थियो ।

प्रदेश २ मा स–साना विवाद, आपसी रिसराग, मदिरा र लागूऔषधका कारण भएका घटनाले गम्भीर प्रकृतिका अपराधको ग्राफ ह्वात्तै बढाएको छ । गत साउनदेखि कात्तिकसम्मका चार महिनामा २५ जनाको हत्याको घटना भएको छ । जबर्जस्ती करणीका १ सय ४३ वटा घटना भएको छ ।

त्यससँगै जबर्जस्ती करणी उद्योगका मुद्दा पनि ४५ वटा छ । गत आर्थिक वर्ष २०७६/७७ मा प्रदेश २ मा २ सय ८५ वटा बलात्कार र ९६ वटा जबर्जस्ती करणी उद्योगका घटनाका जाहेरी प्रहरीमा पुगेका थिए । प्रदेश २ का डीआईजी धीरजप्रताप सिंह केही घटनाको अनुसन्धानमा समय लागे पनि अधिकांश आपराधिक घटनामा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको बताउँछन् ।

चालु आर्थिक वर्षको सुरुमा चार महिनामा एक जनामाथि एसिड आक्रमण र बाल यौन दुराचारका १४ घटना भएका छन् । कानुनले बन्देज गरे पनि २ वटा बालविवाह र २९ वटा बहुविवाह भएको छ । बोक्सीको आरोपमा दुई कुटपिट, ३ वटा अवैध गर्भपतनको घटना भएको छ ।

प्रकाशित : मंसिर ११, २०७७ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?