१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोनापछि नेपाल–चीन ‘डिफेन्स’ सहकार्य

चिनियाँ रक्षामन्त्रीको भ्रमणले कोभिड–१९ ले स्थगित सैन्य सहयोग र सहकार्यलाई निरन्तरता दिने सेनाको अपेक्षा
जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोना भाइरसका कारण नेपाल–चीनबीच झन्डै एक वर्ष रोकिएको पारस्परिक सैन्य सहकार्य, सहयोग र अभ्यास पुनः सञ्चालन हुने भएका छन् । राष्ट्रपति सी चिनफिङका विश्वासिला पात्र तथा स्टेट काउन्सिलरसमेत रहेका रक्षामन्त्री वेई फेङ्हेको नेपाल भ्रमणका दौरान दुई देशबीच थाती रहेको ‘डिफेन्स’ (रक्षा) सहकार्य अघि बढाउन पहल गरिने भएको हो । 

कोरोनापछि नेपाल–चीन ‘डिफेन्स’ सहकार्य

चीनले परराष्ट्र मन्त्रालयमार्फत नेपाली सेनालाई चिनियाँ सेना प्रमुखको अर्को वर्ष २०२१ को सुरुआतमा भ्रमण हुन सक्ने संकेत दिएको थियो । ‘तर अहिले नै रक्षामन्त्री आउनुको पछाडि दुई मुलुकको सैन्य सहकार्य, सहयोग र अभ्यासलाई चीनले छिट्टै अगाडि बढाउन चाहेको प्रस्ट हुन्छ,’ एक सैनिक उच्च अधिकारीले भने । उनका अनुसार अमेरिका र भारतबाट नेपाली सेनालाई भइरहेको सहयोग र पछिल्लो समय भारतका बाह्य गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल र भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेको सफल भ्रमणको सन्देशले पनि चीनका रक्षामन्त्री वेईको भ्रमण छिटो हुन लागेको देखिन्छ ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले चिनियाँ रक्षामन्त्री वेईको आगामी भ्रमणले दुई देशबीचको पारस्परिक सम्बन्धलाई थप बढावा दिने र कोभिड–१९ ले स्थगित भएका सैन्य सहयोग र सहकार्यलाई निरन्तरता दिने अपेक्षा राखेको बताए । ‘कोरोना संक्रमणपछिको अवस्थामा विगतमा भएका सम्झौता, सहकार्य र सहायताका विषयलाई कसरी उपयोग गर्ने भन्ने हुन्छ,’ उनले भने, ‘चिनियाँ नेतृत्वले कसरी सम्बन्ध विस्तार गर्छ भन्ने पनि यो भ्रमणले देखाउँछ ।’ रक्षामन्त्री वेईको भ्रमणमा अन्य एजेन्डा रहे पनि नेपाली सेनाले विशुद्ध दुई देशको पारस्परिक सम्बन्ध र डिफेन्स सम्बन्धको हिसाबले महत्त्वको साथ लिएको छ ।

गत वर्ष चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गरेयता चीनबाट आउने रक्षामन्त्री वेई नै ठूला पदाधिकारी हुन् । गत वर्ष जुनमा प्रधानसेनापति पूर्णचन्द्र थापाले चीन भ्रमण गरेका थिए । गत वर्षकै अक्टोबरमा तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले पनि चीन भ्रमण गरेका थिए । कोभिड–१९ महामारी सुरु भएपछि नाका बन्द भए । हरेक वर्ष सेनाको शिवपुरीस्थित स्टाफ कलेजमा चिनियाँ पढ्न आउँथे । यस पटक आएनन् । चीन र नेपालबीच सगरमाथामैत्री सैन्य अभ्यास पनि यो वर्ष भएन ।

सुरक्षा सहकार्यमा चीनले सहयोग गर्नेबाहेक अन्य सहकार्य, सम्बन्ध र अभ्यास रोकिएका थिए । चिनियाँ जनमुक्ति सेना कोरोना नियन्त्रणका लागि सामग्री लिएर नेपाल आए पनि अन्य सहकार्यका काम भएनन् । रक्षामन्त्री वेईले नेपाल भ्रमण गरिसकेपछि दुई देशबीच भएका डिफेन्स सम्झौतामा कुन–कुन क्षेत्रमा कसरी काम गर्ने भन्नेबारे योजना बनाउने सैन्य स्रोतले बतायो । ती सैनिक अधिकारीले भने, ‘अब सहकार्य सकारात्मक रूपमा अघि बढ्नेछ ।’ रक्षामन्त्री वेईको भ्रमणको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्ने भए पनि नेपाली सेनाले उनलाई सैनिक मुख्यालय जंगी अड्डामा गार्ड अफ अनरको सम्मान दिने र प्रधानसेनापति थापाले एक्लाएक्लै भेट्ने कार्यक्रमको तयारी छ ।

भूराजनीतिक विज्ञ तथा सेनाका अवकाश प्राप्त उपरथी विनोज बस्न्यातको बुझाइमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को भर्खरै सम्पन्न १९ औं केन्द्रीय समितिको बैठकले दक्षिण एसियामा राजनीतिक पक्षलाई बढावा दिन खोजेको छ । ‘भ्रमणको पहिलो कारण राजनीतिक हो । दोस्रो, बेल्ट एन्ड रोड इनिसिएटिभमा नेपालले प्रस्ताव गरेका ९ परियोजनाका कुरा हुन् । तेस्रो सुरक्षा,’ उनले भने । नेपालमा भारत र अमेरिकाको प्रभाव र नेपालको नीतिबारे पनि चीनले हेरिरहेको उनको भनाइ छ । ‘चीनले नेकपाको आन्तरिक विवाद र नेकपा–सीपीसीबीच सम्बन्धलाई पनि ध्यान दिएको छ,’ उनले भने ।

चिनियाँ मामिला विज्ञ तथा परराष्ट्र मामिला अध्ययन केन्द्रका उपकार्यकारी निर्देशक रूपक सापकोटा चिनियाँ रक्षामन्त्री वेईको भ्रमण नेपाली सेनासँग अमेरिकाको इन्डो प्यासिफिक रणनीतिमार्फत भइरहेको गतिविधिमा केन्द्रित रहने बताउँछन् । ‘नेपालमा जुन कुनै मुलुकबाट हुने शक्ति सहकार्य वा सैन्य सहकार्यलाई चीनले नजिकबाट महत्त्व लिएर हेर्ने गर्छ,’ उनले भने, ‘चिनियाँ रक्षामन्त्रीको भ्रमणमा यो विषयलाई पनि महत्त्वका साथ लिन सक्ने देखिन्छ ।’

प्रकाशित : मंसिर ११, २०७७ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?