कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति, ट्रेड युनियनको निर्वाचन फेरि स्थगित

जयसिंह महरा

काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को बुधबारको बैठकले स्वीकृत गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति, ट्रेड युनियनको निर्वाचन फेरि स्थगित

'सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका लागि प्रस्ताव प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिएँ । उक्त प्रस्ताव स्वीकृत भएको छ,' मन्त्री अर्यालले भनिन्, 'अब मन्त्रालयले छिट्टै सगरमाथाको नयाँ उचाइ आधिकारीक रूपमा घोषणा गर्नेछ ।'

सगरमाथाको उचाइ यकिन गर्नका लागि नेपाली र चिनियाँ सरकारी टोलीले संयुक्त रूपमा काम गरेका थिए । दुवै मुलुकका सरकारी कमिटीले प्रतिवेदन तयार पारेका थिए । नेपालको सरकारी समितिले सगरमाथाको उचाइ नापजाँचको प्रतिवेदन मन्त्री अर्याललाई बुझाएपछि सार्वजनिक गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गएको थियो ।

मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै छिट्टै सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ । 'सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने तयारी मन्त्रालयले गरिसकेको छ, मन्त्रिपरिषद्बाट स्वीकृति मिलिसकेपछि अबको केहीदिनमै नयाँ उचाई सार्वनिक गर्छौं,' मन्त्रालय स्रोतले भन्यो ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले तीन सहसचिवलाई सचिवमा बढुवा गरेको छ । कृषितर्फ योगेन्द्र कार्की, इन्जिनियरिङतर्फ सुरेश आचार्य र प्रशासनतर्फ गोकर्णमणि दवाडीलाई बढुवा गरिएको मन्त्री अर्यालले जानकारी दिइन् ।

मन्त्रिपरिषद्को बैठकले निजामती कर्मचारीहरूको आधिकरिक ट्रेड युनियनको निर्वाचन फेरि पनि स्थगित गरेको छ । मंसिर २८ गतेका लागि तय गरिएको ट्रेड युनियनको निर्वाचन तत्कालका लि लागि स्थगित गर्ने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण कायमै रहेकाले यसअघि पनि स्थगित भएको ट्रेड युनियनको निर्वाचन फेरि स्थागित गर्ने निर्णय लिइएको हो । यसअघि असोज २४ गतेका लागि तय भएको ट्रेड युनियनको निर्वाचन कोरोना भाइरसको संक्रमणकै कारण मंसिर २८ गतेका लागि तय सारिएको थियो । युनियनको नियमित निर्वाचन जेठ १९ गते हुनुपर्नेमा कोरोनाका कारण दोस्रो पटक सारिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट कर्मचारी संगठनले भने निर्वाचन स्थगित गरेकोप्रति असन्तुष्टि जनाउँदै आएको छ ।

प्रकाशित : मंसिर १०, २०७७ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?