बेच्‍न ल्याएको सालक बरामद, सशस्त्रका जवानसहित २ पक्राउ- समाचार - कान्तिपुर समाचार

बेच्‍न ल्याएको सालक बरामद, सशस्त्रका जवानसहित २ पक्राउ

कान्तिपुर संवाददाता

भक्तपुर — महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट जिउँदो सालकसहित सशस्त्र प्रहरीका जवान र अर्का एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सशस्त्र प्रहरीका जवान धादिङ सिद्धलेक गाउँपालिका–३ झार्लाङदी घर भई काठमाडौं–२६ लैनचौर बस्ने ३१ वर्षीय भिमबहादुर मगर र कपुरधारा बस्ने २७ वर्षीय ध्रुवबहादुर मगर पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट विभिन्न बैंकको चेक बुक, भौचर तथा एटीएम कार्ड,पेन ड्राइभ, ३ थान राजश्व तिरेको बिल, ४ थान मोबाइल, भिमबहादुर थापाको सवारी चालक अनुमतिपत्र तथा सशस्त्र प्रहरी बलको परिचयपत्र समेत बरामद गरेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए ।

विशेष सूचनाको आधारमा प्रहरीले उक्त सालक लिएर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । सालकको विषयमा थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय भक्तपुर पठाइने प्रहरीले जनाएको छ । बरामद गरेको सालकले एउटा बच्चा समेत जन्माएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १०, २०७७ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मती प्रदेश सरकारले क्यान्सर रोगीलाई ५० हजार उपलब्ध गराउने

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारले क्यान्सर रोग पीडितका लागि उपचारका लागि जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले चालु आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम अनुसार क्यान्सर रोग पीडितको उपचारमा ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । ‘प्रदेशभित्रका स्थायीवासीलाई हामीले उपचारमा सहयोग गर्नेछौं । हामीले आवश्यक कार्यविधि निर्माण गरिसकेका छौं’, प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले भने । क्यान्सर रोग पीडितका लागि संघीय सरकारले समेत एक लाख रुपैयाँ उपचारका लागि उपलब्ध गराउँदै आइरहेको छ ।

मन्त्रिपरिषद् बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक प्रशासनिक अधिकार प्रदान गर्ने निर्णय गरेको छ । ‘प्रदेश गौरवको आयोजनाको रुपमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक तथा प्रशासनिक नियमावली बैठकले पास गरेको छ । अब प्रतिष्ठान आफ्नो उद्देश्य अनुसार सञ्चालन हुनेछ ।’ ढुङ्गेलले प्रष्तिठानको केन्द्रीय कार्यालय हेटौंडामा रहने र आगामी शैक्षिक सत्रबाट प्रतिष्ठानले पठनपाठन सुरु गर्ने बताए ।

बैठकले प्रदेश यातायात सञ्चालन बोर्ड गठन गर्ने निर्णय गरेको छ । विशेषगरी प्रदेशभित्र सञ्चालन हुने विद्युतीय सवारीलाई व्यवस्थित गर्ने उद्देश्यले यातायात बोर्ड गठन गर्ने तयारी गरिएको उनले बताए ।

प्रकाशित : मंसिर १०, २०७७ १८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×