१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बर्दिवास तनावग्रस्त : निषेधाज्ञा तोड्दै प्रदर्शनकारी सडकमा, २ प्रहरी घाइते

सुनिता बराल

महोत्तरी — बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै प्रदर्शन चर्किएपछि महोत्तरी प्रशासनले बर्दिबास नगरक्षेत्रमा गरेको निषेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएका स्थानीयवासीले प्रहरीलाई ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीको आक्रमणमा परि २ जना प्रहरी घाइते भएका छन् । 

बर्दिवास तनावग्रस्त : निषेधाज्ञा तोड्दै प्रदर्शनकारी सडकमा, २ प्रहरी घाइते

प्रहरी जवान अर्जुन प्रसाद बानियाँको बियरको बोतलले लागि चिउडोमा काटेको र अर्का एक प्रहरीको घुँडामा चोट लागेको छ । उनीहरुको उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईंले जानकारी दिए ।

निषेधाज्ञाको समय प्रदर्शन र नाराबाजी गरेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीयले प्रहरीलाई ढुंगा र खाली बियरका बोतलले प्रहार गरेका छन् ।

स्थिती असामान्य बनेपछि प्रहरीले निरन्तर अश्रु ग्यास प्रहार गरिरहेको छ भने प्रदर्शनकारीहरु नारा र जुलुस लगाउँदै सडकमा उत्रिएका छन् ।

प्रदर्शनका क्रममा मंगलबार प्रहरीको गोली लागि घाइते भएका सञ्जय न्यौपानेको ज्यान गएपछि स्थिती झन् जटिल बनेको हो । मृतक सञ्जयलाई शहिद घोषणा गर्नुपर्ने, पीडित र घाइतेलाई उपचार गर्दै क्षतिपूर्ति तिर्नुपर्ने र बालिकाका हत्यारालाई कडा कारबाही गर्नुपर्ने सर्वपक्षिय मागसहित बर्दिवासमा आन्दोलन चर्किएको हो ।

बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म प्रशासनले निषेधाज्ञा लगाएको भएपनि प्रदर्शनकारीले त्यसको अवज्ञा गर्दै आफ्नो माग सम्बोधन हुनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् ।

प्रकाशित : मंसिर १०, २०७७ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?