बालिकाको हत्या : प्रदर्शन रोक्न बर्दिबासमा निषेधाज्ञा

इकान्तिपुर डेस्क

काठमाडौँ — बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै प्रदर्शन चर्किएपछि महोत्तरी प्रशासनले बर्दिबास नगरक्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मलाई निषेधाज्ञा लगाएको हो ।

बालिकाको हत्या : प्रदर्शन रोक्न बर्दिबासमा निषेधाज्ञा

पूर्वमा बर्दिवास नगरपालिका–१ रातुखोला, पश्चिममा वडा नम्बर ५ माईस्थान, उत्तरमा वडा नं ३ पाटुचोक र दक्षिणमा वडा नं ८ क्वाटर चोकलाई चार किल्ला कायम गरी निषेधाज्ञा लगाइएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा जारी निषेधाज्ञामा आदेश पालना नगर्नेलाई कारबाही गरिने उल्लेख छ ।निषेधाज्ञा भए पनि पूर्व–पश्चिम राजमार्गमा भने गाडी चल्न दिइने प्रशासनले जनाएको छ ।

मंगलबार ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । बर्दिबास–१ बुद्धिराज न्यौपाने (सञ्जय) को उपचारकै मंगलबार राति मृत्यु भएको हो ।

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । बालिका दुई दिनदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकै न्यौपानेको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलबार राति १ बजे न्यौपानेको ज्यान गएको बर्दिवासका बासिन्दा बिस्नु बम्जनले जानकारी दिए । बालिकाको हत्या गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित : मंसिर १०, २०७७ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?