भन्‍न नसक्नेका पीडा बोलिदिने कसले ?

आफूलाई भएको हिंसा र दुर्व्यवहारबारे राम्ररी थाहा नपाउने, भन्न नसक्ने बौद्धिक अपांगता भएका महिलालाई लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानले छोएन ।
विद्या राई

काठमाडौँ — स्वयम्भूकी रञ्जना (परिवर्तित नाम) लाई घरधन्दा जति नै बिते पनि छोरीले रहर गरेको दिन स्कुल पठाउन पाएपछि सारा काम भ्याएझैं लाग्थ्यो । स्कुलको गाडीमा चढाएपछि छोरी पनि खुसी भएर जान्थिन् । छोरीले एक्कासि स्कुल जान मन गर्न छाडिन् ।

भन्‍न नसक्नेका पीडा बोलिदिने कसले ?

‘पहिला–पहिला राम्रो नाना लगाएर स्कुल गाडीमा सुइँय्या जाने है छोरी भन्दा खुसी हुन्थिन्, पछि त जति फकाए नि नमान्ने, के भयो–भयो, न उसले भन्न सक्ने न मैले उसको मनमा छिर्न सक्ने’ आमाले सुनाइन् ।

सानैमा डाउन सिन्ड्रोम (बौद्धिक अपांगता) भएकी छोरीको उमेरअनुसार बौद्धिक विकास भएको छैन । सामान्य बोलीचालीको शब्द बोल्छिन् । आमाले बाहेक अरूलाई बुझ्न कठिन हुन्छ । १७ वर्ष भइसकेकी छोरी मानसिक र शारीरिक रूपमै सुस्त पाउँदा आमाको मन बेला बेला कुँडिन्छ । पढ्ने लेख्ने उमेरकी छोरी स्कुल पठाएपछि चेतनास्तर बढ्छ कि भन्ने आशले विशेष स्कुलमा पठाउन थालेका थिए । बेलाबखत स्कुल जान तम्सिँदा पनि बाआमाका लागि खुसीको सीमा हुन्थेन ।

अचानक स्कुल जान नमानेपछि शिक्षक, साथीभाइले उनलाई मन नपर्ने व्यवहार गरे कि, काम बिगारेर गाली पो खाएकी थिइन कि भनेर आमाले सोधीखोजी गरिन् । कसैबाट नराम्रो भएको पाइनन् । त्यसपछि उनको शंकाको सुई स्कुल गाडीतिर सोझियो । ‘पालेले बच्चाहरूलाई गाडी चढाउने, ओराल्ने क्रममा जिउतिर अनावश्यक छोइदिने गरेको देखे, एक जना मिस पनि गाडीमा हिँड्नुपर्‍यो, पाले दाइको व्यवहार ठीक छैन भनेर म्याम र अभिभावकहरूसँग भनेँ,’ रञ्जनाले भनिन्, ‘मलाई त्यो कुरा मनै परेन, छोरीको स्कुल फेरिदिएँ । अर्कोमा खुसी भएर जान थालिन् ।’

समाजमा रञ्जनाकी छोरीजस्तै बौद्धिक अपांगता भएका छोरीहरू यौन दुर्व्यवहार र हिंसामा पर्ने थुप्रै घटनाहरू हुने गरेको अभिभावक तथा सरोकारवालाले बताएका छन् । ‘त्यस्तो प्रवृत्ति भएका पुरुषहरूले यिनलाई जे गरे पनि थाहा पाउँदैनन्, भन्न सक्दैनन्, सुनाइदिए पनि कसले पत्याउने भनेर सुम्सुम्याउने, मसार्ने, संवेदनशील अंगहरू छोइदिएर मज्जा लिने गर्छन्,’ एक अभिभावकले भनिन् । मायाप्रेम गरेको बहानामा अमर्यादित व्यवहार गर्छन् । यसले गर्दा बौद्धिक अपांगता भएका छोरी/महिलाहरू मानसिक रूपमा झनै विक्षिप्त हुने गरेको उनले बताइन् ।

रोजीरोटीको सवाल हुने भएकाले परिवारले आयआर्जनको काममा जानुपरेपछि पर्याप्त समय दिन नसकेर यौन हिंसा र दुर्व्यवहारमा पर्ने महिलाका अभिभावकसमेत पीडामा पर्ने गरेका छन् ।

आफ्नै घर, परिवार, आफन्त, छिमेकीबाट दुर्व्यवहारको सिकार हुन्छन् । त्यो पीडा अरूलाई व्यक्त गर्न सक्दैनन् । एक वर्षअघि अछाम रामारोसनकी बौद्धिक अपांगता भएकी १२ वर्षीया बालिका बलात्कारबाटै गर्भवती भइन् । उनी गर्भवती भएको पाँच महिनापछि मात्रै परिवारलाई थाहा भयो । उनी बोल्दिनन् । उनलाई कसले बलात्कार गर्‍यो भन्न सकिनन् । उनका बाआमा पनि बोल्न सक्दैनन् । गर्भ पत्ता लगेको पाँच महिनापछि बालिकाकी ठूलाबाले काठमाडौंमा उपचारका ल्याए । बालिकालाई काठमाडौंकै एक संस्थामा राखिएको छ ।

सरकारले हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान विविध कार्यक्रम गरेर मनाउँदै आएको छ । यस वर्ष पनि अभियान मनाउँदै छ । आफूलाई भएको हिंसाबारे राम्ररी थाहा नपाउने, भन्न नसक्ने बौद्धिक अपांगता भएका महिलाहरूलाई भने यस्ता अभियानले नछोएको अधिकारकर्मीले गुनासो गरेका छन् ।

बौद्धिक अपांग आमा समाज ललितपुरकी सचिव एवं अधिकारकर्मी सिर्जना केसी भन्छिन्, ‘सरकार दिगो विकास लक्ष्यका कुरा गर्छ, तर आफूमाथि भएको हिंसा र दुर्व्यवहारबारे आफैंले मलाई फलानाले यसो गर्‍यो, यसो भयो भन्न नसक्नेका लागि खोई कहाँ छ ? कुनै कार्यक्रममा बौद्धिक अपांगता भएका महिलालाई समेटेको मैले देखेको छैन ।’ ०६८ सालको जनगणना अनुसार बौद्धिक अपांगता भएकाहरूको जनसंख्या १४ हजार ८ सय ८८ छ । जसमा महिला ६ हजार ६ सय ८ र पुरुष ८ हजार २ सय ८० छन् ।

प्रकाशित : मंसिर १०, २०७७ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?