कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

हत्याका आरोपितलाई धरौटीमा छाड्दा

सुनिता बराल

महोत्तरी — जिल्ला अदालत महोत्तरीले गत जेठमा गरेको ‘शंकास्पद’ आदेशका कारण थुनामा रहनुपर्ने एक आरोपितले अर्को हत्या गरेका छन् । व्यक्ति हत्याको आरोप लागेका अरुणकुमार साहलाई एक लाख धरौटीमा छाड्दा उनले बालिकाको हत्या गरेका हुन् । यस्तो विवादास्पद आदेश गर्ने न्यायाधीश सुमनकुमार न्यौपाने हुन् । न्यौपाने अहिले महोत्तरीबाट सरुवा भइसकेका छन् ।

हत्याका आरोपितलाई धरौटीमा छाड्दा

साहले गत वैशाखमा मदिरापानपछि दिलीप ठाकुरको हत्या गरेका थिए । टाउकोमा लाठीले प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि फरार भएका साह धनुषामा पक्राउ परे । उनले प्रहरीसँगको बयानमा आरोप पनि स्विकारे । जन्मकैदको सजायसहित क्षतिपूर्तिको माग राख्दै दायर गरेको मुद्दामा प्रहरीले उनीविरुद्ध पर्याप्त प्रमाण जुटाएको थियो । तर न्यायाधीश न्यौपानेले थुनामा राखी प्रक्रिया अघि बढाउनुपर्ने प्रकृतिको मुद्दामा धरौटीमा छाड्ने विवादास्पद आदेश गरिदिए । त्यही आदेशको भरमा बाहिर निस्केका उनले आइतबार ६ वर्षीया बालिकाको हत्या गरेका हुन् ।

महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया गुलबसा खातुन र उनकी ४ वर्षकी बहिनी आपसा आइतबार दिउँसो साढे ३ बजे चकलेट किन्न निस्किए । आमा सविनाले दिएको १० रुपैयाँले छिमेकी अरुणकुमार साहको पसलबाट चकलेट किनेर दुवै घर फर्किए तर गुलबसा फेरि घरबाट निस्किइन् । अबेरसम्म नफर्किएपछि आमा र बुबा साहिदले छोरी हराएको भन्दै टोलमा खबर गरे । स्थानीयले गाउँघर र जंगलमा समेत राति अबेरसम्म खोजी गरे तर बालिका फेला परिनन् ।

सोमबार राति बोरामा कोचिएको अवस्थामा उनको शव भेटियो । पसले साहले ललाइफकाई पुनः पसलमा चकलेट खान बोलाएको र बलात्कार गरी हत्या गरेको बालिकाको परिवारको दाबी छ । साहले पनि गुलबसाको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार साहले आइतबार साँझ नै बालिकाको हत्या गरे र घरका व्यक्तिले थाहा पाउलान् भन्ने डरले बोरामा शव कोचेर दिनभर घरमै राखे । सोमबार साँझ शव राखिएको बोरा घरनजिक फालेर बर्दिबासबाट पुरानो गाउँ महोत्तरीको गौशाला पुगे । साहका बुबा राजकिशोर ‘छोराले बालिका मारें भन्छ बुझिदिनुपर्‍यो’ भन्दै सोमबार मध्यरात इलाका प्रहरी कार्यालय गौशालामा आफैं पुगेको प्रहरीले जनाएको छ । घटनाबारे बुझेपछि हत्यामा संलग्न अरुणकुमारलाई पक्राउ गरी बर्दिबास प्रहरीको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए ।

बालिकाको बलात्कारपछि हत्या भएको आक्रोशमा मंगलबार दिनभर पूर्व–पश्चिम राजमार्गका बर्दिबास बजार तनावग्रस्त बन्यो । बीपी राजमार्गमा समेत स्थानीयले टायर बाली प्रदर्शन गरेपछि करिब ५ घण्टा सवारी अवरुद्ध भएको थियो । उनीहरूले पक्राउ परेका साहको घरमा आगजनीसमेत गरेका छन् । प्रदर्शनकारीले दोषीलाई तत्काल कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।

बालिकाको शव राजमार्गमा राखेर प्रदर्शनमा उत्रिएपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गोली लागी घाइते भएका बर्दिबास–१ का बुद्धिराज (सञ्जय) न्यौपानेको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै अर्का घाइते बर्दिबास–५ का श्याम कार्कीको काठमाडौंमा उपचार भइरहेको बर्दिबास–१ का अध्यक्ष चूडामणि पोखरेलले बताए । प्रहरीको लाठी प्रहारबाट घाइते अर्का एक जनाको परिचय खुलेको छैन । लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा आउन नसकेपछि गोली चलाएको इप्रका बर्दिबासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए । बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

बर्दिबास र गौशाला दुवैतिर घर भएका साहले बर्दिबासमा लकडाउन अवधिमै स्थानीय बालिकालाई बलात्कारको प्रयास गरेका थिए । गाउँलेले थाहा पाएपछि बालिकाको उद्धार गरिएको स्थानीय कमल न्यौपानेले बताए । उनले बर्दिबासका केही बालिका तथा किशोरीलाई बलात्कार गरिसकेको तर डरत्रासले प्रहरीमा उजुरी नपरेको स्थानीयले बताएका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : मंसिर १०, २०७७ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?