बीबीसीको प्रभावशाली ‘सय महिला-२०२०’ को सूचीमा नेपालकी सपना- समाचार - कान्तिपुर समाचार

बीबीसीको प्रभावशाली ‘सय महिला-२०२०’ को सूचीमा नेपालकी सपना

इकान्तिपुर डेस्क

काठमाडौँ — बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छिन् ।

बीबीसीले १०० महिला कार्यक्रम शृङ्खलाअन्तर्गत प्रकाशित गर्ने प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूचीमा सपना परेकी हुन् । बीबीसीले सन् २०१३ देखि यस्तो सूची प्रकाशित गर्दै आएको छ ।

सपनाले बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी छिन् । म्याग्दीकी सपनाले अहिलेसम्म करिब ३ सय बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् । सडकमै अलपत्र अवस्थामा परेका शव अस्पताल लगेर पोस्टमर्टम गर्नेदेखि पशुपति आर्यघाट लगेर संस्कारअनुसार अन्त्येष्टि गराउने काममा सपना निरन्तर खट्दै आएकी छिन् ।


आर्यघाटमा बेवारिसे शव अन्त्येष्टि गर्दै सपना र विनयजंग बस्नेत । तस्बिर : सपना राेका मगरकाे फेसबुकबाट

यस्तै बेवारिसे शव व्यवस्थापनमा लामो समयदेखि खटिरहेका विनयजंग बस्नेतसँग मिलेर उनले काम गरिरहेकी छिन् । जसलाई उनी कर्मबुवा पनि मान्छिन् ।

‘विश्वमा थुप्रै मानिस घरबारविहीन छन् । सडकमै मृत्यु भएकाहरुको उचित अन्तिम संस्कार हुनुपर्छ । मैले यो काम समाज सेवाका लागि होइन, आत्मशान्तिका लागि गर्दै आएकी हुँ,’ उनले बीबीसीसँग भनेकी छिन् ।

सपनासँगै यस वर्ष बीबीसीले प्रकाशित गरेको १०० महिलाको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, बेलायती वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङ फाङलगायतका विभिन्न क्षेत्रमा सक्रिय व्यक्ति रहेका छन् ।

प्रकाशित : मंसिर ९, २०७७ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्

लागेन यसपालि कुस्ती मेला

शंकर आचार्य

पर्सा — कुस्ती र दंगल भन्नेबित्तिकै तराईको अखडाका जोसिलो दृश्यहरू जोकोहीको मानसपटलमा आउन थाल्छ । त्यसमाथि छठ पर्व सकिएपछि मनोरञ्जनका लागि खेलिने कुस्ती प्रतिस्पर्धा तराईमा बहुप्रतीक्षित हुन्छ । चाडपर्व र मेलापातमा खेलाइने कुस्तीले तराईमा मर्दको पहिचान जीवन्त राख्दै आएको छ । 

पारिलो घाममा शरीरभरि पहेँलो माटो दलेर तरतरी पसिना चुहाइरहेका लंगौटधारी भीमकाय पहलमानहरूले प्रतिद्वन्द्वी पहलमानलाई चित पार्न दंगलमा गर्ने कठोर परिश्रम अनि तिनको कलात्मक दाउपेच हेर्न कुस्तीका अम्मली तराईवासी वर्षभर प्रतीक्षारत हुन्छन् । तर यसपालि पर्साका कुस्ती पारखीले खल्लो महसुस गर्नुपरेको छ ।

कोरोना कहरका कारण जिल्लाको पश्चिमीभेगस्थित पकाहामैनपुर गाउँपालिकाको धोरेमा लाग्ने कुस्ती मेला लागेन । वीरगन्जको इनर्वामा लाग्ने कुस्ती मेला पनि आयोजना भएन । सबै कुरा सामान्य भएको भए शनिबार यस भेगका कुस्ती पारखीहरू दुवै मेला भर्ने ध्याउन्नमा हुन्थे । कोही इनर्वामा चित्त बुझाउँथे भने कोही धोरेतिर कुदिसकेका हुन्थे । दुवै कुस्ती मेला यस भेगमा निकै प्रसिद्ध छ । अखडामा लड्न होइन, कुस्तीको मज्जा लिन पनि नेपालमात्र नभई भारतका दूरदराजका पहलमान र कुस्तीका अम्मली मेला भर्न आउँथे ।

छठ पर्वको लामो व्यस्तताका कारण भएको थकान मेट्न र मनोरञ्जनको मुडमा हुन्छन् तराईवासी । कुस्तीको मज्जा लिने क्रममा उनीहरू उत्तेजित पनि हुन्छन् । उत्तेजित दर्शकको भिड हुटिङ गर्ने क्रममा अनियन्त्रित हुँदा पटक–पटक प्रहरीले लाठीचार्ज गर्नुपर्ने अवस्था आउँछ ।

पहलमानहरूले खेल सुरु गर्नुअघि उनीहरूउपर इनामवापत पैसा दिनेमा पनि दर्शक तँछाडमछाड गर्थे । जिते नि हारे पनि पहलवानले इनामबापतको पैसा आफैं राख्न पाउँछन् । हजारौं दर्शकले घेरेको अखडावरपरको तापक्रम भीडभाड र पहलमानको जोसले तात्ने गर्थ्यो । कतिपय दर्शक आफैं पनि कुस्तीमा लड्न अखडामा ओर्लिन्थे । कुस्तीको अखडामा ओर्लिन व्यावसायिक खेलाडी नै हुनुपर्छ भन्ने छैन ।

दर्शकदीर्घामै बसिरहेका दर्शक पनि आत्मविश्वास भए अखडाबाट कुनै पहलमान दिएको खुला चुनौती स्विकारे त्यहाँ उक्लन पाउँछन् । त्यसैकारण पनि तराईको यो प्राचीन र रोमाञ्चक कुस्तीलाई ‘मर्दको खेल’ भनिएको हो । त्यसो त सीमावर्ती धोरे गाउँ कुस्तीकै लागि प्रख्यात छ । यहाँ कुस्तीको मेला मात्रै लाग्दैन ।

नरेश गिरीजस्ता अपराजित कुस्तीवाजको यो गाउँमा पुराना र नयाँ गरी दुवै पुस्ताका कुस्तीवाज पाइन्छन् । कतिपय कुस्तीवाज राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताको अखडामा ओर्लिसके । नयाँ पुस्ताका कुस्तीवाजहरू अझै पनि दैनिक अभ्यास गर्छन् र अवसरको प्रतीक्षामा बसिरहेका छन् ।

इनर्वामा कुस्ती हेर्न पुगेका वीरगन्ज प्रसौनीका कुस्ती पारखी विजय कोइरीले यस वर्ष नरमाइलो भएको सुनाए । ‘मलगायत केही साथी माईको टोली निकै मुड बनाएर कुस्ती हेर्न आएका थियौं,’ उनले भने, ‘तर यसपालि न अखडा छ, न त पहलमान । अनि अखडा घेरेर ठेलमठेल गरिबसेका दर्शकको त्यो भिड ।’

स्थानीय वासिन्दा एवम् युवा दुग्ध व्यवसायी श्यामवदन यादव आफ्नो जीवनकालमै पहिलो पटक धोरेमा कुस्ती मेला नलागेको बताउँछन् । ‘धोरे र कुस्ती एकअर्काका पर्याय हुन्, त्यसमाथि छठको समयमा लाग्ने कुस्ती मेला हाम्रो पुर्खाको पालादेखि लाग्दै आएको हो,’ उनले सुनाए, ‘तर यसपालि पहिलो पटक छठमा कुस्ती मेला लागेन, मेला हेर्न भनी आएका थुप्रै पारखी खल्लो मानेर फर्किए ।’

वीरगन्ज इनर्वाका लालदेव यादव यसपालि कोरोना कहरकै कारण गाउँमा कुस्ती आयोजना नभएको बताउँछन् । ‘कोरोना कहरका कारण यसपालि कुस्ती नै आयोजना भएन,’ उनले भने, ‘दर्शकहरू टाढा–टाढाबाट आएर नरमाइलो मान्दै फर्किए ।’

प्रकाशित : मंसिर ९, २०७७ १२:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×