कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

नाका नखुल्दा बढ्यो महँगी

लक्ष्मी साह

सिम्रौनगढ, बारा — नेपाल–भारत सीमाबाट ९ किलोमिटर पर छ घोडासहन बजार । उनको घर भने सीमाबाट एक किमि वरै छ । त्यहाँबाट वारिका सिम्रौनगढ र कचोर्वा बजार पनि लगभग घोडासहनजत्तिकै दूरीमा पर्छन् ।

तर सात जनाको परिवारलाई आवश्यक पर्ने लुगाफाटो, औषधि, खाद्यान्नदेखि कृषि सामग्रीलगायत जुटाउन सिम्रौनगढ नगरपालिका–९ ठूलो बसबरिया टोलका ४५ वर्षीय राजेश राय यादव घोडासहन नै धाउँथे ।

किनमेलका लागि सीमापारिकै बजार धाउनुको मुख्य कारण हो– महँगीबाट जोगिनु । तर लामो समयदेखिको सीमा बन्दले किनमेलका लागि पारि जान सकेका छैनन् । ‘नुनदेखि सुनसम्मका सामान किन्न पारि सस्तो पर्ने भएकाले उतै जान्थ्यौं,’ उनले भने, ‘उता ८ रुपैयाँ भारुमा पाइने १ केजी नुन यता (नेपाल) २५ रुपैयाँ पर्छ । त्यसैले हामी पारिकै बजारमा निर्भर छौं ।’ कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि दुवैतर्फका सरकारले चैत दोस्रो साताबाट अन्तर्राष्ट्रिय सीमानाकाहरू बन्द गराएका छन् । आठ महिनासम्म सीमा बन्द हुँदा दैनिक उपभोग्य वस्तु खरिदका लागि सीमावर्ती भारतीय बजारमा निर्भर बासिन्दा मारमा परेका छन् । लुकीछिपी सीमा पार गरे पनि फर्किंदा दुवैतर्फका सुरक्षाकर्मीले ‘खर्च’ माग्ने, हप्काउने गरेको स्थानीयको गुनासो छ ।

‘कथंकदाचित लुकीछिपी चोर वा गोरेटो बाटो भएर पारिबाट सामान किनेर वारि फर्कियौं भने पनि दशगजामा तैनाथ दुवैतर्फका सुरक्षाकर्मीबाट हप्कीदप्की खानु पर्छ । त्यति मात्र होइन, ५०/१०० रुपैयाँ सामान ल्याएबापत माग्छन्,’ उनले भने, ‘त्यसैले पारि जानै छाडेको छु । को सधैं दुर्व्यवहार सहोस् ?’

उनीजस्तै सीमा बन्दा हुँदा महँगीको मारमा परेको सुनाउने सीमावर्ती क्षेत्रमा थुप्रै भेटिन्छन् । सिम्रौनगढ–११ लक्ष्मीनिया टोलका ४० वर्षीय गगनदेव यादव छठका लागि आवश्यक सबै सामान घोडासहनबाटै ल्याउँथे । यसपालि वारिकै स्थानीय बजारबाट परिवारका लागि लुगा र पूजा सामग्री किन्दा छठ नै महँगो परेको अनुभव सुनाए । ‘छठमा १० हजार रुपैयाँमा किनमेल भ्याइने अनुमान थियो तर १५ हजारभन्दा बढी खर्च भयो,’ उनले भने, ‘सीमामा समस्या नभएको भए हामीजस्तो निम्न परिवारका किसानलाई आर्थिक भार कम पर्थ्यो । ठूला व्यापारीलाई भने समस्या छैन तर दिनहुँ प्रयोगमा आउने घरायसी सामान ल्याउन हामीलाई समस्या छ ।’

लक्ष्मीनियाकै शिक्षक लक्ष्मीनारायण साह तेलीले वारि र पारिका छोरीचेलीहरूका लागि अनिवार्य पुर्‍याउनुपर्ने छठको कोसेली सीमा बन्दले पुर्‍याउन नसकिएको बताए । ‘जाति, भेषभूषा, बोलीचाली, रहनसहन, पहिरन, धर्म र संस्कृति उस्ताउस्तै भएकाले पारिका कतिको पारिवारिक सम्बन्ध वारि छ भने वारिका कतिको सम्बन्ध पारि छ, त्यसैले हाम्रो आउजाउ भइरहन्छ,’ उनले भने ।

सीमा बन्दपछि वारि र पारिका समुदायबीचमा आर्थिक, सामाजिक, भौगोलिक, सांस्कृतिक, धार्मिक र वैवाहिक सम्बन्ध टुटिरहेको उनले बताए । ‘वैवाहिक सम्बन्ध रहेकाले रगत र रोटीबेटीकै सम्बन्ध छ,’ उनले भने, ‘हामीलाई जीवनयापन र पारिवारिक सम्बन्धलाई निरन्तरता दिन पनि कठिनाइ भइरहेको छ ।’ सीमा आसपासमा एउटा गाउँ दुई देशमा फैलिएका छन् ।

अर्का शिक्षक रामविलास साहका अनुसार दशगजाले देशको सीमा विभाजन गरेको भए पनि स्थानीयको भावनामा विभाजन ल्याउन सकेको छैन । पारिका धेरैजसो स्थानीयको घरगोठ र खेतीयोग्य जमिन वारि छ भने वारिका स्थानीयको भारतपट्टि छ ।

प्रकाशित : मंसिर ९, २०७७ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?