१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

४० दिनसम्म पनि खुलेन प्रतिष्ठानको ताला

एलपी देवकोटा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो डीन नियुक्तिपछि कर्मचारी कल्याणकारी समाजले लगाएको ताला ४० दिनदेखि खुलेको छैन ।

४० दिनसम्म पनि खुलेन प्रतिष्ठानको ताला

असोज २६ गते प्रतिष्ठानको सम्पर्क कार्यालय ललितपुरबाट उपकलुपति प्रा.डा.राजेन्द्रराज वाग्लेले जनस्वास्थ्य संकायको डीनमा प्रा.डा.मुनिराज क्षेत्रीलाई नियुक्त गरेपछि समाजले ताला लगाएको थियो ।

क्षेत्री प्रतिष्ठानको तेस्रो डीन हुन् । निर्णय सच्याउन उपकुलपतिलाई अल्टिमेटम दिए पनि नसच्याएपछि तालाबन्दी गरिएको समाजकाका अध्यक्ष रमाकान्त उपाध्यायले बताए । उनका अनुसार यसअघि नै प्रतिष्ठानमा दुई डीन छन् । ‘दुई डीनले भूमिका नपाइरहेको बेला प्रतिष्ठानलाई आर्थिक भार पार्न तेस्रो डीन नियुक्त गरियो,’ उनले भने, ‘ताला लगाएको ४० दिन पुग्दासमेत निर्णय सच्याउन पहल भएको छैन ।’ उनले आफूहरुको माग पूरा नभएसम्म तालाबन्दी जारी राखिने बताए ।

कर्मचारीले प्रतिष्ठानको उपकुलपति कार्यालय, शिक्षाध्यक्षको कार्यालय र रजिष्ट्रारको कार्यालयमा ताला लगाएका छन् । ताला खोल्नेको लागि आन्दोलित कर्मचारी र केही पदाधिकारीबीच पटकपटक छलफल भएपनि वार्ता सफल भएको छैन । उपकुलपतिसँग मात्र थप छलफल गर्ने आन्दोलित कर्मचारीको अडान छ ।

डीन नियुक्तिको विषयमा कार्यकारी परिषद्को बैठकबाट टुंगो लगाउने तयारी भइरहेको प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले बताए । ‘ताला खुलाउन विषयमा पटकपटक छलफल भएको छ,’ उनले भने, ‘वार्ता सहमति नजिक पुगेको छ, १/२ दिनभित्रै ताला खुल्छ ।’

प्रकाशित : मंसिर ८, २०७७ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?