कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बालक हत्यामा संलग्‍न अझै भेटिएनन्

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेको डुडवा गाउँपालिका–३ वनकट्टीका १२ वर्षीय सुनील रैदासको हत्या भएको करिब एक महिना पुग्न थालिसक्यो तर हत्यामा संलग्न अझै पक्राउ परेका छैनन् । प्रहरीले शंकाका आधारमा गाउँलेलाई जथाभाबी नियन्त्रणमा लिएर सोधपुछ गरेको स्थानीयको आरोप छ ।

बालक हत्यामा संलग्‍न अझै भेटिएनन्

बालकका परिवार हत्या गरिएको दाबीसहित संलग्नको पहिचान गरी कारबाहीको माग गर्दै प्रहरी कार्यालय धाइरहेका छन् । ‘हामीले शंका गरेको व्यक्तिमाथि किटानी जाहेरी दिन खोज्दा यो हुँदैन, अरू अपराधी भाग्न सक्छ भन्छन्,’ बालकका बुबा विषरामले भने, ‘हामीले भनेजस्तो गरी प्रहरीले अनुसन्धान नगर्दा हत्यारा पत्ता नलागेको हो ।’

प्रहरीले एकपछि अर्का व्यक्तिलाई पक्राउ गरेर सोधपुछ जारी राखेको छ । हत्यामा संलग्न आरोपित लामो समयसम्म पत्ता नलागेपछि बालकका परिवार शोकमा छन् । आमा रेखा छोरा सम्झेर अझै भक्कानिन्छिन् । शव भेटिएका बेला मोबाइलले खिचेको भिडियो हेरेर बेहोस हुने गरेकी छन् । उक्त भिडियोमा बालकको दुवै आँखामा रगत भरिएको देखिन्छ । चिउँडोमा गहिरो घाउ छ । दुई हातले भुइँ टेकेको देखिन्छ । ‘हाम्रो छोरालाई यस्तो यातना दिएर हत्या गर्नेलाई तुरुन्त कारबाही हुनुपर्छ,’ विषरामले भने, ‘तर अहिलेसम्म हत्यारा पत्ता लागेन ।’

परिवारका अनुसार सुनील नेपालगन्जमै बसेर स्थानीय ब्रिटिस इङ्लिस बोर्डिङ स्कुलमा नर्सरी कक्षामा पढ्थे । कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि बुबासँगै नेपालगन्जबाट घर आउजाउ गर्थे । उनका बुबा विषराम नेपालगन्जस्थित फर्निचर पसलमा काम गर्छन् । गत कात्तिक १० गते बिहान विषरामले आफूसँगै छोरा सुनीललाई नेपालगन्ज ल्याए । साँझ सँगै घर लिएर गए । त्यसै राति गाउँ नजिकैको मन्दिरमा दुर्गा माताको भण्डारा थियो ।

दसैंमा राखिएको दुर्गाको मूर्ति विसर्जनपछि भण्डारा आयोजना गरिएको थियो । साँझ ८ बजेतिर सुनील भण्डारास्थलमा गए । विषरामका अनुसार त्यस दिन सुनीलले मोबाइल पनि सँगै लिएर गएका थिए । साँझ सवा ८ बजेतिर उनले छोरालाई फोन गरे । ‘कति बेला घर आउँछस् भनेर सोधें,’ उनले भने, ‘बाबु (सुनील) ले म ट्वाइलेट गर्दै छु, एकछिनमा आउँछु भनेर फोन राख्यो ।’ त्यस दिन राति साढे ९ बजेसम्म घर नफर्केपछि आमा रेखाले फेरि मोबाइलमा सम्पर्क गर्न खोजिन् । ‘तर, मोबाइलले स्वीच अफ भन्यो,’ उनले भनिन्, ‘मेरो मुटु चिसो भयो । गाउँभरि खोज्न थालें । कहाँबाट भेटियोस्, राक्षसहरूले छोरालाई मारिसकेका रहेछन् ।’

भण्डारा अवलोकन गर्न गएको छोरा हराएपछि रातभरि सुत्न नसकेको रेखाले बताइन् ।

कात्तिक ११ गते बिहान विषराम दाजुभाइसहित छोराको खोजीमा निस्किए । छिमेकी गाउँ वनकट्टी, लोधपुरवा र रामपुरवा गाउँ पुगेर सोधपुछ गरे । सोही दिन बिहान साढे ९ बजेतिर गाउँ नजिकैको तलाउमा एक बालकको शव भेटिएको हल्ला फैलियो । उक्त शव सुनीलकै थियो । शव भेटिएको स्थानदेखि ५ सय मिटर पश्चिममा इलाका प्रहरी कार्यालय वनकट्टीको कार्यालय छ । प्रहरी कार्यालयछेउमै बालकको शव भेटिएपछि प्रहरीले लास मुचुल्का गरी पोस्टमार्टमका लागि नेपालगन्ज लाग्यो । बालकको शव बीभत्स अवस्थामा फेला परेपछि गाउँ शोकमा डुब्यो । प्रहरीले कात्तिक ११ गतेबाटै घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

कात्तिक १६ मा मात्रै प्रहरीमा जाहेरी दर्ता भयो । बालक मृत फेला परेको २७ औं दिनसम्म प्रहरीले हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न सकेको छैन । बुबा विषरामले जग्गाको विषयमा भएको विवादका कारण छोराको हत्या भएको हुन सक्ने बताए । प्रहरीले अनुसन्धानको दायरा बढाउन नसकेका कारण हत्या घटना खुल्न नसकेको स्थानीयको आरोप छ ।

प्रहरीले जेल सजाय भोगेर आएका व्यक्तिलाई बढी अनुसन्धानको दायरामा ल्याएको जनाएको छ । पीडित परिवारले भने शंका गरेका व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याएको बताएका छन् । जिल्ला प्रहरीका प्रवक्ता डीएसपी सुभास खड्काले घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए । ‘घटना भएयता हामी निरन्तर अनुसन्धानमा छौं, सोधपुछ जारी नै छ,’ उनले भने, ‘किटान भइनसकेकाले किटानी जाहेरी दर्ता नभएको हो ।’

प्रकाशित : मंसिर ८, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?