कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कोरोना अस्पतालमा आएनन् स्वास्थ्यकर्मी

अगन्धर तिवारी

पर्वत — कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय तहको व्यवस्थापन रहने गरी अस्थायी अस्पताल बन्न थालेका छन् । जिल्लाका सबैजसो स्थानीय तहले अस्पताल निर्माण गरे पनि स्वास्थ्यकर्मी नपाउँदा उपचार सेवा प्रभावित बनेको छ ।

कोरोना अस्पतालमा आएनन् स्वास्थ्यकर्मी

संघीय सरकारले सबै स्थानीय तहलाई कम्तीमा ५ बेडको अस्थायी कोरोना अस्पताल बनाउन निर्देशनसहित बजेट पनि पठाइसकेको छ । पर्वतका कुश्माबाहेक सबै स्थानीय तहले अस्पतालको व्यवस्थापन गरेको भए पनि स्वास्थ्यकर्मीको आवेदन नपरेपछि अस्पतालमा आउने बिरामीको व्यवस्थापनमा समस्या परेको हो । पैयुँ र महाशिला गाउँपालिकाले चिकित्सकीय सेवासहितको अस्पतालका संरचना तयार पारेका छन् । तर करारमा स्वास्थ्यकर्मी माग गरेकामा ती पालिकाले स्वास्थ्यकर्मी पाउन सकेका छैनन् ।

‘करारमा माग गरेर सूचना निकालेको हो,’ पैयुँका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले भने, ‘एक जना डाक्टरलाई सिफारिस गरेका हौं, आउनुभएन ।’ बिहादीका अध्यक्ष कमलप्रसाद भुसालका अनुसार सूचना प्रकाशित गरेको एक महिनाभन्दा लामो समयसम्म पनि स्वास्थ्यकर्मी पाइएको छैन ।’

लकडाउन सुरु भएलगत्तै २० बेडको अस्थायी अस्पताल निर्माण गरेको कुश्मा नगरपालिकाले कुश्मा अस्पतालकै स्वास्थ्यकर्मीलाई काजमा लिएर व्यवस्थापन गरिरहेको छ । गुप्तेश्वर क्याम्पसलाई अस्पतालमा रूपान्तरण गरेको कुश्माले ८० बेडसम्मको व्यवस्थापन गरेको थियो । नगर प्रमुख रामचन्द्र जोशीका अनुसार कुश्मा अस्पतालकै केही स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा दिएर काम लगाइएको छ ।

‘सुरुमा सबै पालिकाले व्यवस्थापन गर्ने कुरा हो,’ उनले भने, ‘अहिले सबै पालिकाले अस्पताल बनाउने भनेपछि यहाँको जिम्मेवारी हामीले लिनुपरेको छ ।’ महाशिला गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लुङ्खुका डाक्टर र नर्सलाई अतिरिक्त सुविधा दिएर सेवा सञ्चालन गरेको छ । ‘हामीले नयाँ स्वास्थ्यकर्मी आवश्यक ठानेनौं,’ वडा नम्बर ५ का अध्यक्ष जीवनविक्रम उचै ठकुरीले भने, ‘स्वास्थ्य केन्द्रकै मेडिकल अफिसरलाई केही सुविधा थपेर काममा लगाएका छौं ।’

८ बेडको अस्थायी कोरोना अस्पताल भएकामा अहिले ३ जना सामान्य लक्षण भएका बिरामी उपचाररत छन् । फलेवास नगरपालिकाले स्वास्थ्यकर्मी नपाएपछि सेवा करारमा लिने तयारी गरेको नगर प्रमुख पदमपाणि शर्माले बताए ।

सबैजसो स्थानीय तहले ५ बेडको अस्पतालका लागि मेडिकल अधिकृत (डाक्टर) सहित दुई जना स्टाफ नर्स र एक कार्यालय सहयोगीको माग गरेका छन् । तल्लो तहका कर्मचारीका लागि दरखास्त परेको भए पनि डाक्टरको दरखास्त दिने छैनन् । छोटो समयका लागि मात्रै काम गर्न डाक्टर आउन नमानेका कारण अस्पताल बनेर पनि सेवा सुरु हुन नसकेको पालिकाहरूले जनाएका छन् ।

मोदी गाउँपालिकाकी उपाध्यक्ष सेती महतले ३ महिनाका लागि मात्रै भनेर आह्वान गरिएको सूचनाका कारण डाक्टरको निवेदन नपरेको हुन सक्ने बताइन् । ‘तीन महिना भनेर सूचना निकाल्यौं । अब सूचनाको बेहोरा नफेरेसम्म निवेदन नपर्ने देखिन्छ,’ उनले भनिन् । बिहादीका अध्यक्ष भुसालले पनि करारमा डाक्टर आउन नमाने गाउँपालिकाले व्यवस्थापन गर्ने गरी स्थायी नियुक्तिको बाटो खोजिने बताए ।

अस्पताल निर्माण भएर स्वास्थ्यकर्मी माग गरेको डेढ महिनासम्म पनि कुनै स्वास्थ्यकर्मीको आवेदन नपरेपछि सेवा सुरु गर्न नसकिएको जलजला गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : मंसिर ८, २०७७ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?