नेकपामा सैद्धान्तिक र नीतिगत मतभेद नभई कार्यशैलीका कुरा भएकाले पार्टी फुट्दैन : रावल 

काठमाडौँ — नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टीभित्र सैद्धान्तिक र नीतिगत मतभेद नभई कार्यशैलीका विषयमा बहस भइरहेको बताएका छन् । नीतिगत र सैद्धान्तिक विवाद नरहेकाले पार्टी नफुट्ने उनको भनाइ छ । 

नेकपामा सैद्धान्तिक र नीतिगत मतभेद नभई कार्यशैलीका कुरा भएकाले पार्टी फुट्दैन : रावल 

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा पत्रकारहरूसँग कुरा गर्दै नेता रावलले अध्यक्षद्वयको अन्तरविरोधका कारण पार्टी नफुट्ने बताएका हुन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल पार्टी फुटाउने योजनामा नरहेको रावलको भनाइ थियो । पार्टी कुनै माटोको हाँडी नभएकाले कुनै व्यक्तिले लट्ठीले हानेर नफुट्ने ठोकुवा उनको थियो ।

नेता रावलले अध्यक्षद्वयले आफ्ना धारणा र विचार प्रतिवेदनका रूपमा बैठकमा प्रस्तुत गरी निर्णय गर्नु राम्रो कुरा भएको बताए । कुनै सैद्धान्तिक र नीतिगत मतभेद नभइ कार्यशैली, विधि र विधानका विषयमा मात्रै बहस चलिरहेकाले त्यसले मात्रै पार्टी फुट्ने सम्भावना नरहेको रावलको भनाइ छ ।

मंसिर १३ गतेको सचिवालय बैठक, १८ गतेको स्थायी कमिटी र २५ गते बोलाइएको केन्द्रीय कमिटी बैठकले पार्टी विभाजन नगर्ने रावलले बताए ।

भदौ २६ गतेको स्थायी कमिटी बैठकले संघीय र प्रदेश सरकार हेरफेर गर्ने निर्णय भएको उल्लेख गर्दै त्यसको कार्यान्वयन हुन आवश्यक रहेको रावलको धारणा छ । पार्टी विधि, पद्धति र जनताको चाहानाअनुसार चल्न नसक्दा पार्टीभित्र अन्तरविरोध चर्किएको उनले बताए ।

पार्टी अध्यक्षहरूलाई विधि र प्रणाली अनुसार चल्न पनि रावलले आग्रह गरेका छन् ।

पछिल्लो समय नेकपाका अध्यक्षद्वयबीचको विवाद तीव्र बनेको छ । अध्यक्ष दाहालले कार्तिक २८ गतेको सचिवालय बैठकमा एकतर्फी रूपमा प्रतिवेदन प्रस्तुत गरेका छन् भने अध्यक्ष ओलीले त्यसको प्रतिवादमा आफूले प्रतिवेदन ल्याउन भनेर मंसिर ३ गतेको सचिवालय बैठकमा १० दिनको समय मागेका थिए । त्यसयता नेकपा विवाद थप जटिल बन्दै गएको छ ।

भिडियोः

प्रकाशित : मंसिर ७, २०७७ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?