नेकपा विवाद : ओली समूहका गतिविधिले दाहाल–नेपाल समूह सशंकित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा विवाद : ओली समूहका गतिविधिले दाहाल–नेपाल समूह सशंकित

नेकपा विवादका बीच कांग्रेस सभापति देउवासँगको भेटलाई लिएर आशंका
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्तावको जवाफी प्रस्ताव लेख्न दस दिनको समय मागेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला भेटघाटलाई लिएर दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह सशंकित भएको छ ।

अन्तिम समयमा मंसिर ३ को सचिवालयमा बैठकमा सहभागी भएका ओलीले कार्यकारी अध्यक्ष दाहालको प्रस्तावको जवाफी प्रस्ताव लेख्न समय मागेका थिए ।

त्यसैअनुसार नेकपाको सचिवालयको अर्को बैठक मंसिर १३ का लागि बोलाइएको छ । तर, मंसिर ३ यता प्रधानमन्त्री ओली आफैंले गरेका भेटघाट र उनको समूहले गरेका गतिविधिले दाहाल–नेपाल समूहलाई सशंकित पारेको छ । पार्टीभित्र बढ्दो विवादसँगै प्रधानमन्त्री ओलीले भेटवार्ता बढाएका छन् । ‘प्रधानमन्त्रीका भेटवार्ता पार्टी एकताका पक्षमा छैनन् र गतिविधि पनि उस्तै छन्,’ दाहाल–नेपाल समूहका एक नेताले भने ।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेको विषयलाई पनि दाहाल–नेपाल समूहले शंकाको नजरले हेरेको छ । नेकपा विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बालुवाटारमा विपक्षी दलका नेतासँग लामो भेटघाट गर्नु अर्थपूर्ण रहेको दाहाल–नेपाल समूहका नेताहरुको भनाई छ ।

करिब डेढ घन्टा लामो भेटबारे प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको सचिवालयबाट औपचारिकरुपमा केही प्रतिक्रिया आएको छैन । संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले बोलाएपछि शनिबार दिउँसो देउवा प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए ।

दाहालको राजनीतिक प्रस्तावमा देश र पार्टीका लागि प्रधानमन्त्री ओलीले त्याग गर्नुपर्ने बेला आएको भन्दै अप्रत्यक्षरुपमा राजीनामा नै मागिएको छ । पार्टीभित्र सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र बहुमत सदस्य आफ्नोविरुद्ध रहेको बेला प्रधानमन्त्री ओलीले विपक्षीसँग सहकार्यको विकल्पमा समेत संवाद गरेको कतिपयको आंशका छ ।

भेटतर्फ लक्षित गर्दै कांग्रेस प्रवक्ताले विश्वप्रकाश शर्माले लेखेका छन्, ‘पाँच वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश छ कांग्रेसलाई । अतः कुनै पनि भड्कावबाट टाढा छौँ, रहनेछौँ। नेकपाको द्वन्द्वसँग बिलकुल निरपेक्ष छौँ । अतः यता या उताको जोड–घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौँ ।’

उता यसैसन्दर्भमा वरिष्ठ नेता नेपालनिकट मानिने केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक संजालमार्फत प्रश्न उठाएका छन्,‘भयानक र विभत्स दुर्घटनाहरू फराकिला र खुला राजमार्गहरूमा भए जस्तै कतै सुविधाजनक बहुमत र सहज अवस्थामा भएको नेकपामा दुर्घटना हुने त होइन भन्ने त्रास बढेको छ । पार्टी नै फुटेछ भने पहिले कसले निहुँ खोजेको थियो भन्नुको के अर्थ रहला र ? गालामा थप्पड परेपछि दायाँ हात होस् कि बाया हात !’

आइतबारमात्रै प्रधानमन्त्री ओलीले बालुवाटारमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग सामूहिक छलफल गरेका छन् । शनिबार नै भएका अरु घटनाक्रमले पनि दाहाल–नेपाल समूहलाई सशंकित पारेको छ, जसलाई लिएर सो समूहका नेताहरुले विज्ञप्ति नै निकालेर असन्तुष्टि प्रकट गरेका छन् । शनिबार चितवनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी भएको थियो भने सुर्खेतमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले जबजका पक्षमा प्रदेशस्तरीय भेला गरेको थियो ।

चितवनको राप्ती नगर कमिटी बैठकमा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री पाण्डेले सम्बोधन गरिरहँदा ओली समूहका कार्यकर्ताले नाराबाजी गर्दै बैठक बिथोल्ने प्रयास गरेका थिए । घटनाको वरिष्ठ नेताहरु झलनाथ खनाल, नेपाल र प्रवक्ताले भत्र्सना गर्दै छानविनको माग गरेका छन् । स्थायी कमिटी सदस्य पाण्डेमाथि चितवनमा आफ्नै पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेपछि त्यसले नेकपाको केन्द्रीय राजनीति तरंगित भएको छ ।

शनिबार नै मदन भण्डारी स्पोर्टस् एकेडेमी कर्णाली प्रदेशले जनताको बहुदलीय जनवाद विषयमा खेलाडीहरू स्वागत तथा प्रदेश भेला गरेको थियो । पार्टी फुटाउने उद्देश्यले ओली समूहले भेला गरेको दाहाल–नेपाल समूहको आंशका छ ।

त्यस अगाडि मंसिर २ मा प्रधानमन्त्री ओलीले चिनियाँ राजदूत हाउ यान्छीसँग डेढ घन्टा संवाद गरेका थिए । भेटबारे प्रधानमन्त्रीको सचिवालयले औपचारिक रूपमा केही बताएको छैन । नेकपा विवाद हुँदा विगतमा पनि चिनियाँ राजदूतले प्रधानमन्त्रीसहित नेकपाका नेताहरुसँग भेट गर्ने गरेकी थिइन् ।

नेकपामा पहिलोपटक दुई अध्यक्षका फरकफरक प्रस्ताव पेश हुँदैछन् । अहिले एकीकृत प्रतिवेदन बनाउने विकल्पमा छलफल भए पनि मंसिर ३ को बैठकपछि ओली र दाहालबीच भेट भएको छैन । दुई प्रतिवेदन फिर्ता वा सहमतितिर नगए नेकपाको राजनीति बहुमत अल्पतमा जाने खतरा पनि बढेको छ । पार्टीको पछिल्लो विवाद छलफलका लागि मंसिर १३ मा सचिवालय, १८ मा स्थायी कमिटी र २५ मंसिरमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

प्रकाशित : मंसिर ७, २०७७ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्

चितवनमा बाहिर आएजस्तो ठूलो होहल्ला भएको होइन : नेकपा नेता पाण्डे

दीपक परियार

पोखरा — नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले चितवनमा बाहिर आएजस्तो ठूलो होहल्ला नभएको बताएका छन् । 

आइतबार पोखरामा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता कार्यकर्तासँगको भेटमा नेता पाण्डेले उक्त धारणा राखेका हुन् । ‘सामान्य नाराबाजी भएपछि एकछिन रोकिएर पुन: बैठक सुरु भएको रहेछ,’ पाण्डेलाई उद्धृत गर्दै ती नेताले भने, ‘त्यस विषयमा धेरै कुराकानी भएन ।’

लेकसाइडस्थित एक होटलमा बसेका पाण्डेलाई भेट्न नेकपाका केन्द्रीय सदस्य चुडामणि जंगली, श्रीनाथ बराल र स्थानीय नेता र कार्यकर्ता गएका युवा संघका एक नेताले बताए । ‘उहाँ व्यक्तिगत काममा आउनुभएको रहेछ,’ ती नेताले भने, ‘उहाँ आएको थाहा पाएर भेटघाटमा पुगेका हौं । समसामयिक विषयमा छलफल भयो ।’

कुनै औपचारिक भेला नभइ नेता कार्यकर्ताले व्यक्तिगत रुपम भेटघाट गरेको ती नेताले सुनाए । ‘पार्टी एकताबद्ध भएर जानुपर्छ । त्यसका लागि सबैले हठ त्याग्नुपर्छ भन्ने नै उहाँको भनाइ थियो,’ ती नेताले भने ।

पाण्डे पोखरामा केही व्यक्तिगत भेटघाटपछि सोमबार काठमाडौं फर्किनेछन् ।

ओली पक्षका एक विद्यार्थी नेताले भने पाण्डेले गुटको गोप्य भेला गरेको दाबी गरेका छन् । गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनको सचिवालयमा कार्यरत प्रकाश पौडेलले गुटका भेलामा सादा पोसाकका प्रहरी परिचालन भएको आरोप फेसबुकमार्फत लगाएका छन् । ‘पोखरेली कुल नै हुन्छन्, चितवनझैं नहोस्,’ उनले लेखेका छन्, ‘यो बीचमा यस्ता खालका गुटको भेला पूर्ण बन्द होउन् ।’

शनिबार बिहान चितवनको राप्ती नगरपालिकाको नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी नेता पाण्डे बोल्ने क्रममा ओली निकट युवा तथा विद्यार्थी नेताहरूले नाराबाजी गरेका थिए ।

प्रकाशित : मंसिर ७, २०७७ २०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×