२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

एक सातामा बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा ७ जनाको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक साताको अवधिमा ७ जनाको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार पछिल्लो एक सातामा मृत्यु हुनेमा ५ महिलासहित ७ जना छन् । 

एक सातामा बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा ७ जनाको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा झापा बाहुनडाँगी ४ का ४५ वर्षीय पुरुष, सप्तरीको बोडे बर्साइन ३ का एक महिला छन् । आइतबार मृत्यु भएका बाहुनडाँगीका पुरुष मंसिर १ गते कोरोना संक्रमण पुष्टि भएपछि मंसिर ३ गते भर्ना भएका थिए । मंसिर ४ गते कोरोना पुष्टि भएपछि भर्ना गरिएका सप्तरीकी महिलाको सोहीदिन मृत्यु भएको थियो । उनी निमोनियाका बिरामी थिइन् ।

धरान १९ का २९ वर्षीया महिलालाई कात्तिक २६ गते कोरोना पुष्टि पछि ३० गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दागदै मंसिर ३ गते मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यसैगरी कात्तिक २८ गते कोरोना देखिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेर उपचाररत अवस्थामा मोरङको मिक्लाजुङका ७५ वर्षीया वृद्धा महिलाको मृत्यु भएको थियो भने बराहक्षेत्र नगरपालिकाका ८ का ३८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाटै यसै साता मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मंसिर १ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको भर्ना गरिएकै दिन मृत्यु भएको थियो ।

श्वासप्रश्वास सम्बन्धी दीर्घरोगी तेह्रथुमकी २० वर्षीया महिलालाई कात्तिक ३० गते कोरोना संक्रमण भएपछि मंसिर १ गते कोभिड अस्पतालमा भर्ना भएकै दिन मृत्यु भएको थियो । झापाका ८० वर्षीय पुरुषलाई कात्तिक २८ गते कोरोना भएपछि २९ गते कोभिड अस्पतालमा भर्ना गरिएको दुई दिनपछि मृत्यु भएको थियो ।

प्रकाशित : मंसिर ७, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?