१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

हनुमन्ते खोलामा नग्‍न अवस्थामा भेटिएकी महिलालाई बलात्कार गरिएको आंशका

लिला श्रेष्ठ

काठमाडौँ — शनिबार बिहान नग्‍न अवस्थामा एक महिलालाई भक्तपुर ठिमीस्थित हनुमन्ते खोलाको डिलमा भेटियो । उनको शरीरमा घडीमात्र थियो । र, उनी बरबराउँदै बालुवा कोर्तदै थिइन् ।

हनुमन्ते खोलामा नग्‍न अवस्थामा भेटिएकी महिलालाई बलात्कार गरिएको आंशका

वरिपरि भिड जम्मा भएपछि उनी बल गरेर उठ्न खोज्थिन्, तर फेरि थुचुक्कै हुन्थिन् । उनको ओठ मात्र चलेको देखिन्थ्यो ।

खुट्टा दरखरिएर अलिअलि रगत पनि बगेको थियो । अर्धचेत अवस्थामै स्थानीयले उनलाई सुरुवाल र ज्याकेट लगाइदिए । एकैछिनपछि महानगरिय प्रहरी वृत्त ठिमीबाट प्रहरी निरीक्षकको टोली आइपुग्यो । महिला प्रहरीहरुले उनलाई टेको दिएर गाडिसम्म पुर्‍याए । र, सोझै भक्तपुर अस्पताल लगियो ।

शनिबार साँझ कान्तिपुर भक्तपुर अस्पताल पुग्दा ती महिला अर्धचेत अवस्थामै बेडमा पल्टिरहेकि थिइन् । दिनभरि उनको मुखमा पानी समेत परेको रहेनछ । भक्तपुर अस्पतालमा कार्यरत नर्स सुजिता वाटीका अनुसार उनलाई सलाइन पानी दिएर शरीरको समान्य चेकजाँच गरिएको थियो । केटा मानिस देख्‍ने बित्तिकै झस्कने हुनाले ती महिलामाथि बलात्कार भएको आशंका नर्स वाटीको छ । साथै उनले थपिन् वेडमा ढल्कँदा पनि ती महिलाको हात कम्मरमै हुन्थ्यो ।

सामूहिक बलात्कारको आशंका गरिए पनि प्रहरीले मुचुल्का नउठाएको, ती महिलाको आफन्त उपस्थित भएर चेकजाँचका लागि मन्जुरी नदिएको लगायतका कानुनी अल्झनका कारण उनको शरीरको भित्री पाटोको जाँच हुन नसकेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटे‌न्डेन्ड डा. सुमित्रा गौतमले जानकारी दिइन् । डा. गौतमका अनुसार ७२ घण्टाभित्र पाठेघरको चेकजाँच नगर्दा बलात्कारै हो वा होइन भन्ने इकिन हुँदैन ।

आइतबार बिहान भक्तपुर अस्पताल पुग्दा ती महिला बेडमा सुतिरहेकी थिइन् । उनको अनुहार हेर्दा अलि तंग्रिएको देखिन्थ्यो । ति महिलाले आफ्नो नाम र ठेगानी नर्स वाटीलाई बताएकी रहिछिन् । कुराकानी क्रममा उनले आफ्नो ५ वर्षीया छोरी रहेको बताएकी थिइन् । श्रीमान् पनि साथैमै थिए रे, अहिले कता छन् पत्तो छैन । उनी कसरी नग्‍न अवस्थामा हनुमन्ते खोला पुगिन् भन्ने विषय खुल्न सकेको छैन । उनीसँगै श्रीमान् थिए भनिएपछि हालसम्म उनको अवस्थाबारे बुझ्न आएका छैनन् ।

उनी तंग्रिन थालेपछि आइतबार दिउँसो भक्तपुर अस्पतालले उनलाई डिस्चार्ज गर्यो । उनलाई भेटिएको ठाउँलाई पनि सिल गरिएको छैन, त्यहाँ वरिपरि भेटिएका लुगा अझै त्यसै छन् । घटनाको थप अनुसन्धान प्रहरीले गर्न सकेको छैन ।

प्रकाशित : मंसिर ७, २०७७ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?