हतियारसहित चन्द समूहका सेक्सन कमाण्डर पक्राउ
विराटनगर — प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका सेक्सन कमाण्डर ३२ वर्षीय पेम्बा सांगे शेर्पालाई शनिबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ रमाइलो टोलस्थित एक घरबाट प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीका अनुसार शेर्पाले बोकेको कालो झोलाभित्र एक थान पेस्तोल, ७.६५ लेखिएको तीन गोली लोड भएको सोहि पेस्तोलमा लाग्ने १ म्यागजिन बरामद भएको छ । उक्त हतियारमा ‘अटो पिस्टल यूएसए’ लेखिएको प्रहरीले जनाएको छ । उनी ताप्लेजुङ फाक्ताङलुङ गाउँपालिका–२ का बासिन्दा हुन् ।
हतियार बाहेक शेर्पाबाट उनकै सक्कल नागरिकताको प्रमाण पत्र, मतदाता परिचय पत्र, पावर बैंक, नोटबुक, आएइ गरेको रसिद, ३ मोबाइल, पाटीको सहयोग रसिद प्याड, जनमुमुक्ति सेना सम्बन्धि एक र रातो सुखानी लेखिएको एक पुस्तक, कालो डायरी, ८ झोला तथा १८ थान ज्याकेट बरामद भएको प्रहरीले भनेको छ ।
शेर्पाले प्रयोग गरिरहेको विभिन्न कम्पनीका पाँच सिमकार्ड समेत बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताएका छन् । उनका अनुसार गोप्य सूचनाको आधारमा शनिबार दिउँसो १ बजे खान तलासी गर्दा एक स्थानीयको एक तल्ले पक्की घरको कोठाभित्र बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
यसअघि चन्दा असुलीमा संलग्न चन्द समूहका पूर्वी कमान्ड अन्तर्गतका कम्पनी कमिस्नरसहित दुई जनालाई १२ कात्तिकमा मोरङको मिक्लाजुङ गाउँपालिका–१ घुर्मिसेबाट हतियार, ठूलो परिमाणमा बिस्फोटक पदार्थ एवं थरिथरिका दस्ताबेजसहित प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुबाट पनि दस्ताबेज बाहेक भरुवा बन्दुक र यसमा प्रयोग हुने फलामको टुक्रा १ बट्टा, दुई प्याकेटमा रहेको ३ किलो जिलेटिन, २ सुतली बम, १ सकेट बम, १ टुकी बम, ३५ वटा इलेक्ट्रिक डेटोनेटर, १८ थान नन इलेक्ट्रिक डेटोनेटर, ६ थान लाइटर, १२ भोल्टको ब्याट्री, ४ बट्टा गन पाउडर र बारुद, पिलास, पेचकस, स्वीच, ३८.१० मिटर सेफ्टी फ्यूजको तार र ९० मिटर बिजुलीको डब्बल तार बरामद भएको थियो ।
प्रकाशित : मंसिर ७, २०७७ १५:४१