सडकसँग जोडियो खुम्बु

ओखलढुंगा — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका सडकमार्गसँग जोडिएको छ । माप्य दूधकोसी गाउँपालिकामा पर्ने ओर्लाङघाटमा दूधकोसी नदीमाथि पक्की पुल बनेपछि विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको गाउँपालिका सडकमार्गसँग जोडिएको हो ।पक्की पुलको शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । पुल निर्माणको काम ६ महिनाअघि सम्पन्न भए पनि कोरोना महामारीका कारण उद्घाटन हुन सकेको थिएन ।

सडकसँग जोडियो खुम्बु

सगरमाथा क्षेत्रको पर्यटन विकासमा ओर्लाङघाटको पुल महत्त्वपूर्ण सावित हुने स्थानीय गोम्बु शेर्पाको ठम्याइ छ । ‘सगरमाथा जोड्ने यो पुलले खुम्बुको मात्र होइन, नेपालकै पर्यटन विकासमा अर्थ राख्छ,’ उनले भने ।

खुम्बु पासाङल्हामु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष टसील्हामु शेर्पाले खुम्बुलाई सडकसँग जोड्ने नै आफ्नो कार्यकालको मुख्य उद्देश्य रहेको बताइन् । ‘पुल निर्माणसँगै यस सडकलाई स्थायित्व दिने काम महत्त्वपूर्ण हुनेछ,’ उनले भनिन्, ‘अबको चुनौती चौंरीखर्कसम्म सडक पुर्‍याउनु र त्यसलाई स्थायी बनाउनु हो । त्यसका लागि तीनै तहको सरकारले सहयोग गर्न जरुरी छ ।’

हाल गाउँपालिकाको केन्द्र रहेको चौंरीखर्कसम्म सडक पुर्‍याउनका लागि खन्ने काम भइरहेको छ । सडक निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटक यही पुल हुँदै राजधानीबाट सिधै लुक्ला, नाचिपाङ पुग्न सक्नेछन् । सडक स्थायी रूपमा सञ्चालन हुन सके लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हुने मौसम प्रतिकूलताको विकल्प सडकमार्ग बन्नेछ । पुल बनेसँगै खुम्बु क्षेत्रको दैनिक उपभोग्य सामग्री ढुवानीसमेत सहज हुने र महँगी घट्ने स्थानीयको विश्वास छ । कुल ७ करोड २९ लाख ९७ हजार २ सय रुपैयाँ लागतमा पुल बनेको हो । जसका लागि निर्वाचन क्षेत्र विकास कोषबाट १ करोड, प्रदेश सरकारबाट २ करोड र बाँकी बजेट माप्य दूधकोसी र खुम्बु पासाङल्हामु गाउँपालिकाले संयुक्त रूपमा विनियोजन गरेका थिए ।

प्रकाशित : मंसिर ७, २०७७ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?