अनुसन्धानका नाममा ‘प्रहरी आतंक’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुसन्धानका नाममा ‘प्रहरी आतंक’

हिरासतमै एकको मृत्यु
नाबालकलाई पनि पक्राउ गर्दै तारिखमा छाड्दै
ठाकुरसिंह थारू

वनकट्वा, बाँके — प्रहरीले बालक हत्याको अनुसन्धानका नाममा स्थानीयलाई जथाभाबी पक्राउ गर्न थालेपछि डुडवा गाउँपालिका–३, वनकट्वामा अहिले त्रास बढेको छ ।

‘प्रहरी रोज गाउँ आउँछ अनि जसलाई भेट्यो, उसैलाई पक्राउ गरेर लैजान्छ,’ प्रहरी हिरासतमा रहेका २१ वर्षीय अजय सोनीकी आमा ललिताले रुँदै भनिन्, ‘मेरो छोरालाई पनि बिनाकारण पक्राउ गरेर हिरासतभित्रै राखेको छ । प्रहरीले गाउँमा असाध्यै ज्यादती गरिरहेको छ ।’

अधिकारवादी र पत्रकारहरूको टोली शनिबार गाउँ पुग्दा स्थानीय आफ्ना गुनासा सुनाउन तँछाडमछाड गरिरहेका थिए । उनीहरूले प्रहरीले ज्यादती गरेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । ‘गाउँमा दुई जनालाई गुमाएका छौं, उल्टो प्रहरीले पक्राउ गरेर दुःख दिइरहेको छ,’ ललिताले भनिन् । वनकट्वाका १० वर्षीय सुनील हरिजन रैदासको कात्तिक १० गते बीभत्स हत्या भएपछि वनकट्वा गाउँ शोकमग्न थियो । छिमेकमा रुवाबासी चल्यो ।

हत्या गरिएका बालकका काका रामकुमार हरिजनले आफूहरूले न्याय खोजेको तर कसैलाई फसाउन नखोजेको बताए । हरिजन सरकारी इन्जिनियर हुन् । उनले बालक हत्याको किटानी जाहेरी नदिएको तर न्याय पाउनुपर्ने जनाए । ‘हामीले न्याय पाउनुपर्छ । यति हो,’ उनले भने ।

बालक हत्यापछि उजुरी नपरे पनि प्रहरीले भोलिपल्टै छानबिन सुरु गर्‍यो । त्यही क्रममा सुनीलको घरदेखि १० मिटर दूरीमा रहेका अन्दाजी ३६ वर्षीय बाबुलाल रैदाससहित १८ जना स्थानीयलाई प्रहरीले हिरासतमा लियो । एक सातापछि १५ जनालाई दैनिक प्रहरी कार्यालयमा हाजिर हुने गरी छाडियो । बाबुलाल, १३ वर्षीय विजय खटिक र २१ वर्षीय अजय सोनीलाई भने हिरासतमै राखियो । उनीहरूविरुद्ध प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा मुद्दा लगायो । हत्या आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरी अदालतमा मुद्दा दर्ता गर्नुपर्नेमा उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाटै अभद्र व्यवहारको मुद्दामा अल्झाइयो । अभद्र व्यवहारको मुद्दा चलाइएका व्यक्तिलाई २४ दिनभन्दा बढी हिरासतमा राख्न नपाइने भए पनि प्रहरीले त्योभन्दा बढी समय थुनामा राखेको छ ।

हिरासतमा रहेको २५ औं दिनमा बाबुलाल मृत अवस्थामा भेटिएपछि आफन्तको घरमा अहिले रुवाबासी छ । दुई जना छिमेकी गुमाएको पीडा स्थानीयलाई छँदै थियो, त्यसभन्दा बढी पीडा प्रहरीबाट पाइरहेको उनीहरूको गुनासो छ । ‘बालकको हत्या हुनु निकै दुःखको कुरा हो तर प्रहरीले जसलाई पायो, त्यसैलाई पक्राउ गरेर चौकी लगी मानसिक यातना दिइरहेको छ, दैनिक तारिखमा राखेर निकै सताएको छ,’ शनिबार बिदाका दिन साँझ ५ बजे जिल्ला प्रहरी कार्यालयको तारिखमा बोलाइएका ५५ वर्षीय मंगता चमारले भने, ‘शुक्रबार तारिख लिन बोलाएका थिए । त्यहाँ पुगेपछि शनिबार आउनू भनेर पठाइदिए ।’ उनका छोरा फूलचन्द चमारलाई पनि त्यसै घटनाको अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको छ ।

‘चौकी बोलाएर हैरान पारेका छन् । जसलाई पायो, त्यसैलाई प्रहरीले पक्राउ गरिरहेको छ,’ उनले भने । राष्ट्रिय मानवअधिकार आयोगको लुम्बिनी प्रदेश प्रमुख सम्झना शर्माले प्रहरीले घटनाको अनुसन्धान गर्दा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने बताइन् । पक्राउ गर्नुअघि पक्राउ पुर्जी दिनुपर्ने र स्वास्थ्य परीक्षण गरी न्यायिक हिरासतमा राख्नुपर्ने उनको भनाइ छ । ‘यी सबै प्रक्रिया पूरा नगरे मानवअधिकारको ध्यानाकर्षण हुन्छ,’ उनले भनिन् ।

मानवअधिकारका क्षेत्रमा कार्यरत संस्था इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले प्रहरीले हत्या घटनाको छानबिन कानुनबमोजिम गर्न पाउने तर अनावश्यक धरपकड गर्न नमिल्ने बताए । पक्राउ गरिएका व्यक्तिलाई न्यायिक हिरासतमा मात्रै राख्न सक्ने उनले जनाए । ‘पक्राउ पुर्जी नदिएर ६ दिनसम्म थुनामा राख्नु मानवअधिकारविपरीत कार्य हो,’ उनले भने, ‘शंका लागेको छ भने रीतपूर्वक अनुसन्धान गर्नुपर्‍यो ।’

बालक सुनीलको हत्या घटनाको अनुसन्धानमा स्थानीयहरू प्रहरीलाई सहयोग गर्न तयार छन् तर हत्याको अनुसन्धानका नाममा प्रहरीले जथाभाबी पक्राउ गरी गाउँमा आतंक मच्चाएको स्थानीयको आरोप छ । हिरासतमै रहेका १३ वर्षीय विजयलाई पनि राति जंगलमा पुर्‍याएर हत्या स्वीकार गर्न दबाब दिने गरेको छ । ‘छोरा घरमै थियो, प्रहरी आएर समाएर लग्यो,’ हिरासतमा रहेका छोरालाई प्रहरी हिरासतमै भेटेर फर्केका बुबा जिलेदार खटिकले भने, ‘हिरासतमा रहेका छोरासँग सोधपुछ गर्दा १२ बजे राति प्रहरीले जंगलमा लगेको सुनायो । हत्या आरोप स्वीकार गर्न प्रहरीले छोरालाई दबाब दिइरहेको छ ।’

प्रहरीले बालक हत्याको आरोपमा पक्राउ गरेका व्यक्तिहरूविरुद्ध किटानी जाहेरी गर्न सकेको छैन । उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरी कर्तव्य ज्यानमा अनुसन्धान गरिरहेको छ ।

‘आत्महत्या हो’

बाबुलाल रैदासले आत्महत्या गरेको दाबी प्रहरीको छ । ‘हिरासतमा रहेका उनले शौचालयमा आत्महत्या गरेका हुन् । हामीले कसैलाई मार्ने कुरै भएन । टाउकोमा बेरिएको कपडाले शौचालयको भेन्टिलेसनमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनी भेटिएका थिए,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले भने । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका बाबुलालले घटनाको सोधपुछका क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेकाले अभद्र व्यवहार मुद्दा दर्ता गरिएको उनले बताए । ‘टाउकोमा बाँधेको कपडा (घुम्टो) को पासो लगाएर रैदासले शुक्रबार बिहान साढे ५ बजे हिरासतको शौचालयमा आत्महत्या गरेका हुन्,’ प्रवक्ता खड्काले भने, ‘घटनाको छानबिनका लागि स्थानीयलाई सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाइरहेका छौं । अनावश्यक कसैलाई दुःख दिने नियत हाम्रो होइन । प्रहरीले सर्वसाधारणलाई किन दुःख दिनु र ?’

छोराको हिरासतमै हत्या भयो’

हिरासतमा शुक्रबार मृत भेटिएका बाबुलाल रैदासको घर पुग्दा उनका आफन्त छाती पिटेर रोइरहेका थिए । मोटरसाइकल पनि बल्लबल्ल छिर्ने कोलियाको पूर्वछेउमा फुसको घर छ । बाबुलालका बुबा ८५ वर्षीय पल्टु र आमा ७५ वर्षीया चन्द्रा रैदास कोलियाको सडकमा ओछ्याएको खटियामा बसेर रोइरहेका थिए । मृतकका चार दिदीबहिनी रोइकराइ गरिरहेका थिए । पत्रकारसहितको टोली त्यहाँ पुग्दा उनीहरू झन् भक्कानिए । बाबुको आँसु देखेर जोकोही स्तब्ध थिए ।

‘हमार लौंडाका मारिन है, ऊ कसै मरी (मेरो छोरालाई मारेको हो, आफैं कसरी मर्छ ?)’ भक्कानिँदै उनले भने, ‘मेरो छोरालाई मारेर मलाई झुक्याएर लास बुझाए ।’ छोराको मृत्युबारे उनलाई जानकारी थिएन । बिहानै प्रहरी घर पुगेर छोरा लिन हिँड् भनेपछि उनी निकै खुसी थिए । प्रहरीले मोटरसाइकलमा राखेर जिल्ला प्रहरी कार्यालय पुर्‍यायो । ‘तिम्रो छोरा छुट्दै छ भनेर छाप लगाउन लगाए तर त्यो कागज लास बुझ्नका लागि गराएका रहेछन्,’ उनको आरोप छ, ‘यो उमेरको बूढोलाई कागजमा के लेखेको छ भनेर सुनाइएन । जालसाजी गरेर शव बुझाए । मलाई झुक्काइयो ।’

मृतककी बहिनी वाग्मतीले दाइलाई करेन्ट लगाएर मारेको आरोप लगाइन् । ‘हामीलाई बुझाइएको दाइको शवको खुट्टामा करेन्ट लगाइएको नीलडाम थियो,’ उनले भनिन् ।

प्रकाशित : मंसिर ७, २०७७ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्

इसिमोड महानिर्देशकमा भुटानी नेता

कान्तिपुर संवाददाता

काठमाडौँ — हिमालय क्षेत्रका लागि काम गरिरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को महानिर्देशकमा चयन भएका ५८ वर्षीय पेमा ग्याम्त्सोले पदभार ग्रहण गरेका छन् ।

भुटानको राष्ट्रिय सभामा दोस्रो पटक विपक्षी दलका नेता रहेका पेमालाई इसिमोडको बोर्ड अफ गभर्नरले गत साउनमा महानिर्देशकका रूपमा चयन गरेको थियो । पेमाले यसै सातादेखि महानिर्देशकको नेतृत्व सम्हालेको इसिमोडले जनाएको छ ।

प्रकृति विज्ञानमा स्विट्जरल्यान्डबाट विद्यावारिधि गरेर भुटानमा कृषि र वनमन्त्रीसमेत भइसकेका पेमा दक्षिण एसियाली मुलुकमध्येबाट पहिलो पटक इसिमोडमा महानिर्देशक चयन भएका हुन् । तीन पटक सांसद भएर भुटानमा सम्मानित नेताको पहिचान बनाएका उनलाई केही वर्षअघि उनको पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा समेत अघि सारेको थियो । महानिर्देशक चयन भएलगत्तै उनले विपक्षी दलको नेताबाट राजीनामा दिएका थिए ।

ड्याभिड मोल्डनको कार्यकाल पूरा भएपछि नयाँ महानिर्देशकका लागि पेमाले प्रस्ताव पेस गरेका थिए । इसिमोडले नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार र पाकिस्तानको हिमालय क्षेत्रको जनजीवन, त्यस क्षेत्रका बासिन्दाको जीविकोपार्जन, कृषि, वातावरण र जलवायु परिवर्तनका साथै हिमालय क्षेत्रको संरक्षणमा काम गर्छ ।

पेमाले हिमालय क्षेत्रका बासिन्दाको जीविकोपार्जन र विकासबारे पुस्तकसमेत लेखेका छन् ।


प्रकाशित : मंसिर ६, २०७७ २२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×