१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इसिमोड महानिर्देशकमा भुटानी नेता

काठमाडौँ — हिमालय क्षेत्रका लागि काम गरिरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को महानिर्देशकमा चयन भएका ५८ वर्षीय पेमा ग्याम्त्सोले पदभार ग्रहण गरेका छन् ।

इसिमोड महानिर्देशकमा भुटानी नेता

भुटानको राष्ट्रिय सभामा दोस्रो पटक विपक्षी दलका नेता रहेका पेमालाई इसिमोडको बोर्ड अफ गभर्नरले गत साउनमा महानिर्देशकका रूपमा चयन गरेको थियो । पेमाले यसै सातादेखि महानिर्देशकको नेतृत्व सम्हालेको इसिमोडले जनाएको छ ।

प्रकृति विज्ञानमा स्विट्जरल्यान्डबाट विद्यावारिधि गरेर भुटानमा कृषि र वनमन्त्रीसमेत भइसकेका पेमा दक्षिण एसियाली मुलुकमध्येबाट पहिलो पटक इसिमोडमा महानिर्देशक चयन भएका हुन् । तीन पटक सांसद भएर भुटानमा सम्मानित नेताको पहिचान बनाएका उनलाई केही वर्षअघि उनको पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा समेत अघि सारेको थियो । महानिर्देशक चयन भएलगत्तै उनले विपक्षी दलको नेताबाट राजीनामा दिएका थिए ।

ड्याभिड मोल्डनको कार्यकाल पूरा भएपछि नयाँ महानिर्देशकका लागि पेमाले प्रस्ताव पेस गरेका थिए । इसिमोडले नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार र पाकिस्तानको हिमालय क्षेत्रको जनजीवन, त्यस क्षेत्रका बासिन्दाको जीविकोपार्जन, कृषि, वातावरण र जलवायु परिवर्तनका साथै हिमालय क्षेत्रको संरक्षणमा काम गर्छ ।

पेमाले हिमालय क्षेत्रका बासिन्दाको जीविकोपार्जन र विकासबारे पुस्तकसमेत लेखेका छन् ।


प्रकाशित : मंसिर ६, २०७७ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?