कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चितवन घटनाले नेकपामा नयाँ विवाद

काठमाडौँ — स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा आफ्नै पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेपछि त्यसले नेकपाको केन्द्रीय राजनीति तरंगित भएको छ । घटनाको भर्त्सना गर्दै पार्टीका वरिष्ठ नेताहरुले छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् । 

चितवन घटनाले नेकपामा नयाँ विवाद

पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला शनिबार चितवनमा भएको घटनाले नेकपाभित्र थप चर्को ध्रुविकरणको खतरा बढाएको छ । मंसिर १३ मा सचिवालय बैठक बस्ने र त्यहाँ दुवै अध्यक्षका एक अर्कामाथि आरोपपूर्ण प्रस्तावमाथि छलफल हुने तयारी भइरहेका बेला चितवनमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने नेतामाथि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षका कार्यकर्ताले दुर्व्यवहार गरेपछि विवाद र ध्रुविकरणको खतरा बढाएको हो । नेकपाको पछिल्लो विवादमा ओली र दाहाल-नेपाल समूह विभाजित छ ।

ओलीपक्षका कार्यकर्ताले पाण्डे सहभागी कार्यक्रममा हुलदंगा र नाराबाजी गरेपछि शनिबार साँझ भिन्दाभिन्दै विज्ञप्ति प्रकाशित गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले घटनाको निन्दा गरेका छन् ।

वरिष्ठ नेता खनालले चितवनमा नेता पाण्डेमाथि सुनियोजित रुपमा दुर्व्यवहार गरिएको भन्दै सम्लग्न व्यक्तिलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । नेता खनालले पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको समधानका लागि उपाय खोजी भइरहेका बेला यस्ता घटनाले स्थितिलाई झनै उत्तेजक बनाउने भन्दै सचेत रहन नेता-कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

‘कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ। यस्तो गैरजिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु’, खनालको विज्ञप्तिमा छ, ‘कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण समेत गराउँछु।’

खनालले भन्दा अगाडि वरिष्ठ नेता नेपालले भर्त्सना गरेका थिए । नेता नेपालले विज्ञप्तिमा भनेका छन्, ‘सुरेन्द्र पाण्डे राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु । सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जोसुकै भए पनि छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउँछु ।’

पार्टी प्रवक्ता श्रेष्ठको भनाइ छ, ‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्ब्यबहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ । यसप्रकारको ब्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन । चेत होस् ।’

त्यसैबीच पर्यटनमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले भनेका छन्, ‘हुलहुज्जत बहुदलीय जनबादको कोर्श होइन । बिमर्श, छलफल र फरकमतको सम्मान जबजको विशेषता हो ।’

स्थायी कमिटीका अर्का सदस्य मात्रिका यादवको भनाइ छ, ‘सहयोद्धा कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना र सस्ता सुनियोजित ग़ैर राजनीतिक क्रियाकलापविरुद्ध एकजुट हुन सबैमा अनुरोध गर्दछु ।’

केन्द्रीय सदस्य ठाकुर गैरेको प्रतिक्रिया छ, ‘नेकपा नेता माननीय सुरेन्द्र पाण्डेप्रति चितवनमा दुर्ब्यवहार भएको छ । यस्तो कार्यलाई प्रोत्साहन नगरौं। कतै दोहोरिन नदिउँ । पार्टी एकता कायम राख्न आ-आफ्नो ठाउँबाट सक्दो योगदान गरौ‌ । बहसलाई मर्यादित बनाउँ ।’

केन्द्रीय सदस्य रामकुमारी झाँक्री लेख्छिन्, ‘चितवनमा सांसद कमरेड सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा जे भयो यो धेरै दुखद् घटना हो । केही दिन पहिले पर्सामा भएको घटना फौज्दारी केसमात्र थिएन पार्टी अनुशासनको गम्भीर उल्लंघन थियो, वैचारिक विचलन थियो। त्यसलाई पार्टीभित्र एजेन्डा बनाउन नसक्नु नेतृत्वको गम्भीर भूल थियो । अब हामी कुन बाटो जाँदैछौं ? यो बास्तवमै गम्भीर संकट हो । अब यस्तो निन्दनीय कार्यको श्रृंखला यही अन्तिम हुनुपर्छ। पार्टी नेतृत्वले तुरून्त रोकोस् । नेतृत्व सचेत होस् ।’

शनिबार बिहान चितवनको राप्ती नगरपालिकाको नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी नेता पाण्डे बोल्ने क्रममा ओली निकट युवा तथा विद्यार्थी नेताहरुले नाराबाजी गरेका थिए । घटनालाई लिएर ओलीपक्षका नेताहरुको भने प्रतिक्रिया आएको छैन ।

प्रकाशित : मंसिर ६, २०७७ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?